कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM Merolagani



कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तर, अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको कारण बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको हो। यद्यपि, गत आर्थिक वर्ष प्रकाशित बैंकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य अर्थात २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो।

बैंकले २०८१ असार मसान्तसम्मको तथ्यांकमा इम्पेरमेन्ट चार्ज परिवर्तन गरेका कारण यस्तो हुन पुगेको हो। गत वर्ष प्रकाशित विवरणमा २०८१ चौथो त्रैमाससम्ममा बैंकको इम्पेरेमन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ थियो। जुन अहिले प्रकाशित वित्तीय विवरणमा ६ अर्ब ८४ करोड रुपैयाँ उल्लेख गरिएको छ।

नाफा जस्तै प्रतिशेयर आम्दानी पनि उल्लेख्य वृद्धि देखिएको छ। हाल प्रकाशित वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ। यद्यपि, गत आर्थिक वर्ष प्रकाशित विवरणमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८० पैसा थियो।

बैंकले गत वर्ष प्रकाशित गरेको असार मसान्तसम्मको खुद नाफा र प्रतिशेयर आम्दानीसँग यस वर्षको नाफा र प्रतिशेयर आम्दानी तुलना गर्ने हो भने समीक्षा अवधिमा यी दुबै घटका छन्।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।