'विनोद चौधरीको आमा बुबालाई किन चाहियाे सामाजिक सुरक्षा भत्ता? सामाजिक सुरक्षा भत्ता गरिबलाई मात्रै दिउँ'

Aug 20, 2025 03:32 PM Merolagani



महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनी रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन् । बुधवार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने बताए । उनले उच्च पदस्थ व्यक्ति र उनीहरुका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो ? भन्दै प्रश्न समेत गरे । विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको छिमेकी देश भारतले समेत मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता दिने गरेको उनको भनाई छ ।

नेपालमा भने राजनितिक दलहरुले आफ्नो फाईदाको लागी समाजिक सुरक्षा भत्ता वृद्धिमा प्रतिष्पर्धा गर्ने गरेको उनले बताए । उनले समाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टामा ६ हजार रुपैयाँ दिन पनि सकिने उल्लेख गर्दै तर उक्त भत्ता गरिबीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई मात्रै दिनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा २० प्रतिशत मानिस गरिबीको रेखा मुनी रहेको छ । सामाजिक सुरक्षा भत्ता पहिला उसले भेट्नुपर्ने । विनोद चौधरीको आमालाई, बुबालाई किन सामाजिक सुरक्षा ? मेरो आमा, बुबा, श्रीमतीलाई किन सामाजिक सुरक्षा भत्ता ? सामाजिक सुरक्षाको बजेट हेर्नुहोस् त खराबमा छ । के नेपालले धान्न सक्ने हो ? धान्न सक्ने आर्थिक स्थिति छ ? खाली आफ्नो पार्टीको हकहितको लागी १ सय देखी शुरु भयो । मेरो पार्टी आयो २ सय, तपाईको पार्टी आयो ५ सय, अर्को पार्टी आयो १ हजार, अर्को आयो ४ हजार । नेपालको आर्थिक स्थितिले यो धान्न सक्दैन, सक्दैन, सक्दैन । छिमेकी देश भारतमा विश्वमा तेस्रो आर्थिक समृद्धिमा आईराखेको छ । उसले ५ सय रुपैयाँ दिन्छ, सामाजिक सुरक्षामा । तर म रुपैयाँ घटाउन भन्दिन, ४ हजार रुपैयाँ दिनुहुन्छ भने ६ हजार दिनुस् । तर २० प्रतिशत जो गरिबीमुनी छ, त्यसलाई दिनुस् ।’

उनले नेपाल सरकारको बजेट र आर्थिक स्थितिले सामाजिक सुरक्षा धान्न मुस्किल पर्ने बताए । हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाती, बाल पोषण भत्ता लगायतका शिर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।




हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

Aug 19, 2025 10:10 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।