कसरी एकाएक सबैभन्दा ठूलो कम्पनी बन्यो बिशाल बजार कम्पनी ?

Dec 01, 2024 06:14 PM MeroLagani



केही दिन अगाडिसम्म उत्कृष्ट १० भित्र पनि नअटाएको विशाल बजार कम्पनी बिहीबारदेखि एकाएक सबैभन्दा ठूलो कम्पनी बनेको छ । विगत तीन कारोबार दिनदेखि बिशाल बजार कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ भने पुँजीकरणको आधारमा नेपालकै सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

लामो समय मुद्दा मामिलापछि सरकारले जग्गाबापत् ठूलो शेयर हात पार्यो र सोही शेयर गत बुधबार नेप्सेमा सुचीकृत भयो । नेप्सेमा साधारण शेयरको मूल्य बढ्दा सोही अनुसार पुँजीकरण बढ्ने गर्दछ। नेप्सेमा बुधबार बिशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता संस्थापक शेयर सुचीकृत भयो ।सोही दिन बिशाल बजार कम्पनीको शेयर मूल्य समेत सर्किट लेभलमा बढेर कारोबार भयो। त्यसलगत्तैको दुई कारोबार दिन अर्थात बिहीबार र आइतबार समेत सर्किट लेभलमा कारोबार भए । आइतबार ५ हजार ९९० रुपैयाँमा कम्पनीको अन्तिम मूल्य कायम रह्यो । गत मंगलबार समेत कम्पनीको शेयर ७.७० प्रतिशतले बढेको थियो । ४ कारोबार दिनमा ३७.७० प्रतिशतले मूल्य बढ्नु तथा अकस्मात करिब ४ करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएपछि गुमनाम कम्पनी एकाएक नेप्सेमा सुचीकृत सबैभन्दा ठूलो कम्पनीमा बिशाल बजार कम्पनी आउन सफल भएको हो ।

यसअघिसम्म नेपाल टेलिकम, नबिल बैंक, नागरिक लगानी कोष लगायतका कम्पनीहरु पहिलो पुँजीकरणको आधारमा नम्बर एक कम्पनीमा पालैपालो पर्दै आएका थिए । अकस्मात जग्गाबापत् पाएको शेयर सुचीकरण भएपछि सबैभन्दा ठूलो कम्पनीमा बिशाल बजार कम्पनी पर्न सफल भएको हो ।

बिशाल बजार आफू मात्रै सबैभन्दा ठूलो कम्पनी बनेन, यसले नेपालको शेयर बजार पुँजीकरण समेत झन्डै साढे २ खर्बले बढाएको छ। गत मंगलबारसम्म ४३ खर्ब २५ अर्ब रहेको शेयर बजार पुँजीकरण बिशाल बजार कम्पनीको सरकारको नाममा आएको शेयर नेप्सेमा सुचीकरण हुनासाथ शेयर बजार पुँजीकरण समेत ह्वात्तै बढेर ४५ खर्ब ७० अर्ब पुगेको छ । आइतबारको अन्तिम कारोबार अनुसार अहिले शेयर बजारको पुँजीकरण ४५ अर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।

बिशाल बजार कम्पनीको लागि सरकारबाट नियुक्ति पाएका सञ्चालक राधा पोखरेलले यही वर्ष भित्रमा कम्पनीको साधारण सभा गराउने विषयमा छलफल भइरहेको बताइन । पुराना सञ्चालकहरु सबै जेल परेको तथा आफू पनि नयाँ सरकार आएपछि मात्रै नियुक्ति भएकाले नयाँ नियुक्ति पछि सञ्चालक समितिको बैठक नै बस्न नसकेको उनले मेरो लगानीलाई बताइन । अहिलेको कम्पनीको पुँजी संरचनाअनुसार संस्थापक शेयर ९८ दशमलब ९६ प्रतिशत छ भने सर्वसाधारणको १ दशमलब ४ प्रतिशत मात्रै रहेको छ । कम्पनीमा संस्थापकको ३ करोड ९६ लाख ८१ हजार ३३ कित्ता शेयर छ जुन तत्काल कारोबारमा आउँदैन । अहिले सर्वसाधारणको ४ लाख १८ हजार ९ सय ६७ कित्ता शेयर मात्रै कारोबारमा आउँछ । अत्यन्तै न्यून शेयर मात्रै कारोबार आउने हुँदा शेयर सप्लाई कम भई विगत तीन दिनदेखि सर्किट लेभलमा कारोबार भइरहेको शेयर लगानीकर्ताहरु बताउँछन् ।

