सङ्खुवासभाका प्रत्येक घरलाई पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरहेको उर्जामन्त्री खड्का खुलासा

Sep 10, 2024 11:13 AM Merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाका प्रत्येक घरलाई पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरहेकाे खुलासा गरेका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा मंगलबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे खुलासा गरेका हुन । उनले गरिब तथा विपन्न जनतालाई शेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्ने गरी लागिने स्पष्ट पारे ।

यसैगरी, उनले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् ।ऊर्जामन्त्री खड्काले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए ।

“गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु”, उनले भने ।

मन्त्री खड्काले समृद्ध सङ्खुवासभा निर्माणका लागि यहाँभित्रका जलस्रोतको अधिकतम् उपयोग गर्नुपर्ने उल्लेख गरे । उनले जिल्लाभित्र आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको बताए । उनले कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले भने,“निजी क्षेत्रलाई साथमा लिएर मुलुकको ऊर्जा क्षेत्रको विकासमा लागिने छ, सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छ , उक्त लक्ष्य पूरा सरकार कटिबद्ध भएर लागिरहेको छ, समृद्ध मुलुक निर्माणका लागि आन्तरिक खपत बढाउँदै बाँकी रहेको विद्युत् विदेशमा निर्यात गरिने छ ।”

उनले आर्थिक रूपमा विपन्न परिवारलाई मूलधारमा ल्याउन सकेमात्र हामीले खोजेको समृद्धि हासिल गर्न सकिने बताए । उनले भने, “मुलुकको आर्थिक क्षेत्रको भरपर्दो माध्याम ऊर्जा क्षेत्र हो, यसको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गर्ने छ ।”

ऊर्जामन्त्री खड्काले सिँचाइसँगै विद्युत् उत्पादनलाई अगाडि बढाइएको जनाउँदै सरकारी अस्पताल, विद्यालय, खानेपानी, सिँचाइको क्षेत्रमा विद्युत् सहुलियत दिनसके जनतालाई सहयोग पुग्ने बताए । “जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई बिक्री गर्दा खोलानाला बेचियो भन्ने गलत भाष्य सृजना गरिएको छ, यसलाई चिर्नु जरुरी छ”, उनले भने ।

मन्त्री खड्काले छिटो–छरितो कार्यसम्पादन गर्ने भन्ने प्रधानमन्त्रीको निर्देशन भएकाले मन्त्रालयले सोहीअनुरुप कार्यसम्पादन गरेको उल्लेख गरे । उनले ट्रकलाइन र डेडिकेटेड विद्युतका क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने बताए । “व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ”, उनले भने ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।