अर्थतन्त्र चलायमान नहुँदा बीमाको दायरा समेत संकुचित, गत वर्षभन्दा १.३ प्रतिशतले घट्यो बीमाको दायरा

Sep 08, 2024 06:27 PM Merolagani



बीमा कम्पनीहरुको साथै विस्तारै लघु बीमा कम्पनीहरुसमेत बढ्दै गए पनि बीमा कभरेज भने विस्तारै घट्दै गएको देखाएको छ । नेपाल बीमा प्राधिकरणको चालु आवको साउन महिनासम्मको तथ्यांक अनुसार बीमा दायरा विस्तारै खुम्चिदै गएको देखाएको हो ।


प्राधिकरणको तथ्यांक गत आवको साउन मसान्तसम्म कुल जनसंख्यामा ४४ प्रतिशत रहेको बीमाको दायरा अहिले खुम्चिएर ४२ दशमलब ७० प्रतिशतमा पुगेको छ । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई समावेश गर्दा यस्तो अवस्था देखिएको हो ।

अझ नेपालको बीमा बजारमा वैदेशिक रोजगार, म्यादी र लघु म्यादी जीवन बीमा लेखलाई समावेश नगर्दा बीमाको दायरा कुल जनसंख्यामा १७ प्रतिशतको हाराहारीमा मात्र पुग्ने तथ्यांकले देखाएको छ। त्यस्तै म्यादी जीवन बीमालेखलाई तथ्यांकमा संलग्न गर्दा भने बीमाको दायरा बढेर ३५ प्रतिशतको हाराहारीमा पुगेको छ भने त्यसमा वैदेशिक रोजगार बीमालाई समेत समावेश गर्दा यो अझ फराकिलो भएर ४२ प्रतिशत जनसंख्यामा पुगेको हो । यो तथ्यांकले म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखले नेपालको बीमा बजारमा बृहत जनसंख्यालाई समेटेको देखिएको हो ।
समग्र बीमा बजारमा जनताको सहभागिता बढाउन विशेष योगदान दिने भए पनि पछिल्लो समय अर्थतन्त्रको संकुचनसँगै म्यादी र लघुम्यादी जीवन बीमालेख संख्या विस्तारै घट्दै गएको देखिएको छ। गत आवको साउन महिनामा ६७ लाख ५१ हजार २ सय ७३ वटा म्यादी तथा लघु म्यादी जीवन बीमा लेख रहेकोमा चालु आवको साउन महिनामा यो ११ दशमलब ९३ प्रतिशतले घटेर ५९ लाख ४५ हजार ६ सय ७३ वटामा सीमित हुन पुगेको छ । साउनमा कुल सक्रिय बीमालेख संख्यामा समेत २ दशमलब २४ प्रतिशतले गिरावट आएको छ ।

सक्रिय जीवन बीमालेख संख्यामा गिरावट आए पनि निर्जीवन बीमा लेख संख्यामा भने १२ दशमलब ८५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

चालु आवको पहिलो महिनामा प्रथम बीमा शुल्क संकलनमा २३ दशलमब ५८ प्रतिशतले वृद्धि भएको छ। गत आवको साउनमा २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएकोमा चालु आवको पहिलो महिनामा यो बढेर २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । प्रथम बीमा शुल्क संकलनमा वृद्धि देखिए पनि नवीकरणीय बीमा शुुल्क संकलनमा भने ९ दशमलब ०९ प्रतिशतले गिरावट आएको छ । नवीकरणीय जीवन बीमा शुल्क गत आवको साउनमा १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ संकलन भएकोमा यो घटेर १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।

प्रथम जीवन बीमा शुल्कमा वृद्धि देखिए पनि नवीकरणीय जीवन बीमा श्ुल्कमा गिरावटको असर स्वरुप कुल जीवन बीमा संकलनमा पनि साउनमा ५ दशमलब २६ प्रतिशतले गिरावट देखिएको हो । निर्जीवन बीमा शुल्क संकलनमा साउनमा ८ दशलब १७ प्रतिशतले वृद्धि देखिएको हो । जीवन बीमा र निर्जीवन बीमामा जीवन बीमाको व्यापारको आकार तुलनात्मक रुपमा बढी देखिएको छ । कम मात्रै शुल्क संकलन हुने निर्जीवन बीमा शुल्कमा वृद्धि देखिए पनि धेरै आकारको व्यापार गर्ने जीवन बीमा कम्पनीको बीमा शुल्क संकलनमा गिरावट आउँदा समग्र बीमा कम्पनीकै बीमा शुल्क संकलनमा गिरावट देखिएको हो । गत आवको साउनमा बीमा कम्पनीहरुले २३ अर्ब २९ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा चालु आवको साउन महिनामा यो घटेर २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

अर्थतन्त्रको संकुचनको कारण बीमाको दायरामा संकुचन भए पनि बीमा कम्पनीहरुको कार्यालय संख्यामा ६ दशमलब ९० प्रतिशत र कर्मचारी संख्यामा ४ दशमलब ८४ प्रतिशतले वृद्धि भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।