पछिल्लो समय गत साउनमा आएको नीति शेयर बजार मैत्री भएको कारण शेयर बजारले नीति सार्वजनिक भएपछि बढ्दो लय समायो। नीतिकै कारण सूचक तीन हजार बिन्दुसम्म उक्लियो। तर त्यसपछि सुस्ताएको बजारले पुन: पहिलो त्रैमासको समीक्षा पर्खिरहेको थियो। केन्द्रीय बैंकले थप लचिलो नीति लिने आशमा लगानीकर्ता थिए। केही लगानीकर्ता केन्द्रीय बैंकको समीक्षा पछि बजार पस्ने तयारीमा थिए। भलै केन्द्रीय बैंकले कुनै पनि नीतिगत परिवर्तन गरेन। तर उसले बजारमा प्रेसर पर्ने नीति पनि अख्तियार गरेन। जसले गर्दा आइतबार खुल्ने बजारले कस्तो प्रतिक्रिया देला भन्ने उत्सुकता धेरै लगानीकर्तामा छ।
लगानीकर्ताहरूले आइतबार शेयर बजार के हुन्छ भन्ने कौतुहलताका साथ सामाजिक संञ्जालहरुमा आफ्ना बिचारहरू पोस्ट गरेका छन्। जसमा केहीले बजारलाई खासै फरक नपर्ने तर्क गरिरहेका छन् भने केही लगानीकर्ताले निराशाले भरिएको बिचार व्यक्त गरेका छन्। यस अर्थमा शेयर बजारलाई पहिलो त्रैमासले कस्तो असर गर्छ भन्ने विषय आइतबारको कारोबारले नै तय गर्ने नै छ। तर गत वर्ष पहिलो त्रैमास पछि शेयर बजारमा कस्तो असर देखिएको थियो भनेर मेरो लगानीले हेर्ने प्रयास गरेको छ।
गत वर्ष पहिलो त्रैमासको समीक्षा २०८० साल मंसिर २२ गते आएको थियो। त्यस बेला धेरै नीतिगत परिवर्तन भएका थिए। बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत,नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको थियो। जसले उच्च बिन्दुमा रहेको ब्याजदर घट्ने प्रक्षेपण बजारमा भएको थियो। जसले त्यस बेला बजारमा सकारात्मकता थपेको थियो।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिएको थियो। शेयर बजारमा जाने कर्जाको सीमा खुला नगरिए पनि जोखिम भार घटाउँदा लगानीकर्ता उत्साही भएका थिए।
ब्याजदर घट्ने र जोखिम भार घटाउने खालको नीतिले शेयर बजारमा तत्कालै प्रभाव पार्यो। नीति सार्वजनिक हुनु भन्दा अघि नै शेयर बजारले बढ्दो लय समाउन सुरु गरेको थियो। मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुनु भन्दा एक दिन अघि नै शेयर बजार ११ अंकले बढेर १८५७ अंकमा उक्लिएको थियो। अझै नीतिकाे समीक्षा आएपछि खुलेको बजारले बढेर सेन्चुरी मारेको थियो। एकै दिनमा १११ अंकले बढेर १८ सयको लाइनमा रहेको बजार १९६३ अंकमा उक्लिएको थियो। नीतिको प्रभाव एक दिन मात्रै रहेन। एक महिनासम्म बजार बढ्दो लयमा गएको थियो। मंसिर २२ गते सार्वजनिक भएको नीति पछि बजार पुसको तेस्रो सातासम्म बढ्दो लयमा रहँदै सूचकले २१७५ अंक टेकेपछि घट्न सुरु गरेको थियो।