मौद्रिक नीति पछि अटो र घरजग्गा लोन अलिकति बढेको छः सानिमा बैंकका सिइओ पाण्डेकाे अन्तरवार्ता

Sep 13, 2024 05:16 PM merolagani



नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षकाे नाफाबाट धमाधम लाभा‌ंश वितरण गर्न थालेका छन् । लाभांश घाेषणा गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएकाे छ । 

 

कुल १९ वाणिज्य बै‌ंक मध्ये एभरेष्ट बै‌ंकले मात्र अहिलेसम्म लाभांश घाेषणा गरेकाे छ । सानिमा बै‌ंकले पनि लाभांश घाेषणा गर्ने तयारी गरिरहेकाे छ । 

पछिल्लाे समय बैंकमा ऋण लिन आउनेकाे संख्या पनि बढ्न थालेकाे बै‌ंकरहरु बताउँछ । अटाे र घरजग्गामा ऋणकाे माग बढी आइरहेकाे छ ।

बै‌ंकले दिन सक्ने लाभा‌ंश क्षमता, ऋणकाे माग, माैद्रिक नीतिपछिकाे अवस्था लगायतका  बिषयमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेसँग मेराेलगानीका उप सम्पादक सुवास निराैलाले गरेकाे संक्षिप्त कुराकानीः

दशैं अघि सानीमा बैंकले लाभांश दिने सम्भावना छ कि छैन ?

अहिले नै यसै होला भन्न सकिन्न। किनकि बैंकले आफ्नो तर्फबाट गर्नु पर्ने काम नियमित रुपमा गरिरहेकै छ। फेरि यो विषय बैंकको मात्रै हातको कुरा पनि होइन। यसमा बैंकको भन्दा बढी नेपाल राष्ट्र बैंकको भूमिका बढी हुन्छ। बैंकले पठाएका वासलात छिट्टै राष्ट्र बैंकबाट स्वीकृत भएर आयो भने चाडै पनि हुन सक्छ नभए नियमित समयमा त पक्कै हुन्छ। किनकि पोहोर साल पनि हामीले कात्तिक महिनामा नै घोषणा गरेको हो। यसपाली पनि ढिलो नै भयो भने पनि कात्तिकसम्म त हुन्छ नै भन्ने अपेक्षा गर्न भने सकिन्छ।

लगानीकर्ताले बैंकबाट यस पटक कति सम्म लाभांशको अपेक्षा गर्न सक्छन् ?

यो चाहिँ बिलकुलै उत्तर दिन नमिल्ने प्रश्न हो। किनकि बैंकको प्रमुख कार्यकारी अधिकृतले यस पटक यति लाभांश दिने योजना छ भन्न पनि मिल्दैन। किनकि त्यसले दोस्रो बजार प्रभावित पार्छ। फेरि नेपाल राष्ट्र बैंक र सञ्चालक समितिले निर्णय गर्नु भन्दा अघि यस विषयमा कुरा गर्नु गलत हुन्छ। शेयरधनीलाई आफूले लगानी गरेको कम्पनीको सूचना पाउने हक त हुन्छ नै। तैपनि सबै सूचना पाउने अवस्था भने हुँदैन। प्रमुख कार्यकारीको ओहोदामा बसेर मैले भन्न पनि मिल्दैन। फेरि यो मेरो अधिकार भन्दा बाहिरको विषय पनि हो।

भदौ लागेपछि ऋणको माग बिस्तारै बढ्न थालेको हो ?

हो। भदौ लागेपछि केही बढेको जस्तो देखिन्छ। हामी कहाँ हिस्टोरिकल ट्रेन्ड हेर्ने हो भने दशैं तिहार पछि नै ऋणको माग बढ्ने र त्यस बेला नै रियल डिमाण्ड के छ भन्ने यकिन हुने गर्छ। यद्यपि अहिले ४० अर्ब जतिको ऋण बढेको देखिन्छ। यसले के सङ्केत गर्न खोजेको हो भन्ने चाहिँ दशैं तिहार पछि नै भन्न सकिन्छ। यो टेम्पोररी हो कि होइन भन्ने चाहिँ अहिले नै भन्न सकिँदैन।

तर जसरी बजारमा अत्याधिक ऋणको माग हुन थालेको भन्ने चर्चा हुन थालेको छ। त्यसरी भने बढेको भन्न मिल्दैन जस्तो लाग्छ। फेरि यति बेला स्वाभाविक पनि ऋणको माग बढ्ने समय नै हो। किनकि फेस्टिभल सिजन सुरु हुने समय हो। यस बेला स्वाभाविक रुपमा पनि ऋणको माग बढ्नु नै पर्छ। जसले गर्दा पनि यो बढेको जस्तो देखिएको हो। तर यसलाई स्वाभाविक रुपमा लिनु पर्छ।

अहिले कुन सेक्टरको ऋणको माग बढेको छ ?

