टिकटकका बारेमा ट्रम्पको अर्को ठूलो निर्णय, कार्यकारी आदेश जारी गर्दै सार्वभौम सम्पत्ति कोष सिर्जना गर्ने योजना

Feb 04, 2025 03:25 PM Merolagani



राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरे। साे आदेशमा, राष्ट्रपति ट्रम्पले एक सार्वभौम सम्पत्ति कोष सिर्जना गर्न निर्देशन दिएका छन्। 

ट्रम्पले कुनै अमेरिकी खरीददारले टिकटक खरिद गरेमा त्यसबाट हुने नाफा यस कोषमा राख्न सकिने बताएका छन्। ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्ने क्रममा ट्रम्पले भने, "हामी टिकटकबाट प्राप्त रकम सार्वभौम सम्पत्ति कोषमा राख्न सक्छौं। धनी व्यक्तिहरूसँग साझेदारी गरेपछि यो उपलब्ध हुन्छ वा हामीले नै केही गर्नुपर्छ। हामी सम्पत्ति कोषमा टिकटकलाई उदाहरणको रूपमा राख्न सक्छौं। यस बाहेक, हामीले कोषमा राख्न सक्ने अन्य धेरै कुराहरू छन्।"

ट्रम्पले कैयाैं देशहरूसँग यस्तो कोष रहेकाे बताएका छन्। अमेरिकाले यस्तो कोष सिर्जना गरेमा, यसले साउदी अरेबियाको कोषको आकारलाई पार गर्न सक्छ। उनले भने,"हामी पक्कै सफल हुनेछौं।"

राष्ट्रपतिले कोष सिर्जना गर्ने आधार तयार पार्ने जिम्मेवारी कोष सचिव स्कट बेसान्ट र वाणिज्य सचिव हावर्ड लुटनिकलाई दिएका छन्। यसका लागि कांग्रेसको अनुमोदन आवश्यक पर्नेछ। "कोषको योजनामा ​​लगानी रणनीति र शासन मोडलका लागि सिफारिसहरू समावेश हुनुपर्छ र ९० दिन भित्र प्रतिवेदन पेश गर्नुपर्छ," उक्त आदेशमा भनिएको छ ।

प्रशासनको लक्ष्य आगामी १२ महिना भित्र कोष खोल्ने रहेकाे कोष सचिव बेसान्टले बताए। यसैगरी, लुटनिकले कोषको अर्को प्रयोग सरकारले खोप निर्माताहरूमा नाफा कमाउने हिस्सेदारी लिनको लागि हुन सक्ने बताए। अमेरिकी सरकारको असाधारण आकार र स्तर तथा कम्पनीहरूसँगको यसको व्यापारले अमेरिकी नागरिकहरूको लागि मूल्य सिर्जना गर्ने बताइएकाे छ।

ट्रम्पले दिए टिकटकलाई ७५ दिनको समय 

अमेरिकामा टिकटकका १७ करोडभन्दा बढी प्रयोगकर्ताहरू छन्। यसअघि सुरक्षा चिन्ताका कारण अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। अमेरिकी सरकारले यस सम्बन्धमा कानून पनि ल्याएकाे थियाे। कानून अन्तर्गत, जनवरी १९ मा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो।

यद्यपि, राष्ट्रपति चुनाव जितेपछि ट्रम्पले टिकटकलाई निरन्तरता दिने पक्षमा रहेको संकेत गरेका थिए। राष्ट्रपति बनेपछि ट्रम्पले एक कार्यकारी आदेश मार्फत् टिकटकलाई ७५ दिनको ग्रेस अवधि दिएका छन्। यस अन्तर्गत टिकटकले अमेरिकामा रहेको आफ्नो व्यवसाय अमेरिकी कम्पनीलाई बेच्नुपर्नेछ।

ट्रम्पले भने, "टिकटक किन्न चाहने धेरै अन्य कम्पनीहरू छन्। टिकटकमा अमेरिकाको ५० प्रतिशत स्वामित्व होस् भन्ने उनीहरूकाे चाहना छ ।"

यसअघि, ट्रम्पले टेस्लाका सीईओ तथा ट्रम्पका घनिष्ठ मित्र एलन मस्क र ओरेकल कर्पका अध्यक्ष ल्यारी एलिसनले टिकटक प्राप्त गर्ने आशा व्यक्त गरेका थिए । उनी टिकटकको सम्पूर्ण स्वामित्व चीनले नराखोस् भन्ने चाहन्थे।

एजेन्सी ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।