गभर्नर नियुक्तिमा च्याँखेदाउ, कसले उछिट्याउला ?

May 18, 2025 01:59 PM Merolagani



रिसव गौतम

नयाँ गभर्नर नियुक्ति प्रक्रिया इतिहासकै पेचिलो बनेको छ। पूर्व गभर्नरहरु दीपेन्द्रबहादुर क्षेत्री, डा. चिरन्जिवी नेपाल र विजयनाथ भट्टराई प्रतिक्रिया सुन्दा यसअघि यो हदको राजनीतिक दाउपेचमा गभर्नर नियुक्तिको विषय इतिहासमै भएको थिएन।

राष्ट्र बैंक ऐन अनुसार पनि करिब २ महिना अघि नै गभर्नर नियुक्ति भइसक्नुपर्ने थियो। तर भयंकर राजनीतिकरण, स्वार्थ समूहहरुको अत्याधिक चलखेल र बिचौलियाहरुको अत्याधिक प्रभावले अझै गभर्नर देशले पाउन सकेको छैन। तर त्यो पद अझै कसले उछिट्याउँछ भनेर यसै भन्न सकिने अवस्था छैन। पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, रास्वपाका सासंद तथा प्रख्यात अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लगायतले त यसपटकको गभर्नर नियुक्तिमा करोडमा हैन, अर्ब हाराहारीमा आर्थिक चलखेल भएको आशंका व्यक्त गरिसकेका छन्। विशेष अदालतका पूर्व गौरीबहादुर कार्कीले त गभर्नर नियुक्तिमा अहिलेको सरकार नागिंएको टिप्पणी गरेका छन्। उनले ब्यङ्ग्य गर्दै भारतीय सिपाइमा भन्दा नेपालमा गभर्नर हुन सजिलो भएको बताएका छन्।

माथि उल्लेखित व्यक्तित्वहरुले टिप्पणी गरेजस्तै गभर्नर नियुक्तिको विषयलाई लिएर आम सार्वसाधारणले सरकारको खिल्ली उडाएका छन्। सरकार हदैसम्म असक्षम र कमजोर रहेको दृष्टान्त गभर्नर नियुक्तिको विषय नै काफी भएको भनेर विपक्षी राजनीतिक दलहरुको टिप्पणी देखिन्छन्। हुन पनि यसबीच गभर्नर नियुक्तिको विषय यतिसम्म मजाक बनाइएको छ कि दुई महिना यताको सरकारको सम्पूर्ण कसरत त्यसैमा केन्द्रित देखिन्छ। गभर्नर नियुक्तिको लागि सिफारिस समिति बनाउने र भत्काउनेमै सरकारको समय गुज्रिएको छ। तर २ महिना बित्न लाग्दा पनि देशले गभर्नर जस्तो संवेदनशील पद पाउन सकेको छैन। फलस्वरुप राज्यले प्रत्यक्ष र अप्रत्यक्ष निकै ठुला घाटा ब्यहोर्दैछ। बजेट प्रस्तुत हुने बेला आइसक्दा नयाँ मौद्रिक नीतिको लागि तयारी गर्नुपर्ने समय गुज्रदैछ। गभर्नरको पदबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कामकारवाही रोकिएको छ।

यता गभर्नर नियुक्तिकै लागि ३–४ जना हाकिमहरुले आफनो पद नै त्याग गरेका छन्। आफनो लोभ लाग्दो तलब र सम्मानजनक पद त्यागेर गभर्नरको दौडमा लागेका तिनीहरु करिव किनारामा छन् अहिले। विभिन्न राजनीतिक दलहरुको आश्वासन अथवा अरु केही अदृश्य कारणहरुले हुनसक्छ, उनीहरुले हुँदा खाँदाका पदबाटै राजीनामा दिएर गभर्नरको दौडमा लागेका थिए। तर उनीहरु अहिले राजनीतिक दलहरुको गुटी बनेका छन्।

त्यसरी पद त्याग गरेर गभर्नरको दौडमा लागेकाहरुमा नबिल बैंकको सिइओ ज्ञानेन्द्र ढुंङगाना, राष्ट्र बैंककै कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगको सदस्य डा. प्रकाश कुमार श्रेष्ठ, राष्ट्र बैंककै अर्का कार्यकारी निर्देशक डा गुणाकर भट्ट र गर्भनर सिफारिस समितिबाट डा विश्व पौडेलले राजिनामा दिएका हुन्। यिनीहरु खासगरी सत्तासिन दलहरु काँग्रेस र एमालेको आश्वासनको गोलचक्करमा फेसका हुन्। बाहिर अभिव्यक्त भएका आम टिप्पणीहरु अनुसार कतिपय विचौलियाको, कतिपय स्वार्थ समूहको अथवा कतिपय  यिनीहरु फसेका हुन्। फलस्वरुप यिनीहरु भुँइतहले नै थाहा पाउने गरी बदनामी र खिस्सी टिउरीको पात्र समेत हुँदैछन्। किनकी गभर्नर पद भनेको गौरीबहादुर कार्कीले टिप्पणी गरेको भारतीय सिपाहीमा दर्खास्त हालेर जागिर खाए जस्तो सजिलो हुँदै होइन। हुनु हुँदैन।

