‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

Sep 17, 2024 01:06 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रधानमन्त्री ओलीले बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा मंगलबार शुभकामना सन्देशमा जारी गरेका थिए । साेहि क्रममा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने,“पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौँ।”

यसैगरी, उक्त सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्,“बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शैक्षिक प्रणाली र मौलिक परम्परामा समेटिएका थिए । खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौँ । अब फेरि हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनःजागृत गर्नुपर्नेछ ।”

प्रधानमन्त्री ओलीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको पनि बताए।

उनले भने,“सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ।”

यसका साथै, प्रधानमन्त्रीले जारी गरेकाे सन्देशमा सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्न आविष्कार कोष, ‘स्टार्टअप फण्ड’ जस्ता वैज्ञानिक,अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवा केन्द्रित कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै सन्देशमा विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति, कार्यक्रम निर्माणमा केन्द्रित हुन आवश्यक रहेको बताए।




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।