अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले कमिसन शुल्क घटाउने निर्णय गरेको हो। अर्थ मन्त्रालयले उक्त निर्णयको जानकारी धितोपत्र बोर्डलाई दिई सकेको छ।
यस अघि धितोपत्र बोर्ड सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो। ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयनमा लैजानु पूर्व बोर्डले अर्थ मन्त्रालयको सहमति खोजेको थियो। उसले सहमतिको लागि प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो। सोही प्रस्ताव बमोजिम नै अर्थमन्त्रीले ब्रोकर कमिसन घटाउने प्रस्तावमा सहमति दिएका हुन्।
तर बोर्डले भने उक्त निर्णयको कार्यान्वयनमा अलमल गर्दै आएको छ। त्यस विषयमा पुन छलफल गर्नु पर्ने बोर्डको तर्क छ। किनकि उक्त प्रस्ताव तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले गरेका थिए। जुन निर्णय गत कार्तिक १ गते बसेको बोर्ड बैठकले गरेको थियो। उक्त प्रस्ताव अहिलेको अवस्थामा लागु गर्न उचित हुने नहुने विषयमा बोर्ड आफै दुबिधामा छ। अर्को तर्फ यति बेला बोर्ड अध्यक्ष विहीन छ। जसले गर्दा धितोपत्र बोर्ड फेरि एक पटक अर्थमन्त्री सँग छलफल गरेर मात्रै कार्यान्वयनमा लैजाने निर्णयमा पुगेको छ। “ब्रोकर कमिसन घटाउने निर्णय गत कार्तिकमा भएको हो। अहिले स्वीकृत भएको छ। त्यसलाई कार्यान्वयनमा लैजानु पूर्व छलफल बाँकी नै छ। अर्थमन्त्रीलाई सोधेर मात्रै के गर्ने भन्ने निर्णय हुने छ ” धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले मेरो लगानीसँग भने।
अहिले अधिकतम ०.४० प्रतिशत र न्युनतम् ०.२७ प्रति
शत ब्रोकर कमिसन लाग्ने गरेको छ। तत्कालीन समयमा बोर्डले त्यसलाई घटाएर अधिकतम ०.३६ प्रतिशत र न्यूनतम ०.२४ प्रतिशतमा झार्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नै स्वीकृतिको लागि अर्थ मन्त्रालय प्रस्ताव पठाइएको थियो। प्रस्ताव बमोजिम नै मन्त्री पुनले स्वीकृति दिएका छन्।
पुनले स्वीकृत गरेको कमिसन दर कार्यान्वयन आएमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत लगानीकर्ताले कारोबार गरेबापत कमिसन तिर्नु पर्नेछ। २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिसन लाग्नेछ।
अर्थमन्त्री पुनले ब्रोकर कमिसन घटाउने प्रस्तावमा मात्रै स्वीकृति दिएका छैनन्, पुनले धितोपत्र बोर्डले लिँदै आएको शुल्क समेत घटाउन स्वीकृति दिएका छन्। यस अघि २०७७ पुस १० गते ब्रोकर कमिसन घटाइएको थियो। त्यस बेला माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशतमा झारिएको थियो। तर धितोपत्र बोर्डले लिने शुल्कमा भने कुनै फेरबदल गरिएको थिएन। धितोपत्र बोर्डले लिने शुल्क पहिलो पटक घटाउन लागिएको हो। पछिल्लो समय स्वीकृत दर अनुसार बोर्डले अब लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१४ प्रतिशत मात्रै शुल्क पाउने छ। यस अघि बोर्डले ०.०१५ प्रतिशत शुल्क लिँदै आएको थियो।
ब्रोकर कमिसन घटाएको विषयलाई लिएर ब्रोकर कम्पनी भने रुष्ट छन्। बजार तल्लो बिन्दुमा झर्दै गरेको अवस्थामा ब्रोकर कमिसन घटाएर मात्रै नहुने उनीहरूको तर्क छ। कारोबार रकम घट्दै गइरहेको अवस्थामा कमिसन थप घट्दा ब्रोकर कम्पनी नै चल्न कठिन हुने ब्रोकर कम्पनीहरूको गुनासो छ। यस अघि ब्रोकर कमिसन घटाउँदा निक्कै खुसी देखिने गरेका लगानीकर्ताले यस पटकको घटाइलाई खासै वास्ता गरेका छैनन्। अर्को तर्फ शेयर बजारले खासै सकारात्मक प्रतिक्रिया दिएको छैन। लगानीकर्ताले भने शेयर बजारमा लगाइएको १२ करोडको क्याप र जोखिम भार घटाउनु पर्ने माग अघि सारेका छन्। जुन माग सम्बोधन नभएसम्म घटेको कमिसन दरले पनि कुनै फरक नपार्ने सामाजिक सञ्जालमा लगानीकर्ताले लेखेका छन्।