बैंकहरुको औसत आधार दर नै ७ प्रतिशतमा झर्यो, कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजमा कर्जा?

Oct 24, 2024 05:54 PM Merolagani



वाणिज्य बैंकहरुको आधार दर ७ प्रतिशतमा झरेको छ। बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबै बैंकबाट एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था देखिएको छ।

गत असोज मशान्तसम्ममा बैंकहरुको औसात आधार दर ७.३४ प्रतिशत रहेको छ। एक बैंकको आधार दर ५ प्रतिशतमा नै झरेको छ भने ३ बैंकको आधार दर ६ प्रतिशत रहेको छ।

अहिले सबै बैंकको आधार दर निकै तल झरेकोले कर्जाको ब्याजदर पनि निकै सस्तिएको छ। बैंकहरुमा अहिले ७ खर्ब बढीको लगानीयोग्य रकम छ। जसले गर्दा बैंकहरु अत्यन्तै न्युन प्रिमियममा नै कर्जा दिन थालेका छन्।

अर्कोतर्फ अहिले पनि निक्षेपमा ब्याजदर घटाइरहेको कारण आगामी दरमा आधार दर थप घट्ने देखिन्छ।

  • कुन बैंकको ब्याजदर सस्तो?

असार मसान्तसम्मको तथ्याँक अनुसार स्ट्यान्डर्ड चाटर्ड बैंकको आधार दर सबैभन्दा कम ५.७१ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०५ प्रतिशत छ।

यसैगरी नेपाल बैंकको ६.७२ प्रतिशत, एभरेष्ट बैंकको आधार दर ६.८ प्रतिशत, नबिल बैंकको ७.०२ प्रतिशत, कृषि विकास बैंकको ७.०७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०८ प्रतिशत, सानिमा बैंकको ७.२४ प्रतिशत र ग्लोबल आइएमइ बैंकको ७.२९ प्रतिशत छ।

यता एनआइसी एशिया बैंकको आधार दर सबैभन्दा धेरै ८.३७ प्रतिशत छ भने हिमालयन बैंकको ८.३५ प्रतिशत रहेको छ।

सिटिजन्स बैंकको ७.९२ प्रतिशत छ भने प्राइम कमर्शियल बैंकको ७.९२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७.७९ प्रतिशत, एसविआई बैंकको ७.७२ प्रतिशत, प्रभु बैंकको ७.६५ प्रतिशत, माछापच्छ्रे बैंकको ७.६१ प्रतिशत, सिद्धार्थ बैंकको ७.५८ प्रतिशत, एनएमबि बैंकको ७.४९ प्रतिशत र कुमारी बैंकको ७.४८ प्रतिशत रहेको छ।

बैंकहरुले आधार दरमा केही प्रिमियम थप गरी कर्जा दिने हुँदा आधार दर कम भएका बैंकबाट कर्जा लिँदा ब्याजदर तुलनात्मक रुपमा कम हुन्छ।

बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन्। अहिले लगानीयोग्य रकम धेरै भएको अवस्थामा बैंकहरुले कम प्रिमियम राखेर कर्जा दिइरहेका छन्। यसले गर्दा अहिले कर्जाको ब्याजदर समेत निकै कम छ।

कम आधार दर भएका बैंकहरुबाट कर्जा लिँदा ग्राहकले तुलनात्मक रुपमा सस्तो व्याजदरमा कर्जा पाउने सम्भावना रहन्छ।

बैंकहरुले अहिले कतिपय कर्जाहरु ८ प्रतिशतभन्दा कम ब्याजदरमा समेत अफर गर्न थालिसकेको अवस्था छ। सामान्यतया ७ प्रतिशत आधार दर भएका बैंकहरुबाट १० प्रतिशतभन्दा कम ब्याजदरमा नै कर्जा पाइने अवस्था छ।

 




comments powered by Disqus

प्राइम कमर्सियल बैंकले नगद लाभांश वितरण गर्ने

Oct 27, 2024 10:06 AM

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।