सरकारलाई आन्तरिक ऋण उठाउन आन्तरिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ट्रेजरी विल्समा माग भन्दा निकै धेरै आवेदन पर्ने गरेको छ भने ब्याजदर पनि घटेको छ।
गत मंसिर ४ गते सार्वजानिक ऋण व्यवस्थापन कार्यलयले कुल १७ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी विल्स नवीकरणको लागि आवेदन माग गरेको थियो। जसमा ७२ अर्ब रुपैयाँको लागि आवेदन परेको छ।
राष्ट्र बैंकले नवीकरण गर्न खोजेको २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी विल्समा १६ अर्ब ८५ करोड रुपैयाँको आवेदन परेको थियो। जसमा बैंकहरुले न्युनतम १.८९ प्रतिशतदेखि २.७४ प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए। जसमा औसत ब्याजदर २.७१ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ।
यस्तै ९१ दिन अवधिको ७ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी विल्स नवीकरण गर्न खोज्दा बैंकहरुले २६ अर्ब ५४ करोड रुपैयाको ट्रेजरी विल्स खरिदको लागि आवेदन दिएका छन्। जसको औसात ब्याजदर २.८६ प्रतिशत कायम भएको छ।
यसैगरी १८२ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रजरी विल्समा ३० अर्ब ५९ करोड रुपैयाँको आवेदन परेको थियो। जसमा बैंकहरुले २.६२ प्रतिशतदेखि २.९२ प्रतिशत मात्रै ब्याजदर कबोल गरेर आवेदन दिएका थिए। जसको औसत ब्याजदर २.८८ प्रतिशत कायम भएको छ।
बैंकहरुले पछिल्लो समय ट्रेजरी विल्स खरिदको लागि आवेदन पेश गर्दा ब्याजदर अझै घटाउँदै लगेको देखिन्छ। गत वर्षको तुलनामा अहिले बैंकहरुले आधा ब्याजदर घटाएर ट्रेजरी विल्स खरिद गरिरहेका छन्।
अहिले बैंकहरुले कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको एक वर्ष अवधिको ट्रेजरी विल्स समेत २ प्रतिशतभन्दा पनि कम ब्याजदरमा खरिद गर्न बैंकहरुको प्रतिस्पर्धा देखिएको छ। यसले तत्काल बैंकहरुमा ठूलो कर्जा जाने सम्भावना कम रहेको जानकारहरु बताउछन्।
कुनै समय १० प्रतिशतभन्दा धेरै ब्याजदर कबोल गरेर आवेदन गर्ने बैंकहरु अहिले ३ प्रतिशत भन्दा पनि कम ब्याजदर कबोलेर आवेदन पेश गरिरहेका छन्। यसले गर्दा पछिल्लो समय अल्पकालीन ऋण उठाउन प्रयोग गरिने ट्रेजरी विल्सको दर निरन्तर घट्दो क्रममा देखिएको छ। यसले सरकारलाई ब्याज भार केही कम हुने भएको छ। सरकारले एक वर्षसम्मको लागि २ प्रतिशत ब्याजदरमा नै ऋण पाउन थालेको छ। आन्तरिक ऋण व्यवस्थापन कार्यलयको तथ्याँक अनुसार चालु आर्थिक वर्षमा सरकारले ट्रेजरी विल्स जारी गरेर उठाएको आन्तरिक ऋणमा ३ प्रतिशत भन्दा धेरै ब्याज तिर्नु परेको छैन। ट्रेजरी विल्सको दर घटेपछि बैंकहरुको सरकारी ऋणपत्रबाट हुने ब्याज आम्दानी भने घट्ने छ।
अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ। सिडि रेशियोकै आधारमा हेर्दा बैंकहरुसँग करिब ७ खर्ब बढी लगानीयोग्य रकम छ। तर कर्जा लगानी धेरै हुन सकेको छैन्।बैंकरहरुले तत्कालै कर्जाको ठूलो माग हुने अवस्था समेत देखेका छैनन्। यसले गर्दा बैंकहरु सरकारी ऋणपत्रमै लगानी गरेर भएपनि आम्दानी गर्न खोजीरहेका छन्। जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्न थालेका हुन्।तरलता टाइट हुँदै गयो भने ट्रेजरी विल्सको दर पनि बढ्दै जान्छ। तरलता केही सहज भएपछि भने यस्तो दर घट्दै जाने गर्छ। ट्रेजरी विल्सको दर जस्ता अल्पकालीन ब्याजदर घट्दै जाँदा यसले बैंकहरुको निक्षेपको ब्याजदर समेत घट्दै जाने संकेत गर्छ। अझै पनि ट्रेजरी विल्सको दर घट्दो क्रममा रहेकोले अझै केही समय ब्याजदर नबढ्ने बैंकरहरु बताउँछन्। पछिल्लेा महिनाहरुको तथ्याँक हेर्दा पनि बैंकहरुले निक्षेपमा निरन्तर ब्याजदर घटाइरहेका छन् भने सोही अनुसार कर्जामा समेत ब्याजदर घटिरहेको छ। अहिले ग्राहकले समेत एकल अंकको ब्याजदरमा नै कर्जा पाउने अवस्था बनिसकेको छ। तर पनि बजारमा कर्जाको माग भने धेरै नबढेको बैंकरहरु बताउँछन्।
बैंकहरुले खासगरी निक्षेप संकलन गरी त्यो निक्षेपमा आफ्नो पूँजी समेत थप गरी कर्जा परिचालन गर्ने गर्छन। यसबाहेक बैंकहरुले सरकारी ऋणपत्र र अन्तरबैंक कारोबारबाट पनि आम्दानी गर्ने गर्छन। पछिल्लो समय बैंकहरु सरकारी ऋण पत्रमा बढी आकर्षित देखिन्छन्। अहिले तरलता सहज भएसँगै ट्रेजरी विल्सको ब्याजदर निरन्तर घट्दै गएको छ।
अहिले राष्ट्र बैंकले बैंकहरुलाई शेयर बजारमा लगानी गर्न समेत केही कडाइ गरेको छ। बैंकहरुलाई लगानीको लागि अन्य विकल्प नहुँदा उनीहरु सरकारी ऋणपत्रमा सस्तो ब्याजदर कबोलेर लगानी गर्न खोजीरहेका छन्।