जीवन बीमा कम्पनीको डेढ खर्ब भन्दा बढीको व्यापार, सबैभन्दा धेरै व्यापार नेपाल लाइफकाे

Jun 29, 2025 06:21 PM Merolagani



चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीहरुले संयुक्त रुपमा १ करोड ५४ लाख ९८ हजार ७०१ वटा बीमालेख जारी गरेका सो बराबरको व्यवसाय गरेका हुन ।

बीमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जहिले पनि ‘ननमुभर’को रुपमा एक नम्बरमै रहेको छ । कम्पनीले कुल बीमा शुल्क संकलनको झन्डै १ चौथाई हिस्सा ओगटेको छ । एक चौथाई हिस्सा ओगटे पनि कम्पनीको सक्रिय बीमालेख भने २० लाख ८१ हजार २२ वटा मात्रै रहेको छ जुन बीमालेख सख्याको हिसाबले दोस्रो नम्बरमा रहेको छ ।

बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा नेसनल लाइफ रहेको छ जसले कुल बीमा शुल्कको १२ दशमलब १८ प्रतिशत हिस्सा रहेको छ । नेसनलले १८ अर्ब ९० करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको जेठ महिनासम्म १५ लाख २१ हजार ५ सय २९ वटा सक्रिय बीमा लेख रहेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्र्पोरेसन १७ अर्ब २४ करोड रुपैयाँ संकलन गरेको छ जुन कुल बीमा ११ दशमलब ११ प्रतिशत रहेको छ ।

कुल जीवन बीमा व्यवसायमा हिमालयन लाइफको योगदान झन्डै १० प्रतिशत रहेको छ । ३ वटा जीवन बीमा कम्पनी मर्ज भएर बनेको यो कम्पनीले जेठ मसान्तसम्म ४ लाख ११ हजार ६४ वटा सक्रिय बीमा लेख सहित १५ अर्ब २२ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। पाँचौ नम्बरमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले कुल बीमा शुल्कको ६ दशमलब १० प्रतिशत हिस्सा रहेका छ । कम्पनीले ९ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जीवन बीमा व्यवसायमा शीर्षस्थ ५ कम्पनीले कुल जीवन बीमा बजारको ६५ प्रतिशत हिस्सा ओगटेको तथ्यांकले देखाएको छ ।
जीवन बीमा बजारमा अन्य कम्पनीको हिस्सा एकदमै न्यून रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ५.८ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्सको ५.०७ प्रतिशत, सिटिजन लाइफको ४.०८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.८ प्रतिशत, मेट लाइफको ३.५७ प्रतिशत, आईएमई लाइफको ३.०४ प्रतिशत र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको २.९४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.४१ प्रतिशत गरी पूर्ण जीवन बीमा कारोबार गर्ने १४ वटा कम्पनीको बजार हिस्सा ९९ दशमलब २९ प्रतिशत रहेको छ । लघु जीवन बीमाको कारोबार गर्ने ३ वटा जीवन बीमा कम्पनीले कुल बजारको शून्य दशलब ७१ प्रतिशत मात्रै हिस्सा ओगेटेको छ । ३ वटा लघु बीमा कम्पनीहरुले ११ महिनासम्ममा १६ लाख ६२ हजार ३ हजार ३ सय २६ वटा बीमा लेख बिक्री गरी १ अर्ब ९ करोड ८३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हो । लघु बीमाले सानो रकम मात्रै कभरेज गर्ने हुँदा बीमा लेख संख्या धेरै भए पनि बीमा शुल्क संकलन भने थोरै देखिने गरेको हो ।

प्रथम बीमा शुल्क संकलनमा पनि नेपाल लाइफ अगाडि

नयाँ व्यवसाय बढाउने मामलामा पनि नेपाल लाइफ नै अगाडि देखिएको छ । नेपाल लाइफले ११ महिनको अवधिमा झन्डै ८ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् जुन कुल प्रथम बीमा शुल्कको झन्डै २५ प्रतिशत हुन आउँछ । नयाँ व्यवसायमा भित्र्याउनेमा पनि नेपाल लाइफपछि दोस्रोमा नेसनल लाइफ आएको छ । नेसनलले चालु आवको ११ महिनामा ४ अर्ब ७० करोड ३५ लाख रुपैया प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्रथम बीमा शुल्क संकलनमा सन नेपाल लाइफ सबैभन्दा कमजोर देखिएको छ । कम्पनीले ११ महिनामा ९२ करोड १७ लाख रुपैयाँ मात्रै संकलन गरेको छ ।

वैदेशिक रोजगार बीमा बेच्नेमा सन नेपाल लाइफ अगाडि

नेपाले वैदेशिक रोजगारमा जानेहरुको बीमा अनिवार्य गरेपछि वैदेशिक रोजगार बीमालेखबाट पनि धेरै व्यवसाय हुने गरेको छ । वैदेशिक रोजगार बीमालेख बेचेर जीवन बीमा कम्पनीहरुले ३ अर्ब १९ करोड २६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

वैदेशिक रोजगार बीमा लेख बेच्नेमा सन नेपाल लाइफ अगाडि रहेको छ । कम्पनीले कुल वैदेशिक रोजगार बीमा १४ प्रतिशत एक्लै बिक्री गरेको छ । मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले वैदेशिक रोजगार बीमा लेख बिक्री गरेको छैन भने सबैभन्दा कम वैदेशिक जीवन बीमा लेख बिक्री गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १४ करोड ६८ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक रोजगार वीमा लेख बिक्री गरेको छ जुन कुल कारोबारको ४ दशलब ६० प्रतिशत हो ।

वैदेशिक जीवन बीमालेख बिक्री गर्नेमा लघु बीमा कम्पनीहरुले पनि ठूला जीवन बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गरेको देखिएको छ । ३ वटा लघु जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १३ दशमलब ८० प्रतिशत रहेको छ ।

नवीकरणीय बीमा शुल्क संकलनमा पनि नेपाल लाइफ अगाडि

जीवन बीमा कम्पनीको नियमित नगद भित्रने नवीकरणीय बीमा शुल्क संकलनमा पनि नेपाल लाइफ नै अगाडि रहेको छ । कम्पनीले कुल नवीकरण बीमा शुल्कको २७ दशमलब ३३ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले ११ महिनामा ३१ अर्ब ५९ करोड ५४ लाख रुपैयाँ नवीकरणीय बीमा शुल्क संकलन गरेका थियो । नवीकरणी बीमा शुल्क संकलनमा पनि दोस्रो स्थानमा नेसनल लाइफ र तेस्रोमा हिमालयन लाइफ रहेको छ । सबैभन्दा कम नवीकरण बीमा शुल्क संकलनमा फेरि पनि सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

 

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।