फार्मेसीमा परिचय र पोशाक अनिवार्य गरिँदै, औषधीको बिक्रीमा बेथिति नियन्त्रणमा कडाइ गर्ने मन्त्रालयको तयारी

Dec 01, 2024 04:02 PM Merolagani



नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषदलाई भनेका थिए ।

लगत्तै परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो । परिषदले आगामी पुष ४ गतेबाट लागू हुने गरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोन सहितको पोशाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो ।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरण मा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम,पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम,पद र परिषद दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुष ४ गतेबाट लागू हुँदैछ ।

यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका रजिष्ट्रार संजीवकुमार पाण्डेले बताए ।

मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाई समेत अनुगमन बढाउन सजग गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले परिषदको निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएको समेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उनले बताए ।

मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको छ । समितिको सुझाव अनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।




comments powered by Disqus

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

Dec 01, 2024 10:28 AM

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।