विगत १० वर्षदेखि साधारण सभा नभएको हुँदा कम्पनीको ताजा अवस्था कस्तो छ भन्ने जानकारी कसैसँग छैन । सञ्चालकहरुले १ अर्ब रुपैयाँभन्दा बढी सञ्चित मुनाफा रहेको बताउने गरेका छन् । १ अर्ब मुनाफा बाँडफाँड गर्दा अहिले ४ अर्बको हाराहारीमा चुक्ता पुँजी रहेको हिसाबले २५ प्रतिशत जति मात्रै लाभांश पाउने अपेक्षा गर्न सकिन्छ ।

कसरी भयो बिशाल बजार ठूलो कम्पनी ?

बुधबार मात्रै विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर बजारमा सूचीकृत भयो । यो सेयर संस्थापक समूह अर्थात् सरकारको हो । यो सेयर थपिएपछि विशाल बजार कम्पनीको कुल सूचीकृत सेयर संख्या ४ करोड १ लाख कित्ता पुगेको छ।  हाल प्रतिकित्ता ५ हजार ५ सय ८९ रुपैयाँ छ। 

विशाल बजार कम्पनीले प्रयोग गर्दै आएको जग्गाबापत सरकारले संस्थापक सेयर पाएको हो।  त्यही ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर बजारमा सूचीकृत भएर कारोबार भएपछि बिशाल बजार सबैभन्दा ठूलो कम्पनी बनेको हो यो संस्थापक सेयर कारोबारमा आउँदैन । १.०४ प्रतिशत अर्थात् ४ लाख १८ हजार ९ सय ६७ कित्ता सेयर मात्रै सर्वसाधारणमा जारी छ, यही सेयर बजारमा कारोबारमा आउने हो।

कसरी थपियो सरकारी सेयर ?

विशाल बजार कम्पनीले वर्षौंदेखि प्रयोग गर्दै आएको ८ रोपनी ४ आना जग्गा सरकारको नाममा थिएन । २०२५ सालमा स्थापना भएको विशाल बजार २०४५ सालसम्म अञ्चलाधीश कार्यालय मातहत सञ्चालन हुँदै आएको थियो।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपछि त्यहाँ भवन बनाएका शक्तिशाली व्यापारिक सेयरधनी (सञ्चालक) ले आफूखुसी सटर भाडामा दिने, पैसा असुल्ने गर्न थाले । केही समूहले जग्गासहित विशाल बजार कम्पनीलाई हडप्ने प्रयास समेत गरेको थियो । २०६७ मा विशाल बजारलाई सर्वोच्च अदालतले सरकारकै स्वामित्व र अधिकार कायम गरिदिएपछि व्यवस्थित रूपमा सटरहरू भाडामा लाग्न थालेका हुन। जब सरकारका नाममा जग्गा आयो, त्यसपछि विशाल बजार कम्पनीको ९८.९६ प्रतिशत सेयर सरकारी हुन गयो । हालै यो सेयर बजारमा सूचीकरण भएपछि कम्पनी सबैभन्दा ठूलो भएको हो। पहिले नै कम्पनीको बाँकी सेयर सूचीकृत थियो। सरकारको सेयर सूचीकरण भएपछि अब कम्पनीको साधारणसभा,लेखापरीक्षण कार्य समयमै गर्ने गरी पहल गर्ने सञ्चालक राधा पोखरेलले जानकारी दिइन ।




comments powered by Disqus

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

Dec 01, 2024 10:28 AM

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।