वितरणयोग्य नाफा : लाभाँश वितरणको महत्वपूर्ण सूचक एवं कानुनी आधार

Jun 30, 2025 11:03 AM Merolagani



दिपेश ढकाल

असार महिनाको मध्यतिर आइ पुग्दा नेपालका वित्तीय क्षेत्रहरू उत्साह र प्रतीक्षाले भरिएका छन् । बैंक, जलविद्युत् कम्पनीहरू, बीमा कम्पनीहरू तथा अन्य वित्तीय संस्थाहरू हाल आफ्नो अन्तिम  आर्थिक विवरण  बनाउन व्यस्त छन् ।

लगानीकर्ताहरूका लागि यो समय विशेषरूपमा महत्वपूर्ण हुन्छ, किनभने उनीहरू बोनस शेयर र नगद लाभांशको घोषणाको पर्खाइमा हुन्छन् । नेपालका वित्तीय संस्थाहरू वर्षको लेखापरिक्षण मात्र गर्दै छैनन्, उनीहरू आफ्नो यात्राको एक महत्वपूर्ण उपलब्धि पनि गणना गरिरहेका छन् । लगानीकर्ताहरूका लागि यो प्रतीक्षाको समय आफ्नो लगानीको प्रतिफल प्राप्त गर्ने अन्तिम समय र आशा हो ।

यो सम्पूर्ण प्रक्रियाले वित्तीय संस्था, लगानीकर्ता र समग्र अर्थतन्त्रबीचको आपसी सम्बन्धलाई उजागर गर्दछ, जसले नेपालको समृद्धि र विकासको दिशालाई निर्माण गर्छ । यस प्रक्रियाको केन्द्रमा रहेको महत्वपूर्ण अवधारणा वितरणयोग्य नाफा ( Distributable Profit)  हो  जसले शेयरधनीहरूलाई कति नाफा वितरण गर्न सकिन्छ भन्ने निर्धारण गर्न मद्दत गर्छ । प्रमुख सूचकहरू मध्ये, वितरणयोग्य नाफा कुनै पनि वर्षको लागि सेयरधनीहरूलाई वितरण गरिने बोनसको मात्रा निर्धारण गर्ने एक महत्वपूर्ण तत्व हो ।

वितरणयोग्य नाफा भनेको के हो ?

वितरणयोग्य नाफा भन्नाले कम्पनीले सबै वित्तीय दायित्वहरू जस्तै कर,सञ्चालन खर्च तथा ऐन वा कम्पनीको नियमावली अनुसार अनिवार्य छुट्याइनु पर्ने जगेडा पूरा गरेपछि बाँकी रहने त्यो नाफालाई जनाउँछ, जुन लाभांशको रूपमा शेयरधनीहरूलाई वितरण गर्न सकिन्छ ।

यसले प्रत्यक्ष रूपमा लगानीकर्ताको प्रतिफललाई प्रभाव पार्छ र नियमित आम्दानी खोज्ने लगानीकर्तालाई आकर्षित तथा कायम राख्न सहयोग गर्छ । वितरणयोग्य नाफा, जसलाई वितरणयोग्य सञ्चिति पनि भनिन्छ, कम्पनीको ब्यालेन्स सिटमा देखाइने एउटा रकम हो । यसले सेयरधनीहरूलाई लाभांशकोरूपमा वितरण गर्न मिल्ने नाफाको भागलाई जनाउछ । यो रकम जम्मा गरिएको वास्तविक नाफाबाट जम्मा गरिएको वास्तविक घाटा घटाएर निर्धारण गरिन्छ । हालको अवधिमा कम्पनीले राम्रो नाफा कमाएको भए पनि, त्यो नाफा मात्रले पर्याप्त वितरणयोग्य सञ्चिति उपलब्ध भएको संकेत गर्दैन । अघिल्ला वर्षहरूको घाटा वा अन्य लेखा सम्बन्धी समायोजनहरूले वितरणयोग्य रकमलाई घटाउन सक्छन् ।

नेपाली शेयर बजारमा यसको महत्व

नेपालको प्रगतिशील तर चुनौतीपूर्ण शेयर बजारमा वितरयोग्य नाफाले निम्न चार प्रमुख क्षेत्रमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ । 

१.लगानीकर्ता विश्वास र प्रतिफल

लगानीकर्ताहरूकालागि लाभांश आम्दानीको मुख्य स्रोत हो । वितरणयोग्य नाफा कम्पनीहरूले निरन्तर रूपमा आफ्नो शेयरधनीहरूलाई प्रतिफल दिन सक्ने सुनिश्चितता दिन्छ,जसले लगानीकर्ताको विश्वास बढाउँछ र थप लगानीआकर्षित गर्छ ।

