कर्जा लिएर शेयर बजारमा लगानी गर्ने निरन्तर बढ्दै, नयाँ आर्थिक वर्षमा झनै धेरै जान थाल्यो शेयर धितो कर्जा

Sep 18, 2024 11:47 AM Merolagani



पछिल्लो समय लगानीकर्ताले धमाधम बैंकबाट शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्न थालेको देखिएको छ। गत आर्थिक वर्षदेखि नै बढ्न थालेको शेयर धितो कर्जा चालु आर्थिक वर्षमा झनै धेरै बढ्न थालेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक तथ्याँकमा शेयर धितो कर्जा एक महिनामा एक अर्ब ३३ करोड रुपैयाँले बढेको देखिएको छ। असार अन्तिमसम्ममा ९० अर्ब ९ करोड रुपैयाँ रहेको शेयर धितो कर्जा साउन अन्तिमसम्ममा ९१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

साउन महिनामा शेयर बजार पनि राम्रै बढेको थियो जसले गर्दा लगानीकर्तामा समेत केहि कन्फिडेन्स बढेको देखिन्छ। अर्कोतर्फ बैंकहरुमा तरलता बढ्दै गएको र ब्याजदर निरन्तर घट्दै गएको कारण पनि कर्जा बढाएका हुन्।

गत आर्थिक आर्थिक वर्षदेखि नै शेयर धितो कर्जा निरन्तर बढ्दै आएको छ। मौद्रिक नीतिमा लिइएका लचक नीतिले गर्दा शेयर बजार बढ्ने आशामा लगानीकर्ताले बैंकबाट कर्जा लिएर बजारमा लगानी गर्दै आएका छन्।

अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए। गत असारसम्ममा बैंकहरुले शेयर बजारमा ९० अर्ब ९ करोड पुगेको थियो। गत आर्थिक वर्षमा बैंकहरुले करिब १४ अर्ब रुपैयाँ कर्जा दिएका छन्। औसतमा हेर्दा लगानीकर्ताले मासिक १ अर्बभन्दा बढीको कर्जा लिइरहेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा ४/१२ करोडको क्याप लगाएपछि शेयर धितो कर्जा निरन्तर घट्दै गएको थियो। अहिले राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको क्याप पुरै नहटाएपनि उक्त नीति केहि खुकुलो बनाउँदै लगेपछि यस्तो कर्जा बढ्न थालेको थियो। राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको थियो। पहिलो त्रैमासिक समीक्षामा पनि सबै शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको थियो भने सीमा पनि बढाएर व्यक्तिगतलाई १५ करोड र संस्थागतलाई २० करोड बनाएको थियो। त्यसले पनि शेयर धितो कर्जा बढ्न थालेको थियो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले संस्थागतलाई लगाएको क्याप पुर्ण रुपमा हटाएको थियो। जसको प्रभाव शेयर बजारमा पनि निकै राम्रो देखियो।

अहिले लगानीकर्ताले एकल विन्दुको ब्याजदरमा नै शेयर धितो कर्जा पाउने अवस्था बनेको छ। यसले गर्दा समेत अहिले लगानीकर्ताले सस्तो ब्याजदरमा नै कर्जा लिएर बजारमा लगानी बढाउन थालेका हुन्।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।