लगानीकर्ताकाे नजर ‘लो भ्यालु’ कम्पनीमा, नेप्से उच्च गतिले बढ्दा पनि अझै १० वटा कम्पनीको शेयर मूल्य २ सय मुनि

Jul 21, 2024 10:35 AM Merolagani


एमाले कांग्रेस मिलेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने सहमति गरेसँगै नेप्से परिसूचक एकोहोरो गतिमा बढिरहेको छ । प्रचण्ड सरकार ढलेर ओली सरकार बन्ने र त्यसको अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै बढ्न थालेको शेयर बजारमा कारोबार रकम समेत १५ अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।

गत असार १६ गते २०३७ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार साउन ३ गतेसम्म १९ प्रतिशतले बढेर २४ सय २४ विन्दुमा पुगेको छ । शेयर बजारका १२ वटा समूहमध्ये सबैभन्दा धेरै घटेको, सबैभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीहरु रहेको वाणिज्य बैंक समूह नै यसपटकको स्वीङमा सबैभन्दा धेरैले बढेकाे छ । वाणिज्य बैंकलाई क्रमशः विकास बैंक, व्यापार, जीवन बीमा, होटल, लगानी, इन्भेष्टमेन्ट, हाइड्रोपावर, माइक्रोफाइनान्स, ननलाइफ इन्स्योरेन्स, फाइनान्स, अन्य र उत्पादनमूलक समूहले वाणिज्य बैंक समूहलाई पछ्याइ रहेको छ । छोटो अवधिमा सबैभन्दा धेरै वाणिज्य बैंक समूह बढेको छ भने सुस्त गतिमा म्युचुएल फन्ड बढेको छ ।

१८ सयदेखि २२ सयको लामो समयको साइडवेजलाई अप्पर ब्रेकआउट दिइसक्दा अझै पनि १० वटा कम्पनी भने २ सय रुपैयाँ भन्दा तलकै मूल्यमा कारोबार भइरहेका छन् । कारोबार गर्दा कहिले लो क्याप कम्पनी, कहिले लो भ्यालु कम्पनी त कहिले राइट शेयर आउने कम्पनी गरी अनेक हल्ला गरेर बजार भाउ प्रभावित हुने गरेको छ । बजार बढाईको शुरुवातमा ‘लो क्याप’ कम्पनीलाई लगानीकर्ताहरुले एक चरण ट्रेड गरेर उच्च विन्दुमा पुर्याए । अहिले विशेषगरी फाइनान्स समूहका प्रायः कम्पनीहरु ५ सय रुपैयाँभन्दा माथिको मूल्यमा कारोबार भइरहेका छन् । पछिल्लो समय भने ‘लो क्याप’ कम्पनीको ट्रेन्ड परिवर्तन भएर ‘लो भ्यालु’ कम्पनीमा परिवर्तन भएको एक ब्रोकरका सञ्चालकले बताए । त्यसैको उदाहरण स्वरुप पछिल्लो समय निफ्रा, अपर तामाकाेशीजस्ता हाइ क्याप कम्पनीहरुसँगै अपि, अरुण काबेली, रिडीजस्ता कम्पनीहरु २ सय माथि पुगिसकेका छन् । अझै पनि छानी छानी ‘लो भ्यालु’ भएका कम्पनीहरुको मूल्य बढ्ने क्रम जारी छ ।

बिहीबारको कारोबारमा अधिकांश वाणिज्य बैंकको मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । वाणिज्य बैंक समूहका कम्पनीहरु ‘हाइ क्याप’ र ‘लो भ्यालु’ प्रकृतिका छन् । बिहीबार अधिकांश वाणिज्य बैकसँगै अन्य हाइड्रोपावर समूह र लगानी समूहका पनि सस्ता कम्पनीहरुमा लगानीकर्ताको चार्म देखिएको थियो । बिहीबार बजार बन्द हुँदा २ सय भन्दा तल्लो विन्दुमा कारोबार भएका १० कम्पनीको सूची मेरो लगानीले तयार पारेको छ ।

नेप्से परिसूचक १९ प्रतिशतले बढ्दा अझै पनि ३ वटा वाणिज्य बैंक, ६ वटा हाइड्रोपावर र १ वटा लगानी समूहको कम्पनी २ सय रुपैयाँ भन्दा तल्लो मूल्यमा कारोबार भइरहेको छ । बैंक समूहभित्र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कुमारी बैंक तथा हाइड्रोपावर समूहभित्र हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र आँखुखोला हाइड्रोपावर एवम् लगानी समूहको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको शेयर २ सय रुपैयाँ भन्दा मुनि कारोबार भइरहेको छ ।

२ सय रुपैयाँ भन्दा मुनि कारोबार भए पनि वाणिज्य बैंकको शेयर मूल्य भ्यालु इन्भेष्टिङको हिसाबले अन्डर भ्यालुड नै देखिन्छ । नेटवर्थ १ सय ३६ देखि १ सय ७२ रुपैयाँसम्म रहेको वाणिज्य बैंकको शेयर २ सय रुपैयाँ मुनि पाउनुलाई एकदमै सस्तै मान्नुपर्ने एक पुराना लगानीकर्ताले मेरो लगानीलाई बताए । उनले वाणिज्य बैंकको शेयर कम्तिमा पनि ५ सय रुपैयाँको हाराहारीमा कारोबार हुनुपर्ने दाबी गरे । नेप्सेले नयाँ आइपीओ आउँदा कम्पनीको नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज तोक्ने गर्दछ । सोही आधारमा पनि वाणिज्य बैंकको शेयर ४ सय रुपैयाँभन्दा माथि नै कारोबार हुनुपर्ने उनले बताए। वाणिज्य बैंकको प्रति शेयर आम्दानी पनि सकारात्मक नै देखिन्छ ।

२ सय मुनि कारोबार भइरहेको ६ वटा हाइड्रोपावरमध्ये नेशनल हाइड्रोपावर कम्पनीको मात्रै नेटवर्थ १ सय रुपैयाँ माथि छ । हाइड्रोपावर सेक्टरका प्रायः कम्पनीको नेटवर्थ कमजोर रहनुका साथै प्रति शेयर आम्दानी समेत नकारात्मक नै देखिन्छ । देश मन्दीमा रहेको बेला बैंकको व्याज दर उच्च रहेको तथा प्रायः हाइड्रोपावर कम्पनीले हकप्रद शेयर शेयर निष्काशन गरेकाले पनि वित्तीय अवस्था केही कमजोर देखिएको हो ।

२ सय मुनि कारोबार हुने लगानी समूहको एउटै मात्रै कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी रहेको छ । बिहीबारको कारोबार अनुसार उक्त कम्पनीकाे शेयर १ सय ९३ रुपैयाँमा कारोबार भयो ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM 0

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।