अनि विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार भारतको अवस्था चाँहि एआई वा समग्र प्रविधिको क्षेत्रमा कस्तो छ ? जवाफ एकदमै सजिलो छ—तावाबाट उम्केर भुङग्रोमा परे जस्तो ।
भारतको संचार उद्योग केही समय अघिदेखि च्याट जिपिटी विरुद्ध निरन्तर लागिरहेको छ । भारतमा लगभग ४५० समाचार च्यानल र १७ हजार समाचारपत्रहरू छन् । ती मध्ये द इन्डियन एक्सप्रेस, द हिन्दू, इन्डिया टुडे र गौतम अडानीको स्वामित्वमा रहेको एनडीटीभीसहित १० भन्दा बढी पुराना र ठूला भारतीय मिडियाहरुले च्याट जिपिटीको विरुद्ध निरन्तर अभियान संचालन गरिरहेका छन् ।
भारतीय समाचार एजेन्सी एसियन न्यूज इन्टरनेसनल (एएनआई) द्वारा गत वर्ष नोभेम्बरमा दर्ता गरिएको च्याट जिपिटी विरुद्धको एउटा मुद्दा दिल्ली उच्च अदालतमा विचाराधिन छ । त्यस्तै डिसेम्बरमा फेडेरेसन अफ इन्डियन पब्लिसर्सले भारतको ८० प्रतिशत प्रकाशकको प्रतिनिधित्व गर्ने भन्दै अर्काे मुद्दा पनि अदालतमा दायर गरेको छ । यसमा पेन्गुइन र्यान्डम हाउस र अक्सफोर्ड युनिभर्सिटी प्रेसका भारतीय कार्यालयहरू पनि समावेश छन् ।
त्यस्तै केही समय अघि भारतका अनलाइन न्यूज पोर्टलहरुको संस्था डिजिटल न्यूज पब्लिशर्स एसोसिएसन (डिएनपिए) ले पनि च्याट जिपिटी विरुद्ध मुद्दा दायर गरेको छ ।
सबै मुद्दामा एकै प्रकारको आरोप लगाइएको छ । च्याटजीपीटीले आफूहरुले तयार गरेको सामाग्रीको दूरुपयोग गरेको, भारतको अहित हुने सामाग्रीहरुलाई तोडमरोड गरेर जानकारी दिने गरेको र भारतको अर्थतन्त्रलाई हानी पुर्याइरहेको जस्ता आरोप लगाइएको छ ।
साथै उनीहरुले अर्काे दावी पनि गरिरहेका छन् । उनीहरुको दावी छ —यो मुद्दा देशभरका पत्रकार र समाचार उद्योगको जीविकोपार्जनसँग सम्बन्धित रहेको छ ।
विविसीका अनुसार च्याट जिपिटीले भने भारतीय संचारमाध्यमहरुले लगाएको आरोप अस्वीकार गरेको छ । उस्ले कुनै सामाग्री अनधिकृतरुपमा प्रयोग नगरेको र केवल सार्वजनिक रूपमा उपलब्ध डाटा मात्र प्रयोग गर्ने गरेको दावी गरेको छ ।
त्यसो त च्याट जिपिटीको विरुद्ध आवाज उठेको र मुद्दा परेको केवल भारतमा होइन । विश्वभर ओपनएआई विरुद्ध ठूला खालका कम्तिमा १९ वटा मुद्दा चलिरहेको छ । यी मामिलाहरूमा प्रकाशक, कलाकार, मिडिया र समाचार संस्थाहरु छन् र ती सबैको आरोप उस्तै छ— च्याटजीपीटीले उनीहरूको सामग्री अनुमति बिना प्रयोग गरिरहेको छ, गलत सूचनाहरु प्रवाह गरेर राष्ट्रघात गरिरहेको छ, राजस्व ठगिरहेको छ आदि ।
सबैभन्दा चर्चित मुद्दा ‘द न्युयोर्क टाइम्स’ले अमेरिकामा हालेको मुद्दा हो । डिसेम्बर २०२३ मा, न्युयोर्क टाइम्सले च्याटजिपिटी र यसको समर्थक माइक्रोसफ्टसँग यस्तै मामिलामा अरबौं डलर क्षतिपूर्तिको माग गरेको छ । यो मुद्दाकाे फैसला कस्तो हुन्छ, त्यसको आधारमा च्याटजिपिटीको भविश्य निर्धारण हुन सक्ने मानिएको छ ।
स्मरणीय के छ भने सन् २०२३ मा इटालीले च्याटगटको सङ्कलन र ठूलो मात्रामा व्यक्तिगत डेटाको भण्डारणले गोपनीयता चिन्ताहरू बढाएको भन्दै च्याटजीपीटीलाई प्रतिबन्ध लगाएको ।
एउटा सर्वेक्षणअनुसार, भारत पहिले नै च्याटजीपीटीको सबैभन्दा ठुलो प्रयोगकर्ता आधार भएको बजार हो । च्याटजीपीटी जस्ता च्याटबोटहरू इन्टरनेटबाट सामग्री सङ्कलन गरेर सिर्जना गरिएका ठुला–स्तरका डाटा सेटहरूमा प्रशिक्षित हुन्छन्।
कानुनी फर्म आनन्द एन्ड आनन्दका आर्टिफिसियल इन्टेलिजेन्स मामिलाका विज्ञ अधिवक्ता वैभव मित्तल भारतमा एएनआईले दायर गरेको मुद्दाको नतिजाले भविष्यमा एआई मोडलहरूले कसरी काम गर्ने भनेर निर्धारण गर्न सक्ने बताउँछन् ।
यदि अदालतको फैसला याचिकाकर्ताहरुको पक्षमा आयो भने यसले थप मुद्दा दायर गर्ने सम्भावना बढाउन सक्छ । साथै, एआई कम्पनीहरूले सामग्री सिर्जनाकर्ताहरूसँग इजाजतपत्र साझेदारी सम्झौताहरूमा प्रवेश गर्नुपर्ने हुन सक्छ । च्याटजीपीटीले युरोप र अमेरिकाका केही कम्पनीहरूसँग यसो गर्न थालेको छ ।
तर यदि फैसला च्याट जिपिटीको पक्षमा गयो भने स्थिति पुरै फरक हुन सक्ने छ । एएनआई लगायतका भारतीय समाचार संस्थाहरु प्रति मानिसहरुको घटिरहेको विश्वासलाई तीब्ररुपमा बढाउनेछ । मानिसहरु सूचनाको लागि समाचार च्यानलहरुको भर पर्न छोडेर च्याटजिपिटी जस्ता सामाग्रीहरुको पछि लाग्नेछन्, जुन अहिले नै देखिइसकेको छ ।
च्याटजिपिटी विरुद्ध लडिरहेका भारतीय संचारमाध्यमहरुको लागि करिब एक महिना अगाडि सार्वजनिक भएको चिनियाँ एआई प्रविधि डीप सीक अर्काे चुनौति बनेको छ । त्यसका विरुद्ध ती समाचार संस्थाहरु र भारत सरकारले कुनै कदम चाल्ला कि नचाल्ला भन्ने बारेमा भने अहिले नै केही भन्न सकिदैन । एउटा कुरा के निश्चित हो भने भारत प्रविधिको क्षेत्रमा चीन र अमेरिकाको प्रतिस्पर्धा गर्न सक्दैन । शायद भारतीय मिडिया उद्योगहरुको मुख्य चिन्ताको विषय पनि त्यही नै हो ।