हुनपनि पछिल्लो समय आइपीओ भर्नेहरु मध्ये धेरैको हात खाली हुँदै गएको छ । शुक्रबार मात्र बाँडफाँट भएको स्वरोजगार लघुवित्तको एफपीओले धेरैलाई निराश बनायो । धेरैले ‘पूजामा बाँडिने प्रसाद’ जस्तो आइपीओ पनि पर्न छाडेको गुनासो गरे ।
स्वरोजगार लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो । तर, त्यो शेयर हात पार्न अत्याधिकले आवेदन दिए । १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरियो । जस अनुसार १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरे । सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर हात पारे ।
यसैगरी, यसभन्दा अघि पनि आइपीओ जारी गरेका कम्पनीको शेयर पाउन आइपीओ भर्नेहरुले ‘तपस्या’ नै गर्नु परेको थियो । यसअघि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट गरिएको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको थियो । जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका थिए ।
पछिल्लो समय विभिन्न नयाँ नयाँ कम्पनीहरुले सर्वसाधारणका लागि आइपीओ जारी गरिरहेका छन् । आइपीओे निष्काशनपछि मूल्य आकासिने भएका कारणले पनि शेयर बजारमा एक किसिमको उत्साह छाएको छ । १०० रुपैयाँमा परेको आइपीओको शेयर शेयर मूल्य २ हजार भन्दा बढी हुन थालेपछि आइपीओ भर्नेमा उत्साह थपिएको हो ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले पछिल्लो समय आइपीओमा सर्वसाधारणमा शेयर सम्बन्धी चासो निकै बढेको बताउँछन् । दोस्रो बजारमा शेयर खरिद गर्दा बढी जोखिम हुने भएकाले पनि धेरैजसो लगानीकर्ताले आइपीओ र एफपीओ भर्ने गरेका छन् ।
आइपीओमा जोखिम कम हुने र फाइदा हुँदा निकै धेरै नै फाइदा हुने भएका कारण पनि सर्वसाधारणहरुको यसतर्फ निकै आकर्षण छ । १०० रुपैयाँमा आइपीओ परेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य एक कित्ताकै २ हजार पुग्न लागेकोले पनि सर्वसाधारणहरुको आकर्षण बढेको हो ।
तर, ज्यादै कमलाई मात्रै शेयर परेकाले पनि धेरै सर्वसाधारणहरु दुर्गेश थापाको गीत जस्तै ‘दुश्मन हेरेको हेरै’ हुन थालेका छन् । थापाको गीत केही दिनयता युट्युब ट्रेन्टिङको शीर्षस्थान कायम रहँदै मनग्य दर्शक तथा स्रोता मन जित्न सफल भएको छ । तर, यता आइपीओ भर्नेहरु भने ‘दुश्मन हेरेको हेरै’ भएका छन् । आइपीओ भर्नेहरु दिन प्रतिदिन निराश हुँदै गएका छन् ।