प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपासँग सहयोग माग्नुभएको र प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने भनेसँगै आफूहरुले संविधानले दिएको प्रधानमन्त्रीको अधिकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले छलफलमा प्रधानमन्त्रीले पछिल्लो परिस्थितिको समग्र विश्लेषण गरेका थिए । उनले आफूले संवैधानिक अधिकारको प्रयोग गर्ने र त्यसमा रास्वापको सहयोग चाहिने बताएपछि छिटो विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।
‘रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने भनेर हामी प्रधानमन्त्री कहाँ आएका थियौँ । सम्माननीय प्रधानमन्त्रीले छलफल गर्नुपर्यो भन्नुभयो । हामीले कुरा गर्यौँ । पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो । प्रधानमन्त्रीज्युले राजनीतिक घटनाक्रम जसरी बढेको छ, त्यसमा संवैधानिक अधिकारको प्रयोग गर्छु । जनताका प्रतिनिधिहरुले मलाई प्रधानमन्त्री बनाएका हुन्, संसदलाई जवाफ दिनुपर्छ भनेपछि मलाई साथ दिनुपर्छ भन्नुभयो । उहाँको संवैधानिक अधिकारको समर्थन गर्दै, चाँडै विश्वासको मत लिन आग्रह गर्दै उहाँलाई संसदलाई फेस गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौँ,’ उनले भने ।
प्रमुख सचेतक परियारले अहिलेको परिस्थिति रास्वपाले राम्रो काम गरेका कारणले आएको बताए ।