तपाईलाई पनि त्यस्तै लाग्न सक्छ । त्यसो हो भने तपाई गलत हुनुहुन्छ । किनकी भन्सार विभागले ६ रुपैयाँ पर्ने कुनै समानमा निकासी कर वापत १० रुपैयाँ लिने गरेको पाइएको छ । त्यहीकारण निर्यात ठप्प भएर सरकारले करोडौं रुपैयाँ राजश्व गुमाइरहेको छ । अर्थात् राजश्व बढी असुल्नको लागि भन्सार विभागले अपनाएको तौर तरिकाबाट निर्यात ठप्प भएर उल्टै मासिक करोडौंको राजश्व घाटा भइरहेको छ ।
प्रसंग हो, फलामको धुलो निर्यातमा भन्सार विभागले अपनाएको रबैयाको । नेपालका फलाम उद्योगहरुले फलामको विलेटलाई तताएर पिट्दा निस्कने धुलो (स्ल्याग) भुटान निर्यात गर्दै आइरहेका थिए । गत वर्षको तथ्याङक हेर्ने हो भने ६० हजार मेट्रिक टन फलामको धूलो भुटान निर्यात हुँदै आएको छ । औसतमा ६ रुपैयाँ प्रतिकिलोको दरले भुटानले नेपालबाट उक्त धुलो खरिद गर्दै आएको थियो ।
नेपालमा २० वटा फलाम उद्योग छन् । औसतमा प्रति उद्योग करिब ३ करोड रुपैयाँ बराबरको निर्यात गर्दै आएका थिए । नेपालमा यसको उपयोग हुँदैन । तर, भुटानले सिमेन्टमा प्रयोग गर्न नेपाल, भारत र बंगलादेशबाट त्यस्तो धुलो आयात गर्ने गरेको छ ।
वस्तु वर्गीकरणको हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) हेरफेर गरिएपछि केही समय अघिदेखि उक्त धुलो निर्यात ठप्प भएको छ । पहिले २६१८.०० एचएस कोडबाट निकासी हुँदै आएकोमा भन्सार विभागले त्यसलाई परिवर्तन गरेर ७२०४.४१ कायम गरेपछि उद्योगहरूबाट भइरहेको निकासी ठप्प भएको हो ।
एचएस कोड २६१८.०० मा परेको वस्तु निकासी गर्दा भन्सार लाग्दैन । तर अहिले लागू गरिएको कोड नम्बर ७२०४.४२ बाट गर्दा प्रतिकिलो १० रुपैयाँ भन्सार तिर्नुपर्छ । अर्थात भुटानले ६ रुपैयाँ किलोमा खरिद गर्ने उक्त धुलोलाई निर्यात कर १० रुपैंया तिर्नु पर्ने भएपछि निकासी भएको भन्दै नेपाल फलामे छड उत्पादक संघले मेची भन्सार कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । उस्ले उद्योगले फ्याँक्नु पर्ने र राज्यले सफा गर्नुपर्ने वस्तुको निकासीबाट थोरै भए पनि उद्योगहरूले विदेशी मुद्रा आर्जन गरिरहेकोमा मूल्यभन्दा बढी राजस्व तोक्ने भन्सार विभागको निर्णय फिर्ता गरेर पुरानै एचएस कोड कायम गरिनु पर्ने बताएको छ ।