सन् २०२५ मा विश्वका ७० देशमा सरकार विरोधी युवाहरुको उग्र प्रदर्शन, किन यति धेरै विरोध गर्छन् ?

Apr 30, 2026 10:50 AM mero lagani



सन् २०२५ सकिन एक साता बाँकी छ । र, यदि आउँदो एकसातालाई विर्सने हो भने सन् २०२५ आन्दोलन र विद्रोहको वर्ष बन्यो । 

सन् २०२५ को जनवरी १ देखि यता डिसेम्बर तेस्रो सातासम्म ११ महिना ३ साताको अवधिमा विश्वका ७० देशमा १२८ वटा सरकारविरोधी आन्दोलन भए ।

ग्लोबल प्रोटेस्ट ट्याकरकाअनुसार नोभेम्बर १, २०२५ मा विश्वभर ३५ देशमा सरकार विरोधी उग्र खालको प्रदर्शनहरू भएका थिए । जसरी कुनै एक वर्षको अवधिमा त्यति धेरै देशमा सरकार विरोधी प्रर्दशनहरु भडकिनु विश्वको राजनीतिक इतिहासमा आफैमा एक रेकर्ड थियो भने नोभेम्बर एकमा भएका ३५ वटा देशका सरकार विरोधी प्रदर्शनहरु अर्काे रेकर्ड थिए ।

एसियादेखि अफ्रिका, युरोप र अमेरिकासम्म संसारभर विरोधका लहर उठिरहेका छन् । यी आन्दोलनहरूमा भाग लिने अधिकांश व्यक्तिहरू युवा छन् । उनीहरूका आन्दोलनका मुद्दा र एजेण्डाहरू पनि उस्तै उस्तै छन् (सुशासन कायम हुनु पर्ने, भ्रष्टाचारको विरुद्ध सून्य सहनशिलता, महंगी नियन्त्रण र रोजगारी सृजना)आदी इत्यादी ।

 

देश र ठाउँअनुसार कतिपय माग र एजेण्डाहरु थप पनि देखिएका छन् । तर, संसारभर नै भएका प्रर्दशन र विद्रोहका मुख्य माग र एजेण्डाहरु तिनै हुन् ।

जब हामी संसारभरि भइरहेका विरोध प्रदर्शनको एजेन्डा र संरचनालाई हेर्छौं, एउटा फराकिलो चित्र देखा पर्दछ । यी आन्दोलनहरू नेतृत्वका हिसाबले अनौपचारिक छन् र विशुद्ध मुद्दामा आधारित छन् । बरु, यी आन्दोलनहरूले समाजका घटनाहरु र जनताका विभिन्न प्रश्नहरूबाट ऊर्जा लिइरहेका छन् र युवाहरूले अगाडि बढाइरहेका छन्।

विश्वको इतिहासमा पहिलो पटक युवाहरूको जनसंख्या सबैभन्दा बढी भएको समयमा यस्तो अवस्था स्वाभाविक देखिन्छ । अमेरिकी अन्तर्राष्ट्रिय सहायताका लागि नियोगकाअनुसार हाल विश्वमा १० देखि २९ वर्ष उमेर समूहका करिब २ अर्ब ४० करोड युवा छन्, जुन विश्वको कुल जनसंख्याको झण्डै ३५ प्रतिशत हो ।

युनिसेफको रिपोर्टअनुसार प्रदर्शनमा भाग लिन इच्छुक मानिसहरूको अनुपात सन् १९९० को दशकपछि सबैभन्दा उच्च स्तरमा पुगेको छ र सोही अवधिमा विरोध प्रदर्शनको संख्या पनि बढेको छ।

रिपोर्टका अनुसार युवाहरूको नेतृत्वमा भएका यी प्रदर्शनहरू व्यापक जनसमर्थनमा आधारित छन् र उनीहरूको कुनै औपचारिक नेतृत्व छैन । यी अधिक अनौपचारिक राजनीतिक क्षेत्रहरूमा भइरहेका छन् र उनीहरूको एजेन्डामा स्पष्ट परिवर्तन भएको छ ।

