समग्र नेप्से परिसूचक ८ दशमलब ८२ प्रतिशतले बढ्दा बैकिङ समूह भने १७ दशमलब १३ प्रतिशतले बढेको हो । आधारभुत रुपमा अन्य समूह भन्दा बलियो रहे पनि अत्यधिक चुक्ता पुँजीका कारण केही प्रतिशतले मूल्य बढ्दा पनि शेयर आपूर्ति धेरै बढ्ने हुँदा लगानीकर्ताको आकर्षण बैकिङ समूहमा थिएन । नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत बैंकहरुले आफूसँग भएको १ वर्ष भन्दा बढी समय व्यतित गरिसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न दिने नीतिगत परिवर्तनपछि शेयर बजारले उँभो गति समाएको शेयर बजार विश्लेषकहरु बताउँछन ।
शेयर विश्लेषक सुबासचन्द्र ढुंगाना बैकिङ सेक्टर एकदमै घटेकाले पनि लगानीकर्ताको छनोटमा बैकिङ क्षेत्र पर्न गएको बताउँछन। बैकले प्राथमिक पुँजीको २० प्रतिशतसम्म शेयर बेच्न पाउने राष्ट्र बैंकको नीतिपछि बैंकको केही रकम शेयर बजारमा आउने आँकलनका साथ अन्य लगानीकर्ताहरुले ऋण नै लिएर शेयर बजारमा लगानी बढाउन खोजेको उनले बताए । ‘जसले शेयर धितोमा राखेर ऋण लिन खोजेका थिए, तिनीहरुले धितोमा राख्नको लागि बैंकको शेयर नै उपयुक्त ठाने । अन्य आधारभूत रुपमा कमजोर कम्पनीको शेयरको धितोमा बैंकले ऋण दिँदैन । यही कारणले बैंकमा चार्म देखिएको हो।’–उनले भने । बैंकको असल कर्जामा १ दशमलब २५ प्रतिशत प्रोभिजन राख्नुपर्ने व्यवस्था परिमार्जन गर्दै राष्ट्र बैंकले १ दशमलब २० प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको छ। तेस्रो त्रैमासम्म बैंकहरुको खराब कर्जा खासै नघटेपनि चौथो त्रैमासमा अझै घट्छ भन्ने अनुमानमा पनि बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेको उनको विश्लेषण छ । बैंकको शेयरलाई धितोमा राखेर पैसा रिलिज भए पछि फेरि एकपटक अन्य सेक्टर चलायमान हुने उनले अनुमान गरे ।
अर्का लगानीकर्ता एसपी चौलागाईले पनि बैंकलाई प्राथमिक पुँजीको २० प्रतिशतसम्म एक वर्ष व्यतित भइसकेको शेयर बेच्न दिने नीतिपछि बैंकले शेयर बजारबाट पनि केही कमाउन सक्ने र वित्तीय अवस्था सुदृढ हुने आशामा बैकिङ क्षेत्रमा आकर्षण बढेको बताए । ‘बैंक बाहेकका अन्य क्षेत्रका कम्पनीबाट पनि अलि अलि कमाइसकेका लगानीकर्ताले पनि बैंकिङ समूह एकदमै न्यून विन्दुमा र जोखिम पनि कम रहेको आँकलन गरेर यो सेक्टरमा इन्ट्रि गरेको मेरो अनुमान छ ।’–उनले भने । यसअघि राष्ट्र बैंकको सर्कुलरका कारण २०७९ असार मसान्तसम्म बैंकहरुले आफूसँग भएको सबै शेयरहरु बेचेर निस्केको अवस्था र ठूला लगानीकर्ताले पनि १२ करोडको सीमाको कारण अधिकांश शेयर बेचेर निस्केको अवस्था थियो । अहिले बैंकहरुसँग प्रशस्त तरलता रहेको बेला केन्द्रीय बैंकमा साढे २ देखि ३ प्रतिशतमा सो तरलता पार्क गरिरहेको थियो । यही बेला केन्द्रीय बैंकले आफ्नो र बजारको पनि हितलाई ध्यानमा राखेर तरलता परिचालन गर्ने उद्देश्यले लगानीको ढोका खोलिदिएको हुनाले बैकको शेयरमा केही आकर्षण देखिन थालेको उनले बताए । बैंकले किन्ने शेयर कम्तिमा पनि एक वर्ष होल्ड गर्ने हुँदा तत्कालको लागि आपूर्ति कमजोर भएको विश्लेषणमा पनि लगानीकर्ताले खरिद बढाएको उनले अनुमान गरे ।
त्यस्तै अर्का लगानीकर्ता राजन लम्सालले असल कर्जाको शुन्य दशमलब शुन्य ५ प्रतिशतले प्रोभिजन गर्नुपर्ने रकम घट्दा पनि ठूलो ऋण पोर्टफोलियो भएका बैंकहरुको नाफामा धेरै असर पर्ने देखिएको हुँदा बैकिङ क्षेत्रको शेयरमा आकर्षण देखिएको बताए । ‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेको छ । किस्ता किस्तामा शेयर बजारको नीतिलाई खुकुलो बनाउँदै गएको राष्ट्र बैंकका गभर्नर अधिकारीले अन्तिम मौद्रिक नीतिमार्फत झनै खुकुलो नीति ल्याउने आँकलनमा पनि बजार बढेको हो । बजार घट्छ भन्ने मनौवैज्ञानिक असर हराएर बढ्नेतिरै सबै लगानीकर्ताको सोचाई देखिएको मैले पाएको छु ।’–उनले भने ।