अन्तिम दिन साधारण सभा गर्ने ट्रेन्ड, एकै दिन ५६ कम्पनीको सभा, शेयरधनी अलमलमा

Jan 06, 2025 10:58 AM Merolagani



पब्लिक कम्पनीमा रूपान्तरित ५६ कम्पनीहरूले एकै दिन साधारण सभा आह्वान गरेपछि शेयरधनी अलमलमा परेका छन्। कुन कम्पनीको साधारण सभामा जाने,कुनमा नजाने? भनेर  शेयरधनी अलमलमा परेका हुन्।

पुस महिनाको अन्तिम ५ दिनमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत र सूचीकृत नभएका गरी कुल १४४ कम्पनीले साधारण सभा डाकेका छन्। अघिल्लो वर्ष भन्दा अझै बढी कम्पनीले अन्तिम समयमा साधारण सभा डाकेका हुन्।

अघिल्लो वर्ष अन्तिम पाँच दिनमा साधारण सभा डाक्ने कम्पनी ११० थिए। जुन चालु वर्ष भन्दा कम हो। चालु वर्ष मात्रै पुस २५ देखि २९ सम्म हरेक दिन दर्जन भन्दा बढी कम्पनीले साधारण सभा डाकेका छन्। आउने पुस २४ गते आठ कम्पनीले साधारण सभा डाकेका छन् भने २५ गते १८ कम्पनीले सभा गर्दै छन्। २६ गते २९, २८ गते ३३ र २९ गते ५६ कम्पनीले सभा गर्दै छन्।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीले पुस अन्तिममा साधारण सभा गर्नु ठिकै मान्न सकिए पनि सूचीकृत भइसकेका दर्जनौँ कम्पनीले एकै दिन साधारण सभा आह्वान गर्दा शेयरधनी नै कुन कम्पनीको साधारण सभामा जाने भन्नेमा अलमलमा परेका छन्। कुनै कम्पनीको साधारण सभा सञ्चालक छान्न निर्वाचन समेत हुने गरेको छ। तर एकै दिन साधारण सभा हुँदा सबै कम्पनीको साधारण सभामा जान सक्ने अवस्था हुँदैन। किनकि सूचीकृत कम्पनीहरूमा एकै जना व्यक्ति धेरै कम्पनीका शेयरधनी हुने गरेका छन्। जसले गर्दा उनीहरूलाई कुन कम्पनीको साधारण सभामा जाने भन्ने अलमल हुने गरेको हो।

कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार पब्लिक कम्पनीको रुपमा स्थापना भएका कम्पनीहरूले पहिलो वर्ष एक वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सोही बमोजिम सूचीकृत भएका सम्पूर्ण कम्पनीहरूलाई पुस महिना भित्र नै साधारण सभा गर्नै पर्ने बाध्यता हुन्छ। यता सूचीकृत कम्पनीहरूलाई धितोपत्र बोर्डले समेत पुस मसान्तभित्र सभा सक्नुपर्ने व्यवस्था गरेको छ। पुस मसान्तभित्र सभा नगर्ने कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा जरिवाना तिर्नुपर्ने हुन्छ। अर्कोतर्फ नेप्सेले गर्ने वर्गीकरणको समेत खराब वर्गमा पर्ने सम्भावना रहन्छ। यसले गर्दा धेरै कम्पनीहरूले मसान्त अघि नै सभा सम्पन्न गर्न चाहन्छन् र धेरै कम्पनीको सभा एकै दिन पर्ने गरेको हो।

पुस मसान्तमा साधारण सभा गर्ने पर्ने बाध्यताका कारण कम्पनीहरूले अन्तिम दिन साधारण सभा डाक्ने गरेको भएपनि सूचीकृत कम्पनीहरूलाई समयमा नै साधारण सभा गर्ने प्रेरित गर्नु पर्ने संस्थाले समेत यस पटक पनि अन्तिम दिन नै साधारण सभा बोलाएको छ। दोस्रो बजारमा बजार सञ्चालकको रुपमा काम गर्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले समेत पुस अन्तिम दिन साधारण सभा डाकेको छ। उसले यस पटक मात्रै अन्तिम दिन सभा गर्न लागेको होइन, हरेक वर्ष जसो उसले अन्तिम दिन नै साधारण सभा गर्दै आइरहेको छ। जसले गर्दा अन्य सूचीकृत कम्पनीहरूले समेत अन्तिम दिन नै साधारण सभा डाक्ने गरेका हुन्।

कम्पनीहरूले साधारण सभाको लागि पुसको अन्तिम दिन नै कुरेर बस्नु गलत रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। यो आर्थिक वर्षमा मात्रै होइन विगत लामो समयदेखि नै पुस मसान्तमा एकै पटक धेरै कम्पनीहरूको सभा हुने गरेको छ। कम्पनीहरूले पुस मसान्तसम्म समय छ भनेर मसान्त नै कुरेर बस्नुभन्दा पनि सकेसम्म चाँडो नै साधारण सभा गर्न उचित हुने अध्यक्ष ढकाल बताउँछन्।




comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 12, 2025 10:34 AM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।