२००० को दशकको शुरुवातमा उदारीकरणको विरोधदेखि पछि जलवायु न्याय, खाद्य र ऊर्जा मुद्रास्फीतिसम्म आन्दोलनहरु केन्द्रित हुन्थे । तर अहिले युवा आन्दोलन शासन परिवर्तनको प्रत्यक्ष मागमा, बढ्दो असमानता र सीमान्तीकरणको भावनामा केन्द्रित रहेका छन् ।

बंगलादेश र नेपालजस्ता देशमा सन् १९९० को दशकदेखि सत्ता परिवर्तनलाई लक्षित गर्दै युवा आन्दोलन बढेको एक अध्ययनले देखाएको छ । चाखलाग्दो कुरा के छ भने, यस्ता विरोधहरू गरिब, विकासशील र विकसित गरी तीनवटै प्रकारका देशमा सामान्य बन्दै गएका छन् ।

धेरै अवस्थामा, स्थानीय मुद्दाहरूमा सुरु भएका आन्दोलनहरू छिमेकी देशहरूमा फैलियो । उदाहरणका लागि, सन् २०१० को दशकमा अरब स्प्रिङ ट्युनिसियामा आर्थिक कठिनाइहरूको बिरूद्ध प्रदर्शनबाट सुरु भयो, जुन पछि इजिप्ट, लिबिया, सिरिया र यमनमा फैलियो । र, ती सबै देशमा सरकारहरु ढाल्यो ।

करिब ३० वर्षअघि संयुक्त राष्ट्र संघको सामाजिक विकाससम्बन्धी विश्व शिखर सम्मेलनले जनतालाई विकासको केन्द्रमा राख्नुपर्ने प्रस्ताव पारित गरेको थियो । त्यसअघि झण्डै दुई दशकसम्म विश्वले नवउदारवादी नीतिले आर्थिक वृद्धि बढाउने, गरिबी घटाउने र समानता ल्याउने विश्वास गर्दै अन्धाधुन्ध अनुसरण गरेको थियो । तर, पछि त्यो नीतिले काम नगरेको स्वीकार गरियो । बरु असमानता गहिरिँदै गयो र फलस्वरूप, विरोध र असन्तुष्टि संसारभरि फैलियो। यस शिखर सम्मेलनमा पहिलो पटक विश्वले बहुसंख्यक जनताले भोग्नु परेको अभाव र यसका पीडादायी परिणामहरूलाई उजागर गर्यो ।


युवाहरू किन बारम्बार र यति धेरै विरोध गर्छन् ?

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागको वर्ल्ड सोसल रिपोर्ट २०२५ अनुसार थुप्रै मानिसहरू ५० वर्षअघिको भन्दा आजको जीवन दयनीय छ भन्ने विश्वास गर्छन्। जीवन सन्तुष्टिबारे गरिएको सर्भेक्षणमा ६० प्रतिशतले आफूलाई संघर्षशील र १२ प्रतिशतले संकटमा रहेको बताएका थिए।

विश्वको दुई तिहाइ जनसंख्या असमानता बढेका देशमा बस्छन् । चरम मौसम जस्तो कुनै पनि अचानक घटनाले उनीहरूलाई गरिबीको रेखामुनि धकेल्न सक्छ। विश्व बैंकका अनुसार विश्वका हरेक पाँचौ व्यक्ति जलवायु प्रकोपको जोखिममा छन् ।

