आवश्यकता, उपलब्धि र औचित्य बिना सहकारी संघहरुको वित्तीय कारोबार

Feb 09, 2025 03:05 PM Merolagani



सुधा देवकोटा
सहकारी संघहरु आवश्यकता, उपलब्धि र औचित्य बिनै बित्तीय कारोबारमा सकृय छन् । राजनीतिक पँहुच,अनावश्यक प्रलोभन र अप्रत्यक्ष दबावको आधारमा बचत संकलनको नाममा पैसा थुपारेर अपारदर्शी र असुरक्षित तवरबाट अनुत्पादक क्षेत्रमा लगानी गरेका हुन् ।

चालु आर्थिक वर्षको ६ महिनाकाे सार्वजनिक भएको वित्तीय विवरणले संघहरुको पैसा सदस्य सहकारीको आवश्यकता र औचित्यता भन्दा बाहिर लगानी भएको देखिन्छ । सहकारी संघहरुमा बचतको रुपमा आएको पैसा सहकारी संस्थामा लगानी नगरेर बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गरेको पाइएको हो ।

सहकारी संस्थाहरुको वृद्धि, विकास र प्रवर्द्धनका लागि स्थापना भएका संघहरुले कानुनको छिद्रलाई टेकेर वित्तीय कारोबारलाई मूर्तता दिँदै आएका छन् । सहकारी संस्था मार्फत सर्वसाधारण सदस्यको वृद्धि विकासको लागि प्रयोग हुनुपर्ने उक्त बचत रकम सहकारी संघहरुले थुपार्दै बैंक तथा वित्तीय संस्थाको बचत संकलकको भुमिका निर्वाह गरेका छन् । सदस्य सहकारी संस्थाको फाइदालाई भन्दा पनि संघमा हाली मुहाली गर्ने केही सहकारी नेताहरु तथा उच्च व्यवस्थापकहरुको आर्थिक चलखेलमा सम्पूर्ण गतिविधि हुने गरेको स्पष्ट देखिन्छ । जसले सहकारी क्षेत्रको पैसा सञ्जाल भन्दा बाहिर पुर्याउन सहयोग गरेको छ । जिल्ला स्तरको सहकारी संघदेखि केन्द्रीय संघहरु सबै बचत तथा ऋण कारोबार गर्दै पैसा थुपार्ने र मुद्दती निक्षेपमा जम्मा गर्ने तथा असुरक्षित लगानी गर्ने परिपाटी बढेको छ ।

असुरक्षित लगानीको विवरणलाई केलाउदा बचत तथा ऋण केन्द्रीय सहकारी संघको आर्थिक २०८०/८१ को लेखा परिक्षण गरिएको प्रतिवेदनमा नियम अनुसार कर्जा नोक्सानी व्यवस्था नगरेको र नियम बमोजिम गर्न नियामक निकाय सहकारी विभागले दिएको निर्देशनले स्पष्ट हुन्छ । स्वतन्त्र लेखापरिक्षकले नियमानुसार कर्जा नोक्सानी व्यवस्था नगरेको पाइएको छ । त्यसलाई ढाकछोप गर्न नेतृत्वमा रहेका नेता मार्फत उक्त प्रतिवेदनको विषयलाई गलत सावित हुने गरी आफ्नै तरिकाले वक्तव्य वाजी भएको सामाजिक सञ्जालमा सर्वत्र देखिन्छ । जसले असुरक्षित लगानी गरेको, गलत लगानीलाई प्रोत्साहित गरेको र नियमानुसार कोषमा रकम नछुट्याएको विषयलाई प्रष्ट पारेको छ ।

बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको चालु आर्थिक वर्षको ६ महिनाको विवरणलाई हेर्दा अर्बौं रुपैयाँ अनुत्पादक क्षेत्रमा लगानी भएको देखिएको हो । यस अवधिमा केन्द्रीय संघले २५ अर्ब ३० करोड रुपैयाँ बचत संकलन गरेको छ । जसमध्येबाट ८ अर्ब ८५ लाख रुपैयाँ ऋण लगानी गरेको देखिन्छ । यसमा बचत र कर्जा लगानीको अन्तरलाई हेर्दा संघको १६ अर्ब ४४ करोड रुपैयाँ कुनै बैंकमा वा केहि अन्य संस्थाहरुको शेयर पूँजीमा लगानी भएको देखिन्छ । संघमा आवद्ध अत्यन्त कम सदस्यले मात्र कर्जा उपभोग गरेको देखिएको छ । पुस महिनासम्म ४ हजार ४०३ सदस्य रहेको संघमा ५८९ संस्थाले मात्रै कर्जा लिएका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै बचत तथा ऋण सहकारी संस्थाहरु भएको प्रदेश बागमती प्रदेशको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको पनि अवस्था त्यस्तै देखिएको छ । प्रदेश बचत संघमा जम्मा भएको रकम पनि सहकारी क्षेत्र भन्दा बाहिर रहेको देखिएको हो । संघले तीन अर्ब ८२ करोड रुपैयाँ सदस्य संस्थाबाट बचत गरेको देखिएको छ । जस मध्येमा अत्यन्त न्यून २५ करोड रुपैयाँ मात्रै सहकारी संस्थाहरुमा परिचालित भएको देखिन्छ । संघको तीन अर्ब ३४ करोड रुपैयाँ सहकारीको सञ्जाल भन्दा बाहिर रहेको छ । त्यसैगरी बागमती प्रदेशकै दुई भक्तपुर र मकवानपुर जिल्ला सहकारी संघमा पनि सोही प्रवृती दोहोरिएको छ । कुल सदस्य मध्ये अत्यन्त कम सदस्य मात्रै संघ मार्फत लाभान्वित भएका छन् ।

भक्तपुर बचत तथा ऋण सहकारी संघले तीन अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने जसमा २९ करोड ६९ लाख रुपैयाँ मात्रै कर्जा लगानी गरेको छ । संस्थाको तरलता व्यवस्था गरेर दुई अर्ब ६४ करोड रुपैयाँ अनुपादक क्षेत्रमा लगानी भएको हो । साथै, मकवानपुर बचत संघले ६ महिनामा एक अर्ब ३० करोड ६९ लाख रुपैयाँ बचत संकलन गरेको छ । जसमा ९ करोड ९० लाख रुपैयाँ कर्जा जम्मा २२ सदस्य संस्थाहरुमा परिचालन भएको छ भने ७९ करोड २७ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप लगानीको रुपमा जम्मा भएको देखिन्छ ।

यी सहकारी संघहरु प्रतिनिधि मात्रै हुन । बचत तथा ऋणको कारोबार अन्य संघहरुले पनि गर्ने गरेका छन् । जम्मा बचतमा कर्जाको अनुपातलाई अध्ययन गर्दा न्यूनतम मापदण्डको पालना पनि नभएको हो । यसको समग्र असर संघको नाफा नोक्सानीमा परि सदस्य सहकारीहरुले लाभ लिनबाट बन्चित भएका छन् ।

उच्च दर र राजनीति प्रभावलाई नकार्न नसकी सदस्य संस्थाहरुले संघहरुसँग असुरक्षित कारोबार गरेको प्रष्ट छ । सो कारोबारलाई व्यवस्थापन गर्न सक्ने क्षमता संघहरुमा देखिदैन । संघहरुमा वर्षाैं देखि यसै गतिविधि दोहोरिएको देखिन्छ । कर्जा विस्तार र लगानीलाई नै मध्यनजर गरेर हेर्दा सहकारी क्षेत्रको लागि संघहरुले वित्तीय कारोबार गर्नु पर्ने नदेखिएको हो ।

सहकारीका नेताहरुको दोहोरो चरित्र, अभियान नै धमिल्याउने प्रयास

सहकारीको लगानी अनुत्पादक क्षेत्रमा बढेकै कारण सहकारीमा समस्या आएको सहकारी विभागका सुचना अधिकारी रघुनाथ महतले बताए । वित्तीय कारोबार सूचित गर्ने संयन्त्र नबन्दा सहकारी क्षेत्रको पैसा उत्पादनमुखी भएको छैन । सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक र व्यवहारिक बनाउन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन गर्न कोपोमिस ल्याएको हो । तर प्रणालीमा सहकारीहरुकाे आवद्धता उत्साहपूर्वक नहुदा कारोबारको सूचना प्राप्त हुन कठिन भएको महतको भनाइ छ ।

