वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार १९ वटामध्ये ४ वटा वाणिज्य बैंकको लाभांश वितरण क्षमता ऋणात्मक रहेको छ भने ८ वटाको लाभांश क्षमता ५ प्रतिशतभन्दा मुनि र बाँकी ७ वटाको लाभांश क्षमता भने ५ प्रतिशतभन्दा माथि रहेको छ । लाभांश क्षमताको आधारमा स्टयान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नबिल बैंकलगायत वाणिज्य बैंकहरुको लाभांश क्षमता १५ प्रतिशतभन्दा बढी देखिएको छ ।
गत वर्षको नाफाबाट सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेकाे छ । बैंकले साढे ६ प्रतिशत बोनस र १९ प्रतिशत नगद गरेर साढे २५ प्रतिशत लाभांश घोषणा गरेर वितरण समेत गरिसकेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्ष पनि १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गत वर्षको नाफाबाट दोस्रो धेरै लाभांश बाँड्ने बैंकमा एभरेष्ट बैंक परेको छ । एभरेष्टले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश गरेर १५.५३ प्रतिशत लाभांश वितरण गरेको छ । एभरेष्टले गत वर्ष पनि १० प्रतिशत बोनससँगै १०.५३ प्रतिशत नगद लाभांश गरेर २०.५३ प्रतिशत लाभांश विरतण गरेको थियो ।
नेपाल एसबीआई बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ नगद लाभांश गरेर १० दशमलब ६५ प्रतिशत लाभांश दिएको छ गत वर्ष पनि बैंकले ३.७५ प्रतिशत बोनस शेयर र ६.८ प्रतिशत नगद लाभांश गरेर १०.५५ प्रतिशत नै लाभांश दिएको थियो ।
वाणिज्य बैकहरुले दिएको लाभांश घोषणा हेर्दा विदेशी लगानी भएका बैंकहरुले नियमित लाभांश दिएको देखिन्छ भने नेपाली लगानीकर्ताहरुको मात्रै लगानी रहेको वाणिज्य बैंकमा भने लाभांश उतारचढाव एकदमै ठूलो देखिन्छ ।
गत वर्ष कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, एनएमबी बैंक, हिमालयन बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकगरी ४ वटा बैकले लगानीकर्ताको हात खाली राखेको थियो भने गत वर्षको नाफाबाट यसवर्ष पनि ७ देखि ८ बैंकले लगानीकर्ताको हात खाली राख्ने भएका छन् । प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र हिमालयन बैंकले कुनै लाभांश नदिने घोषणा गरिसकेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र एनआईसी एसिया बैकको ऋणात्मक लाभांश क्षमताको कारण लाभांश वितरण गर्न सक्ने अवस्था छैन । अब नेपाल बैंकले मात्रै लाभांश घोषणा गर्न सक्ने क्षमता राख्दछ यद्यपि नेपाल बैंकले गत वर्ष पनि कुनै लाभांश वितरण गरेको थिएन।
लाभांश वितरण गरेका वाणिज्य बैंकहरुले पनि गत वर्षको नाफाबाट औसत ५ प्रतिशतको हाराहारीमा मात्रै लाभाश वितरण गरेका छन् । नबिल बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्षको नाफाबाट यस वर्ष १० प्रतिशत नगद लाभांश नै घोषणा गरेर वितरण गरिसकेको छ । ग्लोबल आईएमई बैंकले गत वर्ष १ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरेर कुल ९ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष साढे ५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ ।
गत वर्ष ९ प्रतिशत बोनस र ५.७ प्रतिशत नगद लाभांश गरेर कुल १४.७ प्रतिशत लाभांश घोषणा गरेको सानिमा बैंकले यस वर्ष ५.२६ प्रतिशत नगद लाभांश मात्रै घोषणा गरेको छ । त्यसैगरी गत वर्ष ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको लक्ष्मी सनराइज बैंकले यस वर्ष ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको लाभांश क्षमता अनुसार नै लाभांश घोषणा गरेको देखिन्छ ।
प्राइम कमर्सियल बैंकले गत वर्ष लाभांश नदिएकोमा यस वर्ष ५ प्रतिशत नगद लाभांदश दिएको छ भने सिटिजन बैंक इन्टरनेसनलले गत वर्ष ५.७९ प्रतिशत नगद लाभांश दिएकोमा यस वर्ष ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश गरेर ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । सिद्धार्थ बैंकले गत वर्ष ४.२१ प्रतिशत नगद लाभांश दिएकोमा यस वर्ष ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभाश गरेर ४.२१ प्रतिशत नै लाभांश दिएको छ ।
माछापुच्छ्रे बैंकले गत वर्ष १३.३ प्रतिशत बोनस र शून्य दशमलब ७ प्रतिशत नगद गरेर कुल १४ प्रतिशत लाभांश दिएकोमा यसपटक शून्य लाभांश घोषणा गरेको छ ।
गत वर्ष एनआइसी एसिया बैकले २९ प्रतिशत बोनस र १.५२ प्रतिशत नगद गरेर ३०.५२ प्रतिशत लाभांश घोषणा गरेको थियो । अहिलेका बैंकहरुमध्ये सबैभन्दा कान्छो बैंक भए पनि व्यवसायमा विस्तारमा एकदमै आक्रामक देखिएको यो बैंक अहिले खराब कर्जाको मारमा छ । गत वर्षभन्दा अगाडि पनि दुई वर्षसम्म पुँजी कोष टाइट हुँदा बैंकले लाभांश घोषणा गर्न सकेको थिएन ।