सगरमाथा लुम्बिनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई प्राधिकरणले तिरायो नगद जरिवाना

May 07, 2026 01:21 PM Merolagani



नेपाल बीमा प्राधिकरणले नियामक निर्देशनहरूको बर्खिलाप गर्ने एक बीमा कम्पनी र एक पुनर्बीमा दलाललाई नगद जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणद्वारा जारी सूचनाअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई बीमा ऐन, २०७९ को प्रावधानअनुसार कारबाही गरिएको हो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले (SALICO)  सम्पत्ति बीमा निर्देशिका, २०८० को दफा २५ (२) विपरीत कार्य गरेको भन्दै प्राधिकरणले बीमा ऐनको दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। यो पहिलो पटकको गल्ती भएकाले ऐनको सोही व्यवस्थाअनुसार न्यूनतम जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) को व्यवस्था पालना नगरेको पाइएको छ। यसवापत प्राधिकरणले सो कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड (क) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले दुवै संस्थालाई २०८३ वैशाख १५ गतेको निर्णयअनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।