निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

Feb 09, 2025 03:07 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८४ हजार २८० पटकको कारोबारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। गार्डियन माइक्रो लाइफको शेयर आजकै दिनदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक साढे ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सिईडिबी हाल्डिङ्गसको साढे ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशत घटेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन १.३० प्रतिशत घटेको छ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।