के कुराले बिगार्यो लगानीकर्ताको सेन्टिमेन्ट?

Sep 17, 2024 06:17 PM Merolagani



सुधा देवकोटा
निरन्तर बढेकाे शेयर बजार १५.३३ प्रतिशतले करेक्सन भइसकेको छ । दुई हजारको वरपरवाट निरन्तर बढेर ३०४८ को विन्दुमा पुगेको बजार सोमबारसम्ममा २५८०.७६ को विन्दुमा झरेको छ । 

तीन हजारको बिन्दुमा पुग्दासम्ममा कारोबार रकम र बजार पूँजीकरणमा नयाँ रेकर्ड कायम गरिसकेको थियो भने होटल तथा टुरिज्म र फाइनान्स उप समूहको सूचकले समेत नयाँ उचाई बनाएको थियो । निरन्तर बढेको बजारमा करेक्सनको आवश्यकता महसुस गरेका लगानीकर्ताले ठूलो अंकको करेक्सन झेल्न बाध्य भएका छन्।

बजार निरन्तर बढ्दैन र घट्दैन । तर पछिल्लो समयको बजार बढ्दा निरन्तर बढ्ने र घट्दा निरन्तर रुपमा प्रवृत्ति बन्दैछ । यसले दीर्घकालीन भन्दा पनि अल्पकालीन लगानीकर्ता हावी भएकाे  देखिएकाे अनुमान अनुभवी लगानीकर्ताले गरेका छन् ।

विश्व शेयर बजारमै लगानीकर्ताको मनोभावनाले बढी काम गर्ने गर्छ । यसको प्रभाव शेयर बजारमा यति धेरै पर्छ कि,त्यसले बजारमा वास्तविक बढ्नु पर्ने आधार भएका कम्पनीलाई पछि पार्दै आधारहीन कम्पनीको मूल्यलाई माथि धकेल्दै लैजान्छ । जसमा शेयर बजारका नव आगन्तुक खेलाडीलाई पुराना खेलाडीले दिग्भ्रमित पार्दै लैजान्छन । यसमा सबैभन्दा पहिले यो कम्पनी बढ्छ भन्ने कुरा शेयर बजारमा फैलाइन्छ । सुरुमा पुराना खेलाडीले शेयरलाई उठाउँदै टेवा दिन्छन् । बजारमा त्यही शेयर बढी कारोबार भएको देखेर नव आगन्तुकले पनि बिस्तारै शेयरको खरिद बढाउन सहयोग गर्छन । उनीहरूको सहयोगसँगै बढ्न थालेको मागले उक्त कम्पनीको मूल्यलाई बढाउँदै लैजान्छ । कृत्रिम मूल्यको बबल बढ्दै जान्छ । तर त्यो सधैंको लागि स्थायी भने हुँदैन ।

लगातार बढेको शेयर बजारले उच्च विन्दु कायम गरेसँगै बजारमा लगानीकर्ता भित्रने क्रम बढेको थियो । शेयरमा गरिएको लगानीबाट उच्च प्रतिफल प्राप्त गर्ने अभिलाषा सहित भित्रिएका केही लगानीकर्ताले कम्पनीको अध्ययन भन्दा पनि अरूको निर्णय अनुसार लगानी गर्न थालेका छन । जसले बजारबाट कमाउने भन्दा पनि गुमाउने जोखिम बढेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकोमा लगानीकर्ता चिन्तित बन्न थालेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका भ्रमक बिचारलाई आधार मानेर लगानीको राणनीति बनाउने परिपाटी बढ्दो छ । बजारको विषयमा राम्रा नराम्रा प्रतिक्रिया दिनेहरुको संख्यामा दिन प्रतिदिन वृद्धि हुनुले यसको पुष्टि गर्छ । जसरी सामाजिक सञ्जालमा यो कम्पनीको मूल्य बढ्छ, बजार यता जान्छ उता जान्छ भन्ने प्रतिक्रियाहरू प्राप्त हुन्छन् । त्यसैको आधारमा लगानीकर्ताले लगानीको निर्णय गरिरहेका हुन्छन् । यसरी बिना अध्ययन बजारमा लगानी गर्नाले लगानी जोखिममा पर्न सक्ने सरोकारवालहरूको भनाइ छ ।

दोस्रो बजारलाई जोखिम पूर्ण बजारको रुपमा लिइन्छ । दोस्रो बजारमा लगानीकर्ताको मनोविज्ञानले ठूलो भूमिका खेल्ने भएको कारण त्यसको प्रभाव बजारमा प्रत्यक्ष रुपमा पर्ने  बजार विश्लेषक सुवासचन्द्र ढुङ्गानाले बताए । लगानीकर्ताको मनोविज्ञानले शेयर बजारलाई दिशानिर्देश गर्नेछ । अहिले बजारले लगानीकर्ताको मनोभावना कमजोर भएको संकेत गरेको ढुङ्गानाको बुझाई छ ।

