उनी हुन्—हाल राष्ट्र वैंकमै कार्यकारी निर्देशक रहेका डा. गुणाकर भट्ट ।
उनलाई गभर्नर बनाउन सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको बुझिएकाे छ । यद्धपी त्यसको औपचारिक घोषणा भने सम्भवतः आउंदो सोमबार बस्ने मन्त्रीपरिषद्को वैठकले निर्णय गरेपछि हुनेछ । ‘राजनीतिकरुपमा ठूलै उल्कापात भयो भने अर्कै कुरा अन्यथा गभर्नरको टुंगो लाग्यो । विवादास्पद र कालो कांग्रेसभन्दा कांग्रेस नै भए पनि नरम र आर्थिक क्षेत्रको निकै गहन जानकारी राख्ने भएकोले भट्टको नाममा एमालेले सहमति जनायो’ नेकपा एमालेका एक मन्त्रीले विहिबार विहान मेरो लगानीसंग भने ।
गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेल हाल भारतमा छन् । उनी शनिबार स्वदेश फर्कदैंछन् । सम्भवतः शनिबार साँझ र आइतबार समितिका बैठक बसेर सिफारिसको ‘पूरा’ गरिनेछ र भट्टलाई एक नम्बरमा राखेर एकजना डेपुटी गभर्नरसहित ३ जनालाई सिफारिस गर्नेछ । त्यही आधारमा सोमबार मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गर्नेछ ।
डोटी जिल्लाको शिखर नगरपालिका वडा नं.१ कपल्लेकी जन्मथलो भएका डा. गुणाकर भट्ट साढे २ दशकदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन बिभाग, सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र राष्ट्र ऋण ब्यबस्थापन बिभाग को प्रमुख भएर काम गरी सकेका डा. भट्ट २ पटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत अर्थमन्त्री हुंदा उनी अर्थमन्त्रालयको सल्लाहकार थिए ।
स्नातकोत्तरतहमा त्रिभुवन बिश्व बिद्यालयका ‘गोल्डमेडलिष्ट’ डा. भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाकै वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (PHD) गरेका छन् ।
राजनीतिकरुपमा ‘कांग्रेसी क्याडर’ भए पनि उनी आर्थिक मुद्धाहरुमा राजनीतिबाट माथि उठेर काम गर्ने स्वभावका मानिन्छन् । त्यहीकारण डा. युवराज खतिवडा र महाप्रसाद अधिकारी जस्ता ‘कालो एमाले’ गभर्नर हुँदा पनि उनी अरु कतिपय निर्देशक र कार्यकारी निर्देशक जस्तो कांग्रेस भएकै कारण पेलानमा पर्नु परेन । खतिवडा र अधिकारीसंग उनको सौहाद्रपूर्ण सम्वन्ध रह्यो ।
यसपटक गभर्नर नियुक्ति प्रकृया सर्वाधिक विवादमा पर्दै आएको छ । सत्तारुढ कांग्रेस एमाले मात्र होइन, विभिन्न विवादास्पद शक्तिकेन्द्रहरु र व्यापारिक घरानाले समेत कहिले कस्को नाम त कहिले कस्को नाम उछाल्ने र पछार्ने गर्दै आइरहेका थिए, अझै पनि गर्दै आइरहेका छन् । खासगरि डोटीको दिपायल नै घर भएका व्यवसायी दीपक भट्टले समेत निकै मेहनत गरिरहेका समाचारहरु आइरहेका थिए । तर, डोटीकै भए भट्ट भए पनि उनीहरुबीच नजिकको सम्वन्ध भने नभएकाे बताइन्छ ।
उता, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भने राष्ट्रवैंकको कार्यकारी निर्देशकबाट भर्खरै राजिनामा दिएका डा. प्रकाश श्रेष्ठ वा हाल कायममुकायम गभर्नरको भूमिकामा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन जोडबल गरेका थिए । श्रेष्ठको नाममाथि देउवा लगायतका कांग्रेस नेताहरूले छलफल गर्नसमेत नमानेपछि अन्तिममा ‘आधा आधा गरौं’ भन्दै ढुंगानाको नाममा जोड दिएका थिए । ढुंगानाको माइती कांग्रेस र घर परिवार एमाले भएकोले आधा आधा हुने भन्दै उनलाई गभर्नर बनाउन प्रयास गरेका थिए । ढुंगाना पनि आफू आधा कांग्रेस, आधा एमाले र त्यसमाथि झापाली महिला र डेपुटी गभर्नरसमेत भएकोले अन्तिममा आफ्नै नाममा सहमती हुनेमा अलि बढि विश्वस्त थिइन । तर, ‘महिला, वाहलवाला डेपुटी गभर्नर र आधा एमाले आधार कांग्रेस भएको भएकाले विवाद पनि हुँदैन’ भन्दै ओलीले गरेको प्रयासमा पनि देउवा सहमत नभएपछि अन्य नामहरुलाई पन्छाएर भट्टको नाममा सहमती जुटेको श्राेत बताउँछ ।
पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डेले पनि कांग्रेस कोटाबाट गभर्नर बन्ने प्रयास गरिरहेका छन् ।