शुक्रवार बिहान एकाएक नेपाल राष्ट्र बैंकका कर्मचारी डा.गुणाकर भट्टले राजीनामा दिएको खबर सञ्चार माध्यममा आए। जुन विषय स्वयम् भट्टले नै पुष्टि गरे। गभर्नर पदकै लागि भनेर उनले राजीनामा दिएको भट्टको जिकिर थियो। सुदूर पश्चिमका भट्टले राजीनामा दिएपछि उनी नै आउने गभर्नर पक्का पक्की भएको अडकल सर्वत्र हुँदै आएको छ। उनी आउने पक्का हुँदै गर्दा एक थरीले अरू भन्दा ठिकै हुने प्रतिक्रिया दिए। तर शेयर बजारले भने उनलाई पत्याएन। उनी गभर्नर हुने खबर पछि आइतबार खुलेको शेयर बजार कारोबारको धेरै जसो समय रातो नै हुन पुग्यो। अझै कारोबार बन्द हुँदा सूचक १६.६८ अंकले घटेर बन्द भयो। जसलाई शेयर बजारका लगानीकर्ताले नरुचाएको रुपमा लिनु पर्ने एक लगानीकर्ताले तर्क गरे। “शेयर बजारले आउने दिनको अनुमान पहिले नै लगाउने गर्छ। त्यस अनुरूप पहिले प्राइभेट सेक्टरको मान्छे आउला भन्ने अपेक्षामा बजार सुधारोन्मुख थियो। तर जब भट्टको नाम आयो। तब शेयर बजारको बढ्दो क्रममा एक्कासी ब्रेक लाग्यो। बढ्दो गतिमा ब्रेक लाग्नु भनेको बजारले भट्टलाई नस्विकारेको नै हो,” ती लगानीकर्ताले भने। 
हुन त भट्ट शालीन र विद्धान मध्येमा पर्ने गर्छन्। उनी आउँदा आकाशै खस्ने अवस्था हुने छैन। तर शेयर बजारले भने उनमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको छाया देखिरहेका छ। जसले गर्दा शेयर बजार घट्न पुगेको शेयर बजारका लगानीकर्ताको जिकिर छ। “ नेपाल राष्ट्र बैंक भित्रैबाट आएको मानिसले खासै परिवर्तन भन्दा पनि निरन्तरता मात्रै दिने गरेको पछिल्ला धेरै उदाहरण छन्। अधिकारीले पनि आफ्नो कार्यकालमा खासै ठुला निर्णयहरू गर्न सकेनन्। उनको कार्यकाल विवाद कै बीच सकियो। अब नयाँ आउने पनि राष्ट्र बैंक भित्रैबाट आउन लागेकोले नयाँ आउने भनिएका गभर्नरमा शेयर बजारका लगानीकर्ताले एम अधिकारीको छाया देखिरहेका छन्,”ती लगानीकर्ताले भने।
नेपाल राष्ट्र बैंकमा आउने नयाँ गभर्नर कै कारणले शेयर बजारमा उतार चढाव नआउनु पर्ने हो। तर नेपाल राष्ट्र बैंकले शेयर बजारको लागि गर्ने नीतिगत निर्णयले शेयर बजारलाई लामो समयदेखि प्रभाव पार्दै आइरहेको छ। नेपाल राष्ट्र बैंकले शेयर बजार बढ्न थाले पछि नीतिगत डन्डा चलाउने गरेका पछिल्ला धेरै उदाहरण छन्। अरू गभर्नरले मार्जिन कर्जाको सीमामा केही परिवर्तन गर्ने गरेका भए पनि भर्खरै गएका गभर्नर अधिकारीले भने कर्जामा क्याप नै लगाइ दिए। उनले लगाएको क्याप अझै खुलेको छैन। संस्थागत लगानीकर्ताको लागि लगाइएको क्याप खोलिएको भएपनि व्यक्तिगत तर्फको १५ करोडको सीमा अझै यथावतै नै छ। प्राइभेट सेक्टरबाट नयाँ गभर्नर आए उसले उक्त सीमा हटाइदेला भन्ने आस लगानीकर्ताहरूले गरेका थिए। जसले गर्दा केही दिन यता शेयर बजार बढ्दो गतिमा थियो। तर एकाएक राष्ट्र बैंक भित्रकै मानिस गभर्नर भएर आउने कुरा आएपछि भने लगानीकर्ता निराश हुन पुगे। लगानीकर्ताले उक्त क्याप नहट्ने र शेयर बजार प्रति लिइने निर्णयहरू पनि खासै सपोटिभ नआउने आंकलन गर्न थालेका छन्।
शेयर बजार मैत्री निति लिने नलिने भन्ने विषय उनी आए पछि मात्रै थाहा हुने विषय हो। तर पनि लगानीकर्ता भने अहिले नै निराश भइरहेका छन्। जुन शेयर बजारको लागि सुखद होइन। बरु लगानीकर्तामा नकारात्मक भाव आउनु भन्दा उनले लगानीकर्ता मैत्री निर्णय गर्न सघाउलान् भन्ने सकारात्मक बिचार प्रवाह हुन सके बजार लगानीकर्ताले खोजे जस्तै बढ्दो लय देख्न सक्ने छन्। किनकि लगानीकर्ताको मनोबल मजबुत हुँदा शेयर बजार बढेका थुप्रै उदाहरण छन्।