टिफा बैठकः भन्सार छुटको बारेमा नेपालको प्रस्ताव अमेरिकाद्धारा अस्वीकार

Sep 17, 2024 05:52 PM mero lagani



नेपाल र संयुक्त राज्य अमेरिकाबीचको ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको सोमवार भएको सातौ बैठकमा नेपालले गरेको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकाले नेपालको अपेक्षाविपरित नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत उपलब्ध गराएको सुविधा बढाउन नसक्ने स्पष्ट पारेको छ ।

बैठकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका दक्षिण र मध्य एशियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेंडन लिन्चले ‘नेपालको अनुरोधअनुसार भन्सार छुट दिने वस्तुको संख्या थप्ने काम अमेरिकी संसद्ले नै गर्ने भएकोले त्यहाँ लबिइङ गर्न जरुरी भएको’ बताउँदै आफूले मात्र होइन, अमेरिकी सरकारले सीधै कुनै निर्णय गर्न नसक्ने बताए । त्यसैले टिफा नविकरण र शर्तहरुको संसोधनको लागि अमेरिकी संसदमै ‘लविइङ’ गर्न सुझाव दिए । त्यसक्रममा आफूले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

उनको त्यही प्रतिवद्धतालाई नेपाली पक्षले बैठक सफल भएको र नेपालको प्रस्तावप्रति अमेरिका सकारात्मक रहेको दावी गरेको छ । जबकी लिंन्चले नेपालको प्रस्ताव सम्वोधन गर्न आफूले मात्र होइन, अमेरिकी संसदले पनि ‘केही गर्न नसक्ने, जे गर्छ संसदले गर्छ’ भन्दै नेपालको प्रस्ताव स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन् ।

‘अमेरिकामा राष्ट्रपतिको चुनाव हुन लागेकोले नयाँ सरकार र संसदले के गर्छ भन्ने बारेमा उनीहरु स्वंय अन्योलमा रहेकोले पनि उनीहरुले कुनै खासै सकारात्मक कुरा गर्न सकेनन्’ उद्योग मन्त्रालयका एक अधिकारीले मेरो लगानीसँग भने ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) गोविन्दबहादुर कार्कीले गरेका थिए । नेपालले अमेरिकाले टिफा सम्झौता अन्तर्गत सन् २०१६ बाट नेपालका ७७ वटा वस्तुलाई दिएको भन्साररहित प्रवेश सुविधा बढाउनको लागि प्रस्ताव गरिएको थियो । अमेरिकामा भन्सार छुटको लागि नेपालको तर्फबाट थप करिव ३० वटा वस्तुको सूची उपलब्ध गराए पनि अमेरिकी प्रतिनिधिमण्डलले त्यसबारेमा छलफल गर्नै नचाहेको बताइएको छ ।

वैठकपछि नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा ‘नेपालको आर्थिक वृद्धिको समर्थन गर्दै आपसी समृद्धि हाम्रो प्रमुख प्राथमिकतामा पर्छ । नेपालको दीर्घकालीन आर्थिक समृद्धिको दृष्टिकोण, जसमा नेपाललाई मध्यम आय भएको देशमा स्तरोन्नति गराउने प्रयाशहरू पर्छन्, र नेपाली कामदारलाई विदेश नपठाई नेपालमै राख्ने योजनालाई समर्थन गर्छ,’ भनेको छ । दूतावासले अमेरिका टिफामा संशोधन गर्ने नेपालको प्रयास प्रति घुमाउरो भाषामा अस्वीकार गरेको छ ।

दूतावासले भनेको छ, ‘२०१५ मा नेपालमा भएको विनाशकारी भूकम्पपछि, व्यापार सुविधा र व्यापार प्रबर्द्धन ऐन २०१५ ले नेपालका लागि ७७ हार्माेनाइज्ड कोड (ट्यारिफ सेड्युल) मा समावेश गरिएका उत्पादनहरू (जस्तैः हस्तकला, सल र यात्रा सामग्रीहरू) लाई भन्साररहित पहुँच प्रदान गर्ने नयाँ देश विशेष प्राथमिकता कार्यक्रम स्थापना गर्यो ।’

दूतावासले पुराना कुराहरुको बारेमा मात्रै उल्लेख गर्नुले पनि अमेरिका टिफा संशोधनसहित नेपालको अन्य प्रस्तावको बारेमा चर्चा गर्नुले ‘सांकेतिक रुपमा धेरै कुरा बोलेको’ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।