त्यसले गर्दा अन्यन्त्र बैंकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ। खासगरी अमेरिका, चाइना जस्ता व्यापारको जगमा सम्पन्न भएका देशहरुमा बैंकहरुको ब्याजदर अत्यन्त न्युन छन्। तर नेपालमा केही समय अघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले उन्मुक्ति पाएका थिएनन्। त्यसैले पनि बैंकहरुलाई आधुनिक शुदखोरझै व्यवसायीहरुले ठाने। जति सफाचट र प्रणालीमा चलेको भएपनि समाजमा बैंकहरुको पछिल्लो समय धेरै नै आलोचना भएको हो।
विगतमा जे–जस्ता महामारी आएपनि बैंकहरुको नाफा बृद्धि भएकै हो। तर उद्योगी व्यवसायीहरु भने मारमा परिरहे। हालै केही वर्ष चलेको