२०८२ असार २४ मा आएको बाढी र त्यसपछिको वर्षाका कारण तातोपानी र रसुवागढी भन्सार नाकाहरु बन्द हुन पुगेका थिए । बाढीका कारण सडकमार्ग नै भत्किएको र मितेरी पुल पुनः निर्माणको ढिलासुस्तीका कारण पनि चीनबाट आयात हुने मालसामानको ढुवानी र आपूर्ति व्यवस्थापन हुन सकिरहेको छैन् ।

चालू आर्थिक २०८२/०८३ मा मात्र २४ अर्ब ४७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको तातोपानी भन्सार कार्यालयले नाका बन्द हुँदा लक्ष्य प्राप्त गर्नै नसक्ने अवस्था रहेको बताउँछन् । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार, साउन र भदौ महिनामा करिब २ अर्ब ४४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा नाका बन्द हुँदा मुस्किलले १ अर्ब ४७ करोड रुपैयाँमात्र राजश्व संकलन भएको छ ।
उनका अनुसार, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र पुनः सुचारु गरेपछि पनि लगातारको वर्षाका कारण नाकाबाट मालबाहक गाडीहरु आउन सकेका छैनन् । उनका अनुसार, तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले लत्ता कपडाजन्य वस्तुहरु आयात गर्न नपाएको गुनासो गरिरहेका छन् ।
कतिपय व्यापारीहरुले भने नाका दशैंसम्म नखुल्ने देखेपछि तरकारी तथा फलफूलजन्य वस्तुहरु बोकेर वा भरियाको सहायतामा भन्सार पास गराउने गरेको चुडालले बताए । ‘मालबाहक र ठूला गाडीहरु त आउन सम्भव नै छैन् । व्यापारीहरुले पनि छिटो नाका खुलाउनुपर्यो भनेर दबाब दिनुभएको छ । हामीले समन्वय गरिरहेका छौं,’ उनले भने, ‘कतिपय व्यापारीले नाका नखुल्ने नै भयो भनेर होला, फलफूलहरु आफैंले बोकेर र कतिपयले भरियाको सहारामा भन्सार पास गर्न आउनुभएको हुन्छ ।’
बाढीपछि मितेरी पुल पूर्णरुपमा बगेसँगै तातोपानी नाका पूर्ण रुपमा २० दिन जति बन्द नै भयो । अस्थायी रुपमा सञ्चालनमा ल्याउन खोजिए पनि पानी पर्नासाथ सडकमार्ग अवरुद्ध भइहाल्ने अवस्था रहेको उनको भनाइ छ ।
तातोपानी मात्र होइन् बाढीका कारण करिब डेढ महिनादेखि रसुवागढी नाकासमेत यतिबेला ठप्प हुन पुगेको छ । बाढीका कारण चीनबाट कुनै पनि मालबाहक गाडीहरु भित्रिएका छैनन् । चालु आवमा झन्डै ४० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । रसुवा भन्सार कार्यालयका अनुसार, पछिल्लो साउन र भदौ महिनामा व्यापार ठप्प हुँदा राजशव संकलन नगन्य मात्रामा भएको देखिन्छ ।
रसुवा भन्सार कार्यालयका सुचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलले दशैंअघि नाका नखुल्ने बताए । मितेरी पुलमा पानीको बहाब बढ्दै गएकाले पनि बेलिबृज निर्माण कार्यमा ढिलाइ भइरहेको उनको भनाइ छ । दैनिक प्रशासनिक कामबाहेक भन्सार कार्यालयबाट भन्सार जाँचपासलगायतका कामहरु ठप्प भइरहेको उनको भनाइ छ ।