कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेर कारोबार बन्द गरिएपछि त्यसको असर ‘लो क्याप’ विकास बैंक र फाइनान्स कम्पनीहरुमा देखियो। कर्णाली विकास बैंकको कारोबार बन्द भएसँगै विकास बैंक र फाइनान्स कम्पनीको शेयरमा भारी गिरावट आयो। यी दुई समूहका प्रायः सबै कम्पनीहरुको शेयर दुई तीन दिन सर्किट लागेर बन्द भएपछि अपरेटरहरुले मूल्य रोक्ने प्रयासपछि फेरि केही दिन विकास बैंक र फाइनान्स समूहका कम्पनीको शेयर मूल्य माथि राख्ने प्रयास गरे।
यही बीचमा नेपाल राष्ट्र बैंकको हवाला दिँदै विकास बैंक र फाइनान्स समूहका केही कम्पनीहरु पनि कर्णाली विकास बैंककै हालतमा रहेको तथ्य सार्वजनिक भयाे। नेपाल राष्ट्र बैंकका अधिकारीहरुले संकटग्रस्त अवस्थामा रहेका विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मर्जरमा लिइदिन आग्रह गरे। विकास बैंक र फाइनान्स कम्पनी आफैले पनि साधारण सभामा मर्जरमा जाने एजेन्डा घुसाएर सूचना निकाले। वाणिज्य बैंकहरुले पनि उपयुक्त मूल्यमा विकास बैंक र फाइनान्स कम्पनी भेटिए मर्जरको लागि तयार रहेको सूचना सार्वजनिक गरे।
शेयर बजारमा अहिले फाइनान्स कम्पनीको शेयर मूल्य एकदमै उच्च छ। विकास बैंकको पनि त्यही हालत छ तर वाणिज्य बैंकको शेयर मूल्य भने एकदमै न्यून छ। वाणिज्य बैंकहरुले फाइनान्स कम्पनीको शेयर अंकित मूल्य भन्दा धेरै कम मूल्यमा पाएमा मात्रै किन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन्। उच्च मूल्य भएका फाइनान्स र विकास बैंकहरु न्यून मूल्य भएको वाणिज्य बैकसँग डिस्काउन्टेड मूल्यमा मर्जरमा जाँदा फाइनान्स र विकास बैंकका लगानीकर्तालाई दोहोरो घाटा हुन्छ। दोहोरो घाटा हुने डरले नै अहिले फाइनान्स र विकास बैंकको शेयर मूल्य द्रुर्त गतिमा घट्न थालेको लगानीकर्ताहरु बताउँछन्।
सन् २०२५ को जनवरी लागेपछिको ११ कारोबार दिनको विश्लेषण गर्दा नेप्से परिसूचकमा खासै परिर्वतन नदेखिए पनि हाइड्रोपावर समूहमा भने ७.४१ प्रतिशतको वृद्धि देखिएको छ। हाइड्रोपावरसँगै होटल, विकास बैंक समूहमा पनि क्रमशः ४.५१ प्रतिशत र ४.१५ प्रतिशतमा वृद्धि देखिएको छ। जीवन बीमा समूहमा ११ कारोबार दिनमा १.७७ प्रशितको वृद्धि देखिएको छ भने लगानी समूहमा शून्य दशमलब ८१ प्रतिशतले वृद्धि हुँदा उत्पादनमूलक समूह शून्य दशमलब ६७ प्रतिशत र निर्जीवन बीमा समूह शून्य दशमलब ५७ प्रतिशतले बढेको देखिएको छ।