२. वित्तीय अनुशासन र जवाफदेहिता  

कम्पनी ऐन २०६३ अन्तर्गत वितरणयोग्य नाफाको स्पष्ट परिभाषा दिएर कम्पनीहरूलाई पारदर्शी वित्तीय अभ्यास अपनाउन बाध्य बनाइएको छ । यसले कम्पनीहरूलाई वित्तीय अनुशासनमा राख्छ र शेयरधनी तथा नियमनकारी निकायप्रति जवाफदेही बनाउँछ ।

३. कानुनीपालना

कम्पनी ऐन २०६३ ले वितरणयोग्य नाफा निर्धारणका लागि स्पष्ट मापदण्डहरू प्रदान गर्छ । यसले कम्पनीहरूलाई अनिवार्य जगेडा वा आकस्मिक प्रयोजनका लागि छुट्याउनुपर्ने रकम वितरण नगरी सुरक्षित राख्न बाध्य बनाउँछ । यसले शेयरधनीहरूको हितको रक्षा गर्छ ।

४. बजार स्थिरता र विकास

दायित्वपूर्वक वितरण गरिएका लाभांशहरूले शेयर बजारको स्थायित्वमा टेवा पुर्याउँछ । नियमित आय स्रोतले दीर्घकालीन लगानीकर्ता आकर्षित गर्छ र बजारको उतारचढावलाई सन्तुलित राख्दछ ।

कम्पनी ऐन २०६३ र वितरणयोग्य नाफा

नेपालको कम्पनी ऐन २०६३ कम्पनीहरूलाई नियमन गर्ने मूलकानुनी रूपरेखा हो । यस ऐनले वितरणयोग्य नाफाको निर्धारण र वितरणसम्बन्धी विस्तृत प्रावधानहरू समेटेको छ ।

यसअन्तर्गत

  • गणना मापदण्ड

वितरणयोग्य नाफा गणनाको विधिहरू स्पष्ट गरी एकरूपता कायम गरिएको छ, जसमा लेखाप्रणाली, अनिवार्य जगेडा र अन्य छुट्याइने रकमको व्यवस्था समावेश गरिएको छ।

  • अनिवार्य जगेडा 

लाभांश वितरण गर्नु अघि राख्नुपर्ने अनिवार्य जगेडाहरू ऐनले निर्दिष्ट गरेको छ, जसले ऋणदाता सुरक्षा तथा वित्तीय अनुशासन सुनिश्चित गर्छ।

  • लाभांश वितरण मार्गदर्शन

शेयरधनीहरूको अपेक्षा अनुरूप जिम्मेवारीपूर्वक लाभांश वितरण गर्ने स्पष्ट मापदण्डहरू ऐनमा उल्लेख गरिएका छन्।

  •  प्रकाशन अनिवार्यता 

कम्पनीहरूले आफ्नो वितरणयोग्य नाफाको विवरण तथा लाभांश नीतिहरू वित्तीय विवरणमा पारदर्शी रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले बजारमा विश्वास बढाउँछ ।

  • कम्पनीहरूको लागि यसको प्रभाव

नेपालमा सञ्चालित कम्पनीहरूको लागि वितरणयोग्य नाफा सम्बन्धी कानुनी प्रावधानहरूको पालनागर्नु अत्यन्तआवश्यक छ ।

  • जोखिमन्यूनीकरण

ऐनको पालना गरेर कम्पनीहरूले लाभांश वितरण सम्बन्धी कानुनी तथा वित्तीय जोखिमन्यूनीकरण गर्न सक्छन् ।

  • उत्कृष्ट कर्पोरेट सुशासन

पारदर्शिता,जवाफदेहिता र निष्पक्षता सुनिश्चित गरेर राम्रो कर्पोरेट सुशासन अभ्यास विकास गर्न सहयोग गर्छ ।

  • लगानीकर्ता विश्वास र बजार प्रतिष्ठा 

कानुनी मापदण्ड अनुसार वितरण गर्दा लगानीकर्ताको विश्वास बढ्छ, जसले कम्पनीको बजार प्रतिष्ठा र लगानी आकर्षणमा सहयोग पुर्याउँछ ।

निष्कर्ष
नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत वितरणयोग्य नाफा कुनै साधारण वित्तीय सूचक मात्र होइन,यो कर्पोरेट सुशासन र नियामकीय पालनको आधारशीला हो । ऐनमा उल्लिखित प्रावधानहरूको पालना गरेर कम्पनीहरूले दीर्घकालीन विकास, बजार स्थायित्व र लगानीकर्ता सन्तुष्टि सुनिश्चित गर्न सक्छन् । यसले नेपाललाई आन्तरिक तथा वैदेशिक लगानीकर्ताहरूका लागि आकर्षक बजारको रूपमा स्थापित गर्न योगदान पुर्याउँछ । नेपालको अर्थतन्त्र विकासको क्रममा रहँदा वितरणयोग्य नाफाको भूमिका अझ सशक्त हुँदै जाने निश्चित छ,जसले कम्पनीहरूको भविष्य र समग्र शेयर बजारको दिशा निर्धारण गर्नेछ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।