मौद्रिक नीति पछि अटो र घरजग्गा लोन अलिकति बढेको छ। अरू सेक्टरको ऋणमा खासै धेरै सुधार देखिएको छैन। फेरि यसो भन्दै गर्दा ऋणको माग नै छैन भन्न खोजिएको होइन। त्यसमा पनि माग छन्। तर जसरी बढेको र घटेको भन्ने तुलना हुन्छ। त्यसरी तुलना नै गर्दा धेरै सुधार नदेखिएको मात्रै हो। तर ऋणको माग त सबै क्षेत्रमा वर्षैभरी भइ नै रहन्छ। तर वार्षिक रुपमा हेर्ने हो भने पनि निश्चित क्षेत्रको ऋणको माग निश्चित समयमा तुलनात्मक रुपमा बढी हुन्छ। दशैं तिहार आउँदै गर्दा आयातका लागि ऋणको माग बढ्ने गर्छ। त्यसैगरी अटो लोन बढ्ने गर्छ। मंसिर तिर निर्माण व्यवसायको ऋणको माग बढी हुन्छ। त्यसकारण अहिले अलि बढी घरजग्गा र अटोमा  आकर्षण देखिन्छ।

मौद्रिक नीतिले केही खुकुले गरेपछि शेयर ऋणको माग बढेको छ कि छैन ?

मौद्रिक नीति पछि अरू बैंकको बारेमा मैले भन्न सक्ने स्थिति रहेन। तर सानिमा बैंकको हकमा भने ठिकै छ। नियमित रुपमा पहिले जसरी ऋण गइरहेको थियो। त्यही अनुपातमा नै देखिन्छ। हाम्रो बैंकको हकमा भन्दा यो पनि उत्पात बढेको भने छैन।

मौद्रिक नीतिले शेयर बजारमा लगानी गर्ने संस्थागत लगानीकर्तालाई लगाएको क्याप हटाएको असर देखिन सुरु गरेको छ ? भन्नुको अर्थ संस्थागत लगानीकर्ताले ठुलो ऋणको डिमाण्ड गर्न थालेका छन् ?

यसमा पनि मैले यसै उत्तर दिन सकिन। किनभने शाखाहरूमा केही आएको पनि हुन सक्छ। फेरि यो तल्लो लेबलमा हुने काम हो। तर यति चाहिँ के भन्न सक्छु भने मैले नोटिस गर्ने गरी आएको छैन। असाध्यै धेरै बढेको भए पक्कै पनि मेरो लेभलसम्म त्यो कुरा आइसक्ने थियो। मैले पनि नोटिस गर्नु पर्ने अवस्था हुने थियो। तर मैले अहिलेसम्म नोटिस गर्ने अवस्था आएको छैन । भनेपछि यसमा पनि उत्पात बढेको अवस्था होइन भनेर चाँहि भन्न सकिन्छ।

अहिले पनि बैंकहरुबाट राष्ट्र बैंकले पैसा खिच्नु परेको अवस्था छ। अहिले पनि अपेक्षाकृत रुपमा ऋणको माग किन बढ्न नसकेको होला ?

ऋणको माग बिस्तारै बढ्दै छ। तर असाध्यै धेरै बढेको अवस्था भने होइन। तर जसरी अहिले बढ्न सुरु गरेको छ। आउने दिनमा थप बढ्न सक्ने अनुमान भने गर्न सकिन्छ। तर ऋणको माग रातारात बढ्ने पनि होइन। यो समय लाग्ने कुरा हो।  क्रमिक रुपमा सुधार देखिदै छ। किनकि पोहोर भन्दा अहिले सुधारको अवस्था छ। यसलाई सुधारको सङ्केतको रुपमा लिनु पर्छ। तर यो बढ्ने नै हो कि होइन भनेर यकिन गर्न भने अझै दुई तीन महिना कुर्नै पर्छ।

फेरि कोभिड पछिदेखि ऋण सुस्ताएको हो। तर कोभिड भन्दा अघिको ट्रेण्ड हेर्ने हो भने दोस्रो त्रैमास पछि नै ऋणको डिमाण्ड बढ्ने गरेको अनुभव हामीसँग छ। त्यसले गर्दा अहिले बिस्तारै बढ्दै गएको ऋणको मागले फेरि हामी पुरानै लय तर्फ पर्किन थालेको हो कि भन्ने अनुमान गर्न सक्छौ। तर अहिले  भनेजस्तो ऋणको माग नभएकै कारण केन्द्रीय बैंकले पैसा खिच्नु परेको हो। तर यो सधैँ यस्तै हुन्छ भनेर सोच्नु हुँदैन। बिस्तारै माग बढ्छ भन्ने नै अनुमान अहिले गरिरहेका छौ।  




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।