बजारका सरोकारवाला निकायका उच्च तहमा आसीन व्यक्तिले बजारको विषयमा दिने प्रतिक्रियाले समेत कहिलेकाहीँ बजारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको हुन्छ । बजारप्रति जिम्मेवार व्यक्तिहरूले निराशाजनक अभिव्यक्तिहरू दिँदा बजारमा नकारात्मक प्रभाव पर्ने गर्छ । तर अहिले त्याे अवस्था छैन । सामाजिक सञ्जाल आएको हल्लाको भरमा लगानी गर्ने लगानीकर्ता बढ्दो हुँदा बजारको सेन्टिमेन्ट बिग्रेको हुन सक्छ । लगानीकर्ताले धैर्यता गुमाएकै कारण बजार निरन्तर झरेको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले बताए ।

बजारमा लगानीकर्ताहरूको मनोभावनामा सामाजिक सञ्जालले ठाउँ लिँदै गएको छ । ‘बजार दुई हजारबाट बढ्दाको समयमा भन्दा परिस्थति राम्रो बनेको छ । शेयर बजार प्रति सरकार सकारात्मक छ, सूचीकृत कम्पनीहरुको प्रगति राम्रो छ, बैंक तथा वित्तीय संस्थामा तरलता झन झन थपिदैछ’ फुल्लेलले भने ।

जब बजार सुधारोउन्मुख हुन्छ, तब बजारमा राम्रा कम्पनी ओझेलमा पर्छन् भने नराम्रा कम्पनीको मूल्य बढ्दै जान्छ । बजार घट्दा हराएका बजारका पण्डितहरूले बजारको बारेमा टिप्पणी गर्दै धोनी बजाउन थाल्छन् । विशेषगरी प्राविधिक रुपमा धर्काहरु देखाउँदै बजारलाई यति झर्छ यति बढ्छ भन्ने विश्लेषण गरि राखिने पोस्टहरुले लगानीकर्ता धेरै सोन्टिमेन्ट बिगार्ने गरेको बुझाई छ । सामाजिक सञ्जालमा आउने कुनै पनि प्रकारको अफवाहको पछि नलागेर स्वयंले बजार र कम्पनीको बारेमा जानकार भएर मात्र लगानी गर्नुपर्ने जानकारहरुको सुझाव छ ।

धर्के बिश्लेषणले बजार झरेकाे बिषयमा प्राविधिक बिश्लेषकहरू भने सहमत छैनन् ।  प्राविधिक विश्लेषणले बजारमा दबाव सिर्जना भयो भन्नु अत्यन्त निअर्थक रहेको प्राविधिक विश्लेषक विनोद महर्जनको बुझाई छ । प्रविधिक विश्लेषणले बजारको वास्तविक अवस्था देखाउँछ । बजारको वास्तविक अवस्था देखाउँदा बजार बिगारो भन्ने अपरिपक्क सोच भएको महर्जनको भनाइ छ ।

सामाजिक सञ्जालमा आउने दोहोरो अर्थ लाग्ने सूचनाले बजारमा दीर्घकालीन सुधार हुन सक्दैन ।यद्यपि सामाजिक सञ्जालमा आउने सबै कुरा नराम्रा भने हु्दैनन । सामाजिक सञ्जालका कुरालाई आधार मानेर मात्रै वास्तविकता नबुझी लगानी गर्नु जोखिम मोल्नु हो । त्यसबाट असल लगानीकर्ताले अलग हुनैपर्छ । कुशल लगानीकर्ताले सामाजिक सञ्जालमा आउने विषयभन्दा कम्पनीहरूको व्यावसायिक योजना,व्यवसाय सञ्चालनका तरिका,संस्थागत सुशासन,कम्पनीको कारोबार तथा नाफा नोक्सानमा ठुलो भूमिका खेल्ने भएकोले त्यसलाई मिहिन अध्ययन गर्नै पर्ने हुन्छ  ।

मुलुक आर्थिक मन्दीबाट उम्कदैछ । अर्थतन्त्रका सबै परिसूचक नकारात्मक असरबाट विस्तारै उठ्दैछन् । सबै क्षेत्र खुम्चँदा बजारमा सूचीकृत कम्पनीमा पनि असर परेकै हुन्छ ।  बजार खुम्चिँदा ती कम्पनीले आर्जन गर्ने मुनाफामा सङ्कुचन परेकाे हुन्छ । यद्यपि सरकारले आर्थिक गतिविधिमा अप्ठेरो पारेका नीतिगत अफ्ठेराहरू फुकुवा गरेको छ । जसको प्रभाव स्वरुप शेयर बजार दुई हजारको विन्दुबाट उल्लेख्य रुपमा बढेर तीन हजारसम्म पुग्यो ।

वित्तीय क्षेत्रमा थुप्रिएको अधिक तरलता,शेयर कर्जाको ब्याजदर निकै तल झर्नु, लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसक्नु लगायतका कारण शेयर बजार निर्विकल्प बढ्दै जाने देखिन्छ  । यस्तो अवस्थामा लगानीकर्ताहरूले मौकाको सदुपयोग गर्दै बजारबाट राम्रो लाभ लिन सक्न सचेत हुन जरूरी छ । 




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।