देशमा तरलता पर्याप्त रहेको केन्द्रीय बैंकको तथ्यांकमा प्रष्ट देखिन्छ । पछिल्लो समय बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन सकेको छैन । प्रणालीमा बढी तरलता हुनु पनि राष्ट्र बैंकको लागि समस्याको रुपमा देखिएको छ । सोही अनुसार संघहरुमा जम्मा भएको पैसा देख्दा सहकारीमा पनि पर्याप्त पैसा भएको देखिन्छ । सहकारी संस्थाहरुबाट कर्जाको माग नहुर्दा कर्जा जान नसकेको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए । अन्य बैंक तथा वित्तीय संस्था जस्तै सहकारी क्षेत्रमा कर्जाको माग नहुँदा कर्जा विस्तार हुन नसकेको उनको भनाइ छ ।

सहकारी संस्थाहरुबाट उठाएको पैसा अन्य बैंक तथा वित्तीय क्षेत्रमा राख्ने परिपाटी छ । संघहरुका यस्ता गतिविधिले संहकारी संस्थाहरुको वृद्धि, विकास र प्रवर्द्धनमा कुनै योगदान पुर्याएको देखिदैन । न कि सदस्य सहकारी संस्थाहरुको वृद्धि विकासमा सहयोग पुर्याएको छ । सहकारी संस्थामा अन्य बैंक तथा वित्तीय संस्थाहरु जस्तो संरचना हुँदैन । सहकारी संघहरुले बैंक तथा वित्तीय संस्थाको जस्तो कर्जा माग छैन भन्नु नै व्यवहारिकता होइन । कर्जाको माग भएन र कर्जा विस्तार भएन भन्ने जस्ता हल्का जावफले सहकारी संघहरु सदस्य संस्थाको वृद्धि विकासमा गैर जिम्मेवार छन भन्ने बुझाउने जानकारहरुको भनाइ छ ।

सहकारीको मूल समस्यामा आँखा चिम्लदै, राष्ट्र बैंकको मस्यौदा तोडमोड गर्ने दाउमा अभियान

सहकारी संघहरुले आफ्ना सदस्य संस्था मार्फत आम सर्वसाधारण सदस्यहरुको आर्थिक वृद्धिको लागि पैसाको बचत र उपयोगलाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ । उद्यमशिलता विकास मार्फत आर्थिक गतिविधिलाई बढावा दिदै समग्र देशको आर्थिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने दायित्व सहकारी क्षेत्रमा छ । यसको जिम्मेवारी सहकारी संघ हुँदै सदस्य सहकारी संस्थाहरुमा हुनुपर्छ । तर आर्थिक वृद्धिको लागि रकम परिचालन गर्ने, प्रशिक्षण गराउनु पर्ने संघहरु बचत जम्मा गरेर ब्याज कमाउने र पैसाको किनबेचमा लिप्त छन । यसले स्वपूँजी र ऋण रकमलाई उपयोग गर्दै उद्यमी बन्ने अवसरलाई खुम्चाएको जानकारहरुको बुझाई छ ।

संघका सदस्यहरुले उत्पादनशिल क्षेत्रमा आवश्यक कृयाकलाप नगरेकै कारण कर्जाकाे माग कमी भएको हो । सदस्य सहकारी संस्थाहरुको बजारीकरण, प्रवर्द्धन र विकासमा योगदान पुर्याउन नसक्ने संघहरु सहकारी संस्था र बैंकहरुको बीचमा रहेर मध्यस्थकर्ताको मात्र भुमिकामा छन् । केवल बैंकमा पैसा जम्मा गर्नको लागि मात्र सहकारी संघहरुको स्थापना भएको हो भने संघहरुको वित्तीय कारोबार न आवश्यकता छ न यसले उपलब्धि प्रदान गर्छ । न त यसको कुनै औचित्य देखिन्छ ।  अनावश्यक राजनीतिलाई बढावा दिएको हुँदा जिल्ला प्रदेश र केन्द्रीय संघहरुको वित्तीय कारोबारको आवश्यकता नरहेको जानकारहरुको बुझाई छ ।

सहकारी संघहरुको जोखिमपूर्ण अर्बौं कारोबारमा अध्यादेश मौन

 




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।