'वाइन'को स्वाद किन फेरिएको छ, के त्यसमा गलत खाद्य पदार्थको मिसावट गरिएको त छैन ?

Aug 29, 2025 06:22 AM Merolagani



सर्वविदितै कुरा हो, जलवायु परिवर्तनले विश्वभर नै असर पारिरहेको छ । त्यहीक्रममा पछिल्लो समय त्यसको असर अंगुर उत्पादनमा चरम रुपमा परेको छ र साथै त्यसले विश्वकै वाइन उद्योगहरुले यस अघि कहिल्यै अनुभव नगरेको समस्यामा पारेको छ । त्यो समस्या हो-स्वादको समस्या ।

हो, स्वादको समस्या ।

जलवायु परिवर्तनको कारण वाइनको स्वादमा समस्या सृजना भएको छ र त्यसलाई मिलाउन वाइन उद्योगहरुलाई हम्मेहम्मे परिरहेको छ । धेरै ग्राहकले ‘वाइनको स्वाद किन फेरिएको छ, के त्यसमा गलत खाद्य पदार्थको मिसावट गरिएको त छैन ?’ भन्दै प्रश्न गरिरहेका छन् । र, त्यो प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसक्दा वाइन उद्योगहरु हैरान भएका छन् । किनकी जलवायु परिवर्तनको कारण अंगुरमा आएको परिवर्तनको असर वाइनको स्वादमा परिरहेको भन्दा धेरैले पत्याउँदैनन् । उद्योगले नै नियोजित रुपमा कुनै पदार्थ मिसावट गरेको आंशका उनीहरुमा रहेको हुन्छ । तर, वास्तविकता भने फरक छ ।

वाइनको मुख्य कच्चा पदार्थ अंगुर हो । विश्वभरको जलवायु परिवर्तन अर्थात तापक्रम वृद्धिले अंगुरको समग्र उत्पादन प्रकृया नै परिवर्तन गरेको छ । अंगुरको स्वादमै पनि परिवर्तन ल्याएको छ । त्यसको असर वाइनमा परेको छ ।

उदाहरणको लागि क्यालिफोर्नियाको प्रसिद्ध नापा उपत्यका क्षेत्रमा रहेको केन भाइनयार्ड एण्ड वाइनरीमा वाइन बनाउने काम गर्ने (वाइन मेकर) क्रिस होवेलको भनाइलाई लिन सकिन्छ । सन् १९९१ देखि वाइन मेकरको काम गरिरहेका उनी बढ्दो तापक्रमका कारण वाइनको स्वाद व्यवस्थापन गर्न निकै चुनौति भएको बताउँछन् । ‘जलवायु परिवर्तनले सृजना गरेको चुनौति यति कडा छ कि त्यसले समग्र वाइन उद्योगको भविश्य कसरी अगाडि बढ्ला भन्ने प्रश्न खडा गरेको छ,’ उनी भन्छन् ।

उनका अनुसार मौसम परिवर्तनको ‘प्यार्टन’ नै अन्त्यन्त जटिल बनेको छ,अंगुर उत्पादनको बेला कहिले गर्मी हवात्तै बढ्छ र ५० डिग्रीको हाराहारीमा पुग्छ, कहिले गर्मी हवात्तै घटेर तल झर्छ । यो समयमा यति गर्मी हुन्छ भन्नै नसकिने भयो, त्यसले अंगुर उत्पादनको प्रकृयामै असर पारिरहेको छ । जब अंगुर उत्पादनको प्रकृया, फलको आकार र स्वादमा फरक पर्छ, वाइन उद्योग सोझै प्रभावित हुन्छ ।

अहिले त्यही भइरहेको छ ।

बढ्दो गर्मीको अर्काे खतरा आगलागी हो । अमेरिकाकै अंगुर उत्पादनको ‘हब’ मानिने नापा उपत्यकामा सन् २०१७ मा अंगुर फार्महरुमा भएको आगोलागीले धेरैवटा फार्महरु ध्वस्त भएका थिए, त्यसको असर त्यो वर्ष मात्र नभएर अर्काे वर्ष पनि परेको थियो । अर्काे वर्ष अर्थात् सन् २०१८ र २०१९मा फलेका अंगुरहरुमा समेत धुँवाको गन्ध आइरहेको थियो । त्यसको असर वाइन उद्योगहरुमा पनि पर्यो । तिनीहरुको गन्ध पनि कुनै वस्तु डढेको जस्तो आइरहेको थियो ।

जलवायु परिवर्तनले वाइन उद्योगहरुमा परेको यस्तो असर केवल अमेरिकामा मात्र छैन,विश्वमै वाइनको राजधानी मानिने ‘फ्रान्स’देखि इटाली, अर्जेण्टिनादेखि अष्ट्रियासम्मका वाइन उद्योगहरुमा परिरहेको छ । त्यसो भन्नुको अर्थ विश्वकै वाइन उद्योगहरु यतिबेला जलवायु परिवर्तनले सृजना गरेको ‘स्वादको लडाई’मा परिरहेका छन् । यसबाट उनीहरु कसरी निस्केलान् वा उपभोक्ताहरु नै जर्वजस्त रुपमा वाइनको ‘मन नपरेको स्वाद’मा अभ्यस्त होलान् वा विश्वमा वाइनको खपतमै कमी आउला ? यस्को जवाफ भने अहिलेलाई कसैसँग छैन ।




बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Sep 01, 2025 06:02 AM

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।