पछिल्लो समय लगानीकर्ताले सबैभन्दा बढी पैसा कुन सेक्टरमा खन्याइरहेका छन् ? यस्तो देखियो विवरणमा

Nov 25, 2024 06:13 AM merolagani



सुवास निरौला

साताको पहिलो दिन आइतबार दोस्रो बजारमा सात अर्ब ७२ करोड रुपैयाँको शेयर किनबेच भए। जसमा सबैभन्दा बढी जलविद्युत क्षेत्रको दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर किनबेच हुँदा दोस्रोमा वित्त समूहको शेयर किनबेच भए। आइतबार मात्रै वित्त समूहको एक अर्ब ५२ करोडको शेयर खरिद बिक्री भयो।

आइतबारको कारोबार रकमको आधारमा सबैभन्दा बढी लगानीकर्ताले पैसा खन्याएको सेक्टर जलविद्युत रह्यो भने दोस्रोमा वित्त समूह पर्‍यो। आइतबार मात्रै जलविद्युत क्षेत्रमा लगानीकर्ताले सबैभन्दा धेरै पैसा खन्याएका होइनन्, गत महिना भरि नै लगानीकर्ताले सबैभन्दा बढी पैसा जलविद्युत र वित्त समूहमा नै खन्याएका छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सार्वजनिक गरेको कार्तिक महिनाको मासिक विवरण अनुसार सबैभन्दा बढी पैसा यिनै सेक्टरमा खन्याएका छन्। कार्तिक महिनामा मात्रै कुन एक खर्ब १५ अर्ब रुपैयाँको शेयर कारोबार भयो। जसमा सबैभन्दा बढी जलविद्युत क्षेत्रको शेयर कारोबार ३७ अर्ब रुपैयाँको भयो। जुन कुल कारोबारको ३२.५४ प्रतिशत हो। दोस्रोमा वित्त समूहको सबैभन्दा बढी कारोबार भयो। उसको कुल १८.३२ प्रतिशत कारोबार भएको हो। दुई समूहको मात्रै ५०.८९ प्रतिशत शेयर कारोबार भयो। वाँकी अरू समूहका शेयर किनबेच भएका हुन्। यी दुई समूहको कारोबार मात्रै बढेको छैन गत असोजको तुलनामा कारोबार हुने रकम समेत बढेको छ।

असोज महिनाको तुलनामा समग्र कार्तिक महिनामा कुल कारोबार रकम नै ३७.७० प्रतिशतले बढेको छ। त्यसमा पनि जलविद्युत क्षेत्रको कारोबार रकम ५३.०१ प्रतिशतले बढ्दा वित्त समूहको रकम झण्डै सत प्रतिशतले नै बढेको छ। कार्तिकमा मात्रै वित्त समूहको शेयर कारोबार रकम ९९.८३ प्रतिशतले बढेको छ।  

लगानीकर्ताले जुन सेक्टरमा सबैभन्दा बढी पैसा खन्याउँछन् त्यही समूहको शेयर मूल्य समेत बढ्ने गरेको देखिन्छ। कार्तिकमा सबैभन्दा धेरै पैसा जलविद्युत क्षेत्रमा आउँदै गर्दा उक्त समूहको सूचक पनि २६३.३३ अंकले बढेको छ। उता दोस्रोमा सबैभन्दा बढी पैसा आएको वित्त समूहको सूचकमा पनि राम्रै बृद्धि देखिएको छ। कार्तिकमा मात्रै वित्त समूहको सूचक ३२४.५७ अंकले बढेको छ।

लगानीकर्ताले जलविद्युत र वित्त समूहमा सबैभन्दा बढी पैसाको कारोबार हुनुलाई भने असामान्य रुपमा लिइएको छैन। धेरै जसो अपरेटरहरू यिनै समूहमा केन्द्रित भएकोले पनि यी दुई समूहमा बढी पैसा आएको विश्लेषण गरिएको छ।“हाइड्रो र फाइनान्स सेक्टरमा सूचिकृत धेरै जसो कम्पनी लो क्याप छन्। दोस्रो बजारमा अपरेटरहरूले सबैभन्दा बढी लो क्याप कम्पनीहरूलाई नै चलाउने र बढाउने कोसिस गर्छन्। सोही कारण यी दुई समूहमा सबैभन्दा बढी पैसा आएको हो” एक ब्रोकर कम्पनीका कर्मचारीले भने।

जलविद्युत क्षेत्रमा सबैभन्दा बढी पैसा आउँदै गर्दा वाणिज्य बैंक समूहले भने आफ्नो आकर्षण कायम राख्न सङ्घर्ष गर्नु परिरहेको देखिन्छ। तर पनि कारोबार रकमका हिसाबले वाणिज्य बैंकले कार्तिकमा आफ्नो स्थान तेस्रोमा राख्न सफल भए। १४ अर्बको कारोबार गर्दै वाणिज्य बैंक कारोबार रकमको हिसाबले तेस्रो स्थानमा छ। अझै पनि दोस्रो बजारमा वाणिज्य बैंकको आकर्षण कम भएको छैन। अहिले पनि जलविद्युत र वित्त समूहपछि सबैभन्दा बढी कारोबार हुने समूहमा वाणिज्य बैंक नै पर्ने गरेको छ। कार्तिकमा मात्रै वाणिज्य बैंक समूहको १२.१३ प्रतिशत रकमको कारोबार भयो। तर जुन हिसाबले वाणिज्य बैंक कारोबार रकमको हिसाबले तेस्रो बन्यो। त्यस हिसाबले उक्त समूहको सूचक भने कार्तिकमा बढ्न नसकेको नेप्सेले सार्वजनिक गरेको कार्तिक महिनाको विवरणमा देखिन्छ। कार्तिकमा वाणिज्य बैंक समूहको सूचक ८० अंक भन्दा बढीले घटेको छ।

कारोबार रकम उल्लेख्य हुनुले पनि वाणिज्य बैंक समूहको शेयर मूल्य बढ्न भने खासै सहयोग गरेको देखिँदैन। वाणिज्य बैंकहरुको चुक्ता पूँजी बढी हुनु र थोरै मूल्य बढ्ने बित्तिकै सप्लाई बढ्नुले पनि उक्त समूहमा रहेका कम्पनीको मूल्य बढ्न नसकेको विश्लेषण गरिएको छ।  




comments powered by Disqus

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट

Nov 25, 2024 10:42 AM

मंसिर १० गते, सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।