एकातर्फ अमेरिकी नागरिकले यस अघि कहिल्यै नभोगेको महंगी भोग्न वाध्य हुनु पर्ने अवस्था सृजना भएको छ भने अर्काेतर्फ अमेरिकी सामानको विश्व बजारमा रहेको माग घटेकाले उद्योगहरुले पनि ठूलो समस्याको सामना गर्नु परिरहेको छ ।
ट्रम्पले अमेरिकी उद्योगको रक्षा गर्नको लागि भन्दै विदेशबाट अमेरिका प्रवेश गर्ने सामानहरुमा लाग्दै आएको करमा चर्काे वृद्धिको घोषणा गरिरहेका छन् । त्यसले गर्दा चीन लगायतका देशहरुबाट अमेरिकी उद्योगीहरुले आयात गर्ने कच्चा पदार्थको मूल्य पनि स्वतः आकासिएको छ ।
कच्चा पदार्थको मूल्य बढेपछि बस्तुको मूल्य बढ्नु स्वभाविक हो । त्यसमाथि व्यापार युद्धको कारण अहिले विश्वका धेरै देशले अमेरिकी उत्पादनकाे माग घटाएका छन् । अर्थात् एकातर्फ उत्पादन लागत बढ्नु र अर्काेतर्फ बजारमा उत्पादित सामानको माग घट्नु ! ट्रम्पको नीतिका कारण अमेरिकी उद्योगीहरुले अहिले एकै पटक दोहोरो मारको सामना गरिरहेका छन् ।
यस्तो समस्या उनीहरुले सम्भवतः कोरोना कालमा बाहेक अरु बेला भोगेका थिएनन् । कोरोनाकालमा बजारमा माग घटे पनि उत्पादन लागत बढेको थिएन ।
अर्थशास्त्रीहरूका अनुसार ट्रम्पले शुरु गरेको व्यापार युद्धका कारण दीर्घकालीनरुपमा कस्तो असर पर्ला त्यो आफ्नो ठाउँमा छ, तत्कालको भने तल दिइएका बस्तुहरुको मूल्यमा चर्काे वृद्धि भइरहेकोले अमेरिकी उपभोक्ताहरु चर्काे पीडामा परेका छन् ।
कार
अर्थतन्त्र सम्वन्धि अनुसन्धान गर्ने अमेरिकी संस्था टिडी इकोनोमिक्सका अनुसार अमेरिकी बजारमा कारहरूको विक्री मूल्य तीब्ररुपमा बढ्न शुरु गरेको छ । केही महिनाभित्र कारहरुको औसत मूल्य ३,००० डलर भन्दा धेरैले बढ्नेछ ।
अमेरिकी कार निर्माण कम्पनीहरुले कतिपय महत्वपूर्ण पार्टपुर्जाहरु चीन लगायतका देशबाट आयात गर्छन् । तर, ट्रम्पले ती सामानहरुमा चर्काे भन्सार शुल्क लगाएपछि कारको उत्पादन लागत नै बढ्दैछ । त्यसको मारमा अमेरिकी कार उपभोक्ताहरु परिरहेका छन् ।
बियर, व्हिस्की र टकीला
मेक्सिकन बियर मोडेलो अमेरिकी बियर पारखीहरुको बीचमा सर्वाधिक लोकप्रिय पेय पदार्थ हो । सन् १९९० को दशकदेखि नै धेरै हदसम्म उक्त बियर अमेरिकामा भन्सारमुक्त थियो । तर ट्रम्पले अहिले २५ प्रतिशत भन्सार शुल्क लगाएपछि उक्त वियरको मूल्य एकाएक आकासिएको छ । मोडेलो मात्र होइन, बोर्बोन, टेनेसी व्हिस्की, टकीला र क्यानेडियन व्हिस्कीहरुको मूल्य पनि अहिले कैयौं गुना बढिरहेको छ ।
घरहरु
अमेरिकाले प्रत्येक वर्ष क्यानडाबाट ठूलो मात्रामा आवास निर्माणसँग सम्वन्धित सामाग्रीहरु आयात गर्छ । त्यस्ताे सामान आयातमा ट्रम्पले कटाैती गरेका छन् । त्यसले गर्दा घर निर्माणको लागत हवात्तै बढेको छ । लागत बढ्दा त्यसले समग्र वित्तीय प्रणालीमै असर पारेको छ ।
अमेरिकाको ‘नेशनल एशोसिएसन अफ होम बिल्डर्स’ले राष्ट्रपति ट्रम्पलाई निर्माण सामग्रीहरूमा राजनीति नगर्न र चर्काे कर कर लगाएर नागरिकहरुले घर बनाउनै नसक्ने अवस्था सृजना नगर्न अनुरोध गरेको छ । ‘निर्माण सामाग्रीमा लगाइएको ट्यारिफ हटाइएन भने घर निर्माणको लागत कैयौं गुणाले बढ्ने छ र धेरै अमेरिकीहरु आफ्नो घरमा बस्ने सपना पुरा गर्न सक्ने छैनन्’ एशोसियसनले भनेको छ ।
मेपल सिरप
ट्रम्पले शुरु गरेको कर युद्धले सबैभन्दा बढी प्रभाव पारेको अर्काे बस्तु मेपल सिरप हो । विशेष प्रकारको काठबाट बनाइने मेपल सिरप औषधि र केक लगायतका विभिन्न प्रकारका खाद्य पदार्थलाई गुलियो बनाउन प्रयोग गरिन्छ ।
अमेरिकी उद्योगहरुले क्यानडा लगायतका देशबाट आयात गर्छन् । तर, अहिले आयात ठप्प भएको छ । त्यसले गर्दा अमेरिकी खाद्य तथा औषधि उद्योगहरुमा मेपल सिरपको हाहाकार शुरु भएको छ । त्यसको अन्तिम असर औषधि र केक लगायतका खाद्य वस्तुहरुको मूल्यमा पर्नेछ र ती वस्तुहरु अचाक्ली महंगो हुने अवस्था सृजना भएको छ ।
एभोकाडो
अमेरिकी उपभोक्ताहरूले उल्लेखनीय मूल्य वृद्धि देख्न सक्ने एउटा खाद्य आयात एभोकाडो हो ।
मुख्यतया मेक्सिकोमा यसको न्यानो, आद्र्र मौसमको कारण हुर्किएको, मेक्सिकन एभोकाडोले अमेरिकी एभोकाडो बजारको लगभग ९०% हिस्सा ओगटेको छ । तर, ट्रम्पले मेक्सिकोसँग कर युद्ध शुरु गरेपछि अमेरिकामा एभोकाडो आयात ठप्प भएको छ र बजार मूल्य आकासिएको छ ।
यी त केही प्रमुख बस्तुहरु मात्र हुन् । ‘ट्रम्पको नीतिको कारण अहिले अमेरिकी उद्यमी र उपभोक्ताहरु इतिहासमै नभएको संकटबाट गुज्रिरहेका छन् । र, यो अवस्थामा उनीहरु कति महिना वा पुरै ४ वर्ष (ट्रम्पको कार्यकाल अवधिभर) कसरी टिक्लान् ? त्यो उनीहरुसँग पनि छैन’ टिडी इकोनोमिक्सका अर्थशास्त्री एन्ड्रयू फोरान भन्छन् ।