विश्वमा यतिबेला युवाको जनसंख्या इतिहासमै सबैभन्दा बढी छ । यस्तोमा विकास र भविष्यको अनिश्चितताबाट टाढा रहनु युवाका लागि सबैभन्दा ठूलो खतरा बन्छ । आन्दोलन बढ्नुका पछाडि दुई प्रमुख कारण छन् । समाजमा बढ्दो बहिष्करण (एक्लोपन) को भावनाले ध्रुवीकरणलाई जन्म दिन्छ, र लोकतान्त्रिक संस्थाहरूको अप्रभावकारिता बढाउँछ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागको (डीईएसए) रिपोर्टअनुसार संसारको आधाभन्दा बढी जनसंख्यालाई आफ्नो सरकारमाथि थोरै वा कुनै भरोसा छैन । यो विश्वासको कमीले युवाहरूको आक्रोश बढाउँछ । प्रश्न उठ्छ, यस्ता के–कस्ता विषयले युवालाई यति ठूला आन्दोलनको नेतृत्व गर्न प्रेरित गर्छन् ? २१ औं शताब्दीको प्रारम्भमा विश्वव्यापीकरणको विरोधमा ठूलो विरोध प्रदर्शन भयो । यसपछि आर्थिक कठिनाइहरू विरुद्ध आक्रोश उत्पन्न भयो र हालका वर्षहरूमा लोकतन्त्र र स्वतन्त्रताको माग एक प्रमुख मुद्दा बन्यो । जलवायु न्याय पनि विस्तारै विश्वव्यापी स्तरमा परिचालनको लागि एक महत्त्वपूर्ण कारण बनिरहेको छ। हालैका वर्षहरूमा, विशेष गरी महामारी पछि, जीवनयापनको बढ्दो लागतको संकट सबैभन्दा ठूलो ट्रिगरको रूपमा देखा परेको छ ।

यी आन्दोलनहरू वा हिंसात्मक घटनाहरू मध्ये अधिकांश मुद्रास्फीति, ऊर्जा लागत, र खाद्य संकटसँग सम्बन्धित थिए, र युवाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण थियो।

अनुसन्धानकर्ताहरूले युवाहरू किन यति धेरै रिसाउँछन् र आफ्नो उत्तेजना सडकमा पोख्छन् , भनेर बुझ्ने प्रयास गरिरहेका छन् ।

 

धेरैले यसलाई अहिलेको विश्वव्यापी विकास मोडेलले यो पुस्ताको आकांक्षा पूरा गर्न नसकेको संकेतका रूपमा हेरेका छन् । त्यसैले यी विरोधहरू नयाँ विकास मोडेलको माग हो जुन अझै स्पष्ट रूपमा परिभाषित वा विकसित भएको छैन । केही वर्ष पहिले, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले युवाहरूमा बढ्दो असहजताको उल्लेख गर्दै भनेको थियो—सबै प्रकारका युवा रोजगारीको संकट केवल सुस्त आर्थिक वृद्धिसँग सम्बन्धित अस्थायी घटना होइन। ठोस नीतिगत परिवर्तन गरिएन भने यो संरचनात्मक प्रवृत्ति बन्न सक्छ ।

कसैकसैले यस्ता प्रदर्शनहरूलाई युवाहरूको राजनीतिक सोच वा राजनीतिक झुकावको प्रतिबिम्ब ठान्छन् । त्यो एउटा कारण हो नै, तर त्यो भन्दा ठूलो कुरा प्रविधिले युवाहरुमा ल्याएको हलचल र छिटो पैसा कमाएर मस्तको जीवन विताउने तीब्र चाहाना हो । जब त्यो चाहानामा आफ्नो देशको सरकार वा कुनै पक्षले अवरोध गरिरहेको महसुस गर्छ, तब युवा सबैभन्दा पहिले सामाजिक संजालमा आक्रोस पोख्छ र त्यसको केही समयमा सडकमा पुग्छ । विश्वभरको युवा विद्रोहको स्वरुप यही बनेको छ ।

सरकार विरोधी प्रदर्शनका कारण धेरै देशमा सरकारहरु ढले, कतिपय देशहरुमा सरकारहरु रक्षात्मक बने र युवाको आवाजलाई सम्वोधन गर्ने आश्वासन दिए । तर, परिणाम के भइरहेको छ ? के साँच्चै युवा विद्रोहले सार्थकता पाइरहेको छ ? पाइरहेको छैन भने सन् २०२६ को अवस्था के होला ? अहिलेलाई भने यसै भन्न सकिन्न ।