अब काठमाडौंभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोग गर्न नपाइने मेयर बालेनकाे घाेषणा

Jun 14, 2024 06:17 PM Merolagani

अब काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोग गर्न नपाइने भएकाे छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने बताएका हुन् ।

मेयर बालेनले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार यस्तो घोषणा गरेका हुन् । यसका साथै, बालेनले जंक फुडकाे प्रयोगलाई पनि निरुत्साहित गरिने बताए ।

यसैगरी, शहरी अति गरिबहरूका लागि एक घर एक राेजगारी वा उद्ममशीलताकाे सुनिश्चितता गर्न निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराइने पनि बालेनले घाेषणा गरे ।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निवासमै आधारभूत औषधि उपचार तथा फलाेअपकाे व्यवस्था मिलाइने पनि उनले बताए । यस्तै, "काठमाडाैंकाे सभ्यता र इतिहाससँग जाेडिएकाे टुकुचा खाेला खुला गरी प्राकृतिक रूपमा बग्न दिन र संरक्षण गर्न विशेष परियाेजना संचालन गरिनेछ," उनले भने ।

मेयर बालेनले काठमाडाैं महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि घाेषणा गरे । उनले महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने पनि बताए ।

comments powered by Disqus