राजनीतिक विवादसँगै भारत र बंगलादेशबीच ‘माछा युद्ध’ शुरु, नेपालमा पनि असर पर्न सक्ने

Sep 13, 2024 11:07 AM mero lagani



राजनीतिक आन्दोलनपछि भारतमा शरण लिइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदलाई भारतले सुपुर्दगी नगरेपछि आक्रोशित रहेको बंगलादेशले भारत विरुद्ध माछा युद्धको घोषणा गरेको छ । 

भारतमा माछा खपत हुने सबैभन्दा महत्वपूर्ण पर्व दुर्गा पूजाको पूर्व सन्ध्यामा भएको यो घटनाले भारतभर हिल्सा (टेन्युअलोसा इलिशा) हरुको मूल्य आकासिएको छ भने आउँदा दिनमा अझ बढ्ने  भारतीय संचारमाध्यम द हिन्दूस्तान टाइम्सले दावी गरेको छ ।

स्मरणरहोस, हिल्सा बंगलादेशको राष्ट्रिय माछा हो । र विश्वको सबैभन्दा ठूलो उत्पादक पनि बंगलादेश नै हो । बङ्गालको खाडी र त्यस क्षेत्रका नदीमा प्रशस्त मात्रामा पाइने यो माछा मछुवारहरुले वार्षिक छ लाख टन समात्छन् । यो माछाले बंगलादेशको कुल गार्हस्थ्य उत्पादनमा करिब एक प्रतिशत योगदान दिन्छ ।

अन्य माछाको तुलनामा निकै महंगो भएकोले धनी र उच्च मध्यम वर्गले मात्र किन्न सक्ने विश्व बजारमै हिल्सा माछा यो निकै विलासी मानिन्छ, समाजमा प्रतिष्ठा देखाउनको लागि हिल्सा माछा खाने गरिन्छ । त्यहीकारण हिल्सा माछा भारतका धनाढ्य र नव धनाढ्यहरुको बीचमा विशेष लोकप्रिय माछा हो ।

उक्त अखबारका अनुसार केही दिन अघिसम्म प्रतिकिलो १८ सय रुपैँया भारु रहेको हिल्सा माछाको मूल्य २-३ दिन भित्रमै बढेर २४ सयसम्म पुगिसकेको छ । दुर्गा पूजा नजिकिएसँगै मूल्य अझै बढ्ने निश्चित देखिएको भारतीय संचारमाध्यहरुले उल्लेख गरेका छन् ।

नेपाली हिन्दूहरुले दशैं मनाए जस्तै भारतीय हिन्दूहरुले १० दिनसम्म दुर्गा पूजा मनाउँछन् । भारतका हिन्दूहरुले अक्टोबर महिनामा मनाउने दुर्गा पूजाको एउटा सबैभन्दा महत्वपूर्ण परिकार हिल्सा माछाबाट बनाइएका परिकारहरु हुने गरेका छन् ।

भारतमा वर्षभरि खपत हुने हिल्सा माछाको झण्डै आधा हिस्सा दुर्गा पूजाको समयमै खपत हुने गरेको छ । र, त्यसमा लगभग शतप्रतिशत नै बंगलादेशबाट आयात हुने गरेको छ । गत वर्ष सन् २०२३ को दुर्गा पूजाको बेलामा मात्रै बंगलादेशबाट भारतमा ३,९५० मेट्रिक टन हिल्सा माछा आयात भएको थियो । यो वर्ष त्यो भन्दा पनि बढी माछा आयात हुने अनुमान गरिएको थियो ।

तर, दुर्गा पूजा नजिकिइरहेको बेला शुरु भएको ‘फिस वार’ ले भारतीय हिन्दूहरुको लागि दुर्गा पूजाको रौनक नै खल्लो हुने निश्चित भएको छ । यद्धपी बंगलादेशले औपचारिकरुपमा ‘फिस वार’ को घोषणा गरेको छैन । केवल आन्तरिक बजारको माग पूरा गर्नको लागि भारत निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

बंगलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयकी सल्लाहकार (मन्त्री) फरिदा अख्तरले ‘अघिल्लो सरकारले दुर्गा पूजाको समयमा उपहार भन्दै भारत सरकारलाई खुसी पार्ने गरि निर्यात गर्ने गर्दथ्यो । तर, अब हामी त्यसो गर्दैनौं । भारतलाई हाम्रो कुनै सहयोग र उपहार चाहिदैन भन्ने हामीले बुझेका छौं । त्यसैले एक किलो पनि हिल्सा माछा निर्यात गर्न अनुमति दिदैनौं । यस पटक हामी हिल्सालाई भारतीय सीमा काट्न दिने छैनौं’ बीबीसीसँग भनेकी छन् ।

बंगलादेशले युद्ध नभनी गरेको अति कडा निर्यात प्रतिवन्धलाई भारतीय पक्षले ‘युद्ध घोषणाकै रुपमा’ लिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीहरुका अनुसार बंगलादेशको नयाँ सरकारले अरु देशमा भइरहेको निकासी, पैठारीको बारेमा कुरा नगर्नु तर भारतसँगको विषयलाई निरन्तर चर्काउँदै जानु र दुर्गा पूजाको पूर्व सन्ध्यामा अति नै कडा प्रतिबन्धको घोषणा गर्नु नै अघोषितरुपमा युद्धको घोषणा गर्नु नै हो । र, त्यसको पछाडिको मुख्य कारण भारतमा शरण लिइरहेकी पूर्व प्रधानमन्त्री शेख हसिना वाजेद हुन् ।

बंगलादेशले वाजेदलाई आन्दोलन दमन गर्न भूमिका खेलेको ‘अभियुक्त’ भन्दै सुपुर्दगी गरिदिनको लागि पटक पटक गरेको आग्रहलाई भारतले वेवास्ता गर्दै आएको छ । त्यही रिसमा बंगलादेशले दुर्गा पूजालाई नै खल्लो बनाइदिने गरि हिल्सा माछामा प्रतिबन्ध लगाएको भारतीय संचारमाध्यमहरुले दावी गरिरहेका छन् ।

नेपालमा के असर ?

बंगलादेश भारत बीचको यो विवादले नेपाललाई सोझै असर पर्ने देखिदैंन । किनकी बंगलादेशबाट नेपालले निकै कम मात्र माछा आयात गर्छ । नेपालमा सन २०२३ मा १ लाख ३ हजार ४२६ मेट्रिक टन माछा उत्पादन भएको थियो भने ५ हजार २ सय मेट्रिक टन माछा आयात भएको थियो ।

नेपालमा सबैभन्दा बढी भियतनामबाट माछा आयात हुने गरेको छ भने त्यसपछि भारत, थाइल्यान्ड, डेनमार्क, हङकङ, चीनबाट आयात हुन्छ । बंगलादेशबाट भने निकै कम मात्र हुने गरेको छ । तर, बंगलादेशले भारतलाई प्रतिबन्ध लगाएर भारतमा माछाको मूल्य सृंखला खल्बलिने र त्यसबाट केही असर पर्न सक्ने माछा क्षेत्रका व्यवसायी र किसानहरु बताउँछन् ।

 




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।