गभर्नर हुन सुयोग्य मात्र भएर पुग्दैन,देशको गरिमा बोक्न सक्ने अनुशासित र राजनीतिको छत्रछायाँमा हुर्किएको नभइ स्वतन्त्र व्यक्ति हुनुपर्छ। किनकी राष्ट्र बैंक नै सक्षम, स्वतन्त्र व्यक्ति पुग्नुपर्ने एक संवेदनशील, स्वायत्त संस्था हो। जसले न्यायाधीश जस्तै कुनै राजनीतिक संघ संगठन, व्यापारिक घरना, बिचौलिया वा स्वार्थ समूह कतै नलागी देशको हितमा न्यायसंगत ढंगले काम गर्न सक्नुपर्छ। त्यस्तो मान्छेको गभर्नरको रुपमा आम प्रतिक्षा छ, जसले मौद्रिक तथा वित्तीय नीति र समग्र राष्ट्रिय तथा अन्तरराष्ट्रिय आर्थिक परिस्थीति बुझेको होस्। त्यसलाई केलाउन सकोस्। र, देशको परिपेक्षमा उचित नीति निर्माण गरेर कार्यान्वयनमा लान सकोस्। किनकी राष्ट्र बैंक एउटा सरकारको पनि सल्लाहकार संस्था हो। राष्ट्र बैकले सरकारले ल्याएको वित्तीय नीति र बजेटलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउन सक्नुपर्छ। मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सफल तुल्याउने एक महत्त्वपूर्ण हतियार वा औजार समेत हो। हो, त्यस्तो संस्थामा स्वार्थ रहित, देश हित हेर्ने अब्बल र दूरदर्शी नेतृत्व आवश्यक छ।

तर अहिले त गभर्नर पद दलीय भागबन्डाको सिकार भएको छ। त्यो पनि हाक्काहाकी भनिएको छ। स्वायत्त निकायमा दलिय कोटाको गभर्नर कति स्वायत्त होला? भोलि उसले देशको हितमा काम गर्ला कि कुनै दल, व्यक्ति वा समूहको हितमा? त्यसकारण पनि गभर्नर पद चरम खिचातानी र राजनीतिकरणको सिकार भएको देखिन्छ। राजनीतिको सिकार मात्र होइन त्यो पद नै अहिले च्याँखेदाउमा परिसकेको छ। कसले उछिट्याउँछ अझै ठेगान छैन।

काँग्रेसको भागमा परे पनि सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले त्यो पद आफैसँग ‘लोयल’ पात्रको हातमा पुर्याउने अनेक दाउ खेलिरहेका छन्। काँग्रेसकै कुनै आफुप्रति बफादार हुनसक्ने पात्रको खोजीमा पनि उनी देखिन्छन्। कतिपय अवस्थामा उनी माओवादीलाई देखाएर, माओवादी अध्यक्षसँग फोटो खिचाएर वा उनीसँग भेटेर काँग्रेसलाई तर्साउने नीतिमा पनि देखिन्छन्। गभर्नर नियुक्तिको विषय यति लामो बनाएका उनैले हुन्। यसरी अझैपनि को गभर्नर बन्ला भनेर भन्न सकिने अवस्था छैन।

यसैबीच अति विकट बझाङ जिल्लाका सुपरिचित अर्थशास्त्री डा. अंगराज तिमल्सीनाको नाम पनि चर्चामा आएको छ। नेपाली काँग्रेसकै अनुयायी तथा विगतमा अवसर नपाएका उनलाई गभर्नर बनाउनुपर्ने आवाज उठिरहेको छ। मुलरुपमा उनी अर्थशास्त्रका नामी स्कलर समेत हुन्।

हुन त अहिले गभर्नर सिफारिस समितिमा नयाँ अनुहार डा. पोषराज पाण्डेलाई भित्राइएको छ। काँग्रेसले एक हिसावले अर्थशास्त्री डा. विश्व पौडेललाई बनाउने भनेर त भनेको छ। तर आधिकारीक रुपममा प्रधानमन्त्रीलाई नाम दिएको वा सिफारिस समितिबाट नाम गइसकेको छैन। त्यसकारण यसबीचमा नयाँ ‘टुइस्ट’ पनि आउन सक्छ।

 

(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्।)




ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर गणतन्त्र ढाल्ने राजावादीको योजना !

May 18, 2025 06:03 PM

चैत्र १५ गते तिनकुनेमा भएको हिँस्रक ‘जनआन्दोलन’ पछि रक्षात्मक बनेका राजावादीहरुले अब गणतन्त्र ढाल्नको लागि टुनामुनाको सहायता लिने भएका छन् ।