१२ उपसमूहमध्ये ७ वटा उपसमूहमा वृद्धि देखिँदा बाँकी पाँच समूह भने यो बीचमा घटेका छन्। सबैभन्दा धेरै घट्नेमा भने फाइनान्स समूह परेको छ। फाइनान्स समूह ८.६९ प्रतिशतले घटेको छ भने बैकिङ समूह ३.२६ प्रतिशत, व्यापार समूह ३.१३ प्रतिशत, अन्य समूह १.८१ प्रतिशत र माइक्रोफाइनान्स समूह भने १.२६ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक स्थिरजस्तै देखिए पनि १२ वटा उपसमूहमध्ये हाइड्रोपावर समूहमा सबैभन्दा बढी चार्म देखिएको छ भने सबैभन्दा खराब प्रदर्शन भने फाइनान्ससमूह सँगै अन्य बैंक तथा वित्तीय संस्था समूहको रहेको छ। बैंक तथा वित्तीय संस्थामध्ये विकास बैंक समूह मात्रै जनवरीको १६ तारिखसम्म पुग्दा ४.५१ प्रतिशतले बढेको देखिएको हो। लगानीकर्ताहरुका अनुसार पछिल्लो समय लो क्याप विकास बैंकका शेयरमा खेलाडीहरु हात धोएर लागेका कारण विकास बैंकको शेयर मूल्य झर्न नसकेको छ। विकास बैंक समूहमा पनि वित्तीय अवस्था राम्रा रहेका हाइ क्याप कम्पनीको शेयर मूल्य खासै बढ्न सकेको छैन। न्यून पुँजीका विकास बैंक समूहलाई अपरेटरहरुले थेगिदिँदा विकास बैंक समूहका कम्पनीको शेयर झर्न रोकिएको ती लगानीकर्ताको दाबी छ।
फाइनान्स कम्पनीको सवालमा भने मर्जर जाने चर्चासँगै लगातार फाइनान्स कम्पनीको बजार मूल्य घटिरहेको छ। फाइनान्स समूहले गत सेप्टेम्बरमा बनाएको ‘लो प्वाइन्ट’ समेत ब्रेक गरेर तल झरिसकेको छ। फाइनान्सका अपरेटरहरुले ‘फ्रि’ फल हुँदा समेत मूल्य नथामिदिएपछि बजारले अघिल्लो लो प्वाइन्ट ब्रेक गरेर तल आएको छ।
फाइनान्ससँगै नेपाल राष्ट्र बैंकले दिएको सुविधाको समय नथपिँदा वाणिज्य बैंकको खराब कर्जा थप बढेर आउने आँकलनमा वाणिज्य बैंक र माइक्रोफाइनान्स समूह पनि विगत ११ कारोबार दिनमा थप घट्ने सूचीमा परे।
बजारमा बैंक तथा वित्तीय संस्थाका कम्पनीहरुको शेयरमा निरन्तर गिरावट आइरहँदा पनि हाइड्रोपावर समूहका कम्पनीको शेयर मूल्य भने निरन्तर बढिरहेको छ। लकिङ पिरियड नखुलेका र लो क्याप हाइड्रोपावरको शेयरको माग बढ्दा यो समूह सबैभन्दा बढी ७.४१ प्रतिशतले बढ्न गएको हो। बजार विश्लेषक सुवासचन्द्र ढुगाना बजारमा बैंक तथा वित्तीय संस्थाका कम्पनीको शेयर मूल्य सुस्ताएको बेला हाइड्रोपावरले बजार थेग्ने गरेको बताउँछन्। ‘कोभिडको समयमा पनि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य आकाशिएको थियो। अहिले ऋणको व्याज दर अत्यन्त न्यून भएको समय हो। यो समय भनेको हाइड्रोपावर कम्पनीले अन्य समयमा भन्दा कम व्याज मात्रै तिरे पुग्ने हुँदा वित्तीय विवरण पनि राम्रो आउने आशामा हाइड्रोपावरमा आकर्षण देखिएको हो।’–उनले भने। हाइड्रोपावर कम्पनीहरुमा ठूलो अंश बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन ऋण रहेको हुन्छ। हाइड्रोपावरले विद्युत उत्पादन गरेको आधारमा आम्दानी गर्नुको अतिरिक्त ऋणको व्याज दर घट्दा पनि फाइदा पाएको हुन्छ। अहिले लगानीकर्ताले हाइड्रोपावरको यही अवस्थालाई ‘क्यास’ गर्न खोजेको लगानीकर्ताहरु बताउँछन्।