चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २१ करोड २२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.६८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ८ करोड ४६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७९.७३ प्रतिशत बढेको छ भने कुल आम्दानी ४०.३० प्रतिशत बढेको छ। कम्पनीको कुल सञ्चालन खर्च १६.११ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात १६९.२४ गुणा रहेको छ।
७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
