टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM Merolagani



शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।

“शेयर बजारमा सिजनल रुपमा आउने टुरिस्ट लगानीकर्ता अहिले निस्किन थालेका छन्। उनीहरू निश्चित मुनाफा लिएर बजारबाट बाहिरिएका छन्। अझै यस अघि फसेका लगानीकर्ताले समेत केही हदसम्म बढेको बजारबाट पैसा झिक्न सफल भए। बजार फर्कन शेयर बेचेको पैसा लिएर बाहिरिएका लगानीकर्ताको पुन: प्रवेश हुन आवश्यक छ ” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानी सँग भने।

उनका अनुसार अहिले आम सर्वसाधारण लगानीकर्ताले चाडबाड भन्दै शेयर बिक्री गरेर पैसा लगिरहेका छन्। तर नियमित रुपमा शेयर कारोबार गर्नेले भने बजारमा अझै सम्भावना खोजिरहेका छन्। उनीहरू घटेको बेलामा थोरै थोरै शेयर किन्दै छन्। यसै बिच केही संस्थागत लगानीकर्ताले समेत बिस्तारै आफ्नो उपस्थिति देखाउन थालेका छन्। तर उनीहरूको उपस्थितिले मात्रै बजार माथि लैजान सम्भव छैन। शेयर बजार तीव्र गतिमा बढ्न आम सर्वसाधारणले बजारबाट पैसा लैजान बन्द गर्नु पर्छ। यस अघि दोस्रो बजारमा शेयर बिक्री गरेको पैसा कम मात्रै बाहिर जाने गरेकोमा अहिले भने त्यो क्रम बढेको छ। जबसम्म शेयर बिक्री गरेको पैसा पुन: शेयर किन्नमा  प्रयोग हुँदैन। तबसम्म शेयर बजार उठ्न गाह्राे छ।

आम सर्वसाधारणले शेयर बिक्री गरेको पैसा बाहिर जानुको प्रमुख कारण भनेको अहिले दोस्रो बजारमा फैलिएको नकारात्मक हल्लाले बढी काम गर्न थालेको बताइएको छ। “अहिले दोस्रो बजारमा सरकार परिवर्तन हुन सक्ने भन्ने व्यापक हल्ला छ। काँग्रेसले एमालेलाई पूर्ण रुपमा सहयोग नगरेको र कुनै पनि दिन यो सरकार ढल्न सक्ने भन्दै व्यापक हल्ला फिँजाइएको छ। जसको असर आम सर्वसाधारण शेयर धनीमा पर्न थालेको छ। सोही कारण शेयर बजार घटिरहेको हो” ती ब्रोकरले भने।

अझै दोस्रो बजार माथि जाने भन्दा पनि शेयर बजार अझै घट्छ भन्ने मानसिकता लगानीकर्तामा देखिन्छ। किनकि दिनभरि जसो केही सम्हालिन खोजेको बजार कारोबारको अन्तिम समयमा आएर प्रेसरमा आउने क्रम अझै जारी छ। खासगरी लगानीकर्तामा बजार बढ्छ भन्ने विश्वास कम हुँदै गएको कारण अन्तिम समयमा सेलिङ प्रेसर देखिएको विश्लेषण गर्न थालिएको छ।

यति बेला शेयर किन्ने भन्दा बेच्ने बढी  फाइदामा देखिन थालेका छन्। जबकि यस अघि बढ्दो बजारमा शेयर बिक्री गर्ने भन्दा बढी शेयर किन्ने फाइदामा हुने गरेका थिए। जसले गर्दा पनि दोस्रो बजारमा व्यापक मोलमलाई हुन थालेको छ। शेयर किन्नेले पनि मूल्य बढाएर शेयर किन्ने आँट गरिरहेका छैनन्। उनीहरूले मागेकै मूल्यमा शेयर पाउने स्थिति भएकोले पनि बजार घट्दो लयबाट बौरिन नसकेको हो। शेयर मागेकै मूल्यमा पाउन नछाडुन्जेल शेयर बजार नफर्किनेसम्मकाे विश्लेषण हुन थालेको छ। तर त्यो क्रम कहिले समाप्त हुन्छ भन्ने यकिन कसैले गर्न सकिरहेका छैनन्।




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।