उनले जेठ १५ गते भित्र पार्टीले आफूलाई फिर्ता बोलाएर अर्काे कसैलाई मन्त्री बनाइदिन पार्टी नेतृत्वलाई ‘अल्टिमेटम’ नै दिएका छन् ।
ती मन्त्री हुन्-शहरी विकास मन्त्री धनबहादुर बुढा । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले पार्टी अध्यक्ष माधव नेपाल र घनश्याम भुसाललाई भेटेर मन्त्रीबाट हटाउन अनुरोध गरेका हुन्।
स्रोतका अनुसार गत साता बसेको संसदीय दलको बैठकमै उनले आफू मन्त्री पद त्याग्न तयार रहेको बताएका थिए । त्यसलगत्तै अहिले नेताहरुलाई भेटेर १५ गते भित्र फिर्ता नबोलाए आफूले राजीनामा दिने बताएका हुन् ।
स्रोतका अनुसार आफूले किन राजीनामा दिन लागेको हो भनेर बुढाले स्पष्ट रुपमा केही बताएका छैनन् । तर, उनले आफू निकटका व्यक्तिहरुलाई आफूलाई पार्टी नेताहरुबाट धेरै दबाव आएको र त्यो सहन मुस्किल परेको तथा मन्त्री बनेपछि आफ्नो व्यवसाय पनि लथालिङ्ग भएकोले त्यसलाई सम्हाल्न राजीनामा दिन लागेको बताउने गरेका छन् ।
'क' श्रेणीका निर्माण व्यवसायी समेत रहेका बुढा यार्सागुम्बाका पनि चर्चित व्यापारी हुन् । उनले एक पटक राज्य मन्त्री र एक पटक ‘फूलमन्त्री’ बनेपछि राजनीति गर्ने आफ्नो रहर सकिएको बताउने गर्छन् । त्यहीअनुसार अब आफू चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
राप्रपाबाट एमाले प्रवेश गरी २०७० मा पहिलोपटक सांसद बनेका बुढा त्यसयता लगातार डोल्पाबाट चुनाव जितिरहेका छन् । उनी यसअघि रविन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला केही समय राज्यमन्त्री बनेका थिए ।