भन्सार विभागको तथ्यांक अनुसार चालु आवको चैत्र मसान्तसम्म नेपालले २ अर्ब ९७ करोड ४६ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । गत आर्थिक वर्षभरिमा ७७ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएकोमा चालु आवको ९ महिनामै गत वर्षभन्दा ३.८५ गुणा सिमेन्ट निर्यात भइसकेको छ । गत वर्ष चैत्र मसान्तसम्म करोड ४२ करोड ३१ लाख रूपैयाँको मात्रै सिमेन्ट निर्यात भएको थियो। चैत्र महिनामा मात्रै नेपालले ५० करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिकर निर्यात गरेको थियो । सिमेन्टको व्यापार पनि नेपालको अर्थतन्त्रजस्तै बाह्य व्यापारको वृद्धि आकर्षक देखिए पनि आन्तरिक माग बढ्न नसक्दा सिमेन्ट कम्पनीको तेस्रो त्रैमासिक नाफा गत वर्षको नाफा भन्दा कम देखिएको हो ।
चुक्ता पुँजी र खुद नाफामा शिवम अगाडि, रिजर्भमा भने घोराही
नेप्सेमा सुचीकृत चार वटा सिमेन्ट कम्पनीमध्ये तीन वटाले प्रिमियम मूल्यमा र एउटा बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गरेका हुन । गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर जारी गरेको शिवम सिमेन्टकै चुक्ता पुँजी सर्वाधिक रहेको छ । शिवमको सबैभन्दा धेरै ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ भने हालै मात्र बुक बिल्डिङ विधिबाट आइपीओ निकालेको सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ मात्रै रहेको छ । सर्वोत्तमले गत आवको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । चुक्ता पुँजीको हिसाबले तेस्रो ठूलो सिमेन्ट कम्पनी घोरोही सिमेन्टले पनि गत वर्षको नाफाबाट १५ प्रतिशत नै बोनस शेयर जारी गरेको थियो भने सोनापुर मिरनल्सले भने गत वर्षको नाफाबाट कुनै लाभांश वितरण गरेन ।
रिजर्भको आधारमा सबैभन्दा धेरै रिजर्भ घोरोही सिमेन्टसँग रहेको छ । घोराहीसँग चुक्ता पुँजीभन्दा बढी अर्थात ५ अर्ब ५० करोड ६१ लाख ३४ हजार रुपैयाँ रिजर्भ पैसा रहेको छ भने सर्वोत्तम सिमेन्टसँग चुक्ता पुँजीभन्दा बढी अर्थात ५ अर्ब २४ करोड १८ लाख १९ हजार रुपैयाँ रिजर्भ रहेको छ। शिवम सिमेन्टको रिजर्भमा ४ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ भने सोनापुरसँग २ अर्ब १७ करोड रुपैयाँ रिजर्भ रहेको छ ।
शेयर बजारमा कुन सिमेन्ट कम्पनीको आपूर्ति कति ?
कोभिड शुरु हुनुभन्दा अगाडि नै आइपीओ जारी गरेको शिवम सिमेन्टको ३ वर्षे लकिङ पिरियड सकेर सबैं संस्थापक शेयर समेत साधारण शेयर जसरी नै कारोबार हुन थालिसकेको छ । शिवमले १२ प्रतिशत शेयर मात्रै सर्वसाधारणमा निष्काशन गरेको थियो । शिवमपछि सोनापुर मिनरल्सको सबैभन्दा धेरै ४० प्रतिशत शेयर सर्वसाधारणसँग छ भने त्यसपछि घोराहीको चुक्ता पुँजीको २० प्रतिशत र सर्वोत्तम सिमेन्टका १२ दशमलव ९० प्रतिशत शेयर सर्वसाधारणसँग छ । सर्वसाधारणमा रहेको १२ दशमलब ९० प्रतिशतको पनि ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्तासँग छ भने सर्वसाधारणको हिस्साको ६० प्रतिशतमा पनि उद्योग प्रभावित स्थानीय,म्युचुएल फन्ड र उद्योगमा
कार्यरत कर्मचारीको हिस्सा समेत जोडिएको छ । सर्वोत्तम सिमेन्टको तथ्यांक अनुसार झन्डै २९ लाख हाराहारी शेयर मात्रै अहिले कारोबारमा आएको छ । म्युचुएल फन्ड र योग्य संस्थागत लगानीकर्ताले हासिल गरेको शेयर आइपीओ बाँडफाँड भएको ६ महिनापछि मात्रै कारोबार योग्य हुने हुँदा बजारमा कम्पनीको शेयर आपूर्ति कम रहेको छ ।
शेयर मूल्यमा सर्वोत्तम अगाडि, प्रति शेयर आम्दानी शिवमको धेरै
सर्वोत्तम सिमेन्टको म्युचुएल फन्ड र योग्य संस्थागत लगानीकर्ताले हासिल गरेको शेयर आइपीओ बाँडफाँड भएको ६ महिनापछि मात्रै कारोबार योग्य हुने हुँदा बजारमा कम्पनीको शेयर आपूर्ति कम रहेको छ । शेयरको आपूर्ति नै कम रहेका कारण सिमेन्ट कम्पनीमध्ये सबैभन्दा महंगो शेयर मूल्य सर्वोत्तम सिमेन्टकै रहेको छ । सोमबारको बजार मूल्य अनुसार सर्वोत्तम सिमेन्टको शेयर मूल्य ७ सय ६५ रुपैयाँ छ भने सबैभन्दा कम सोनापुर मिनरल्सको शेयर मूल्य ४ सय ४० रुपैयाँ रहेको छ । शिवम सिमेन्टको मूल्य ४ सय ९३ रुपैयाँ ८० पैसा र घोराही सिमेन्टको शेयर मूल्य ४ सय ७७ रुपैयाँ ९० पैसा रहेको छ ।
प्रति शेयर आम्दानीका हिसाबले शिवम सिमेन्ट अगाडि रहेको छ । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार शिवम सिमेन्टको प्रति शेयर आम्दानी ५ रुपैयाँ ४१ पैसा रहेको छ भने दोस्रो धेरै प्रति शेयर आम्दानी सर्वोत्तम सिमेन्टको छ । सर्वोत्तम सिमेन्टको प्रति शेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा छ । घोरोहीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ७५ पैसाले नकारात्मक छ भने सोनापुर मिनरल्सको १२ रुपैयाँ ५ पैसाले नकारात्मक रहेको छ ।
नेटवर्थमा तगडा घोराही सिमेन्ट
प्रति शेयर आम्दानी, रिटर्न अन इक्विटी ऋणात्मक रहे पनि कम्पनीको नेटवर्थ भने ४ वटा कम्पनीमध्ये सबैभन्द राम्रो रहेको छ । घोराहीको नेटवर्थ २ सय २० रुपैयाँ ५५ पैसा र सर्वोत्तम सिमेन्टको नेटवर्थ २ सय १२ रुपैयाँ ७३ पैसा रहेको छ । शिवमको नेटवर्थ १ सय ८८ रुपैयाँ र सोनापुरको सबैभन्दा कम १ सय ७० रुपैयाँ मात्रै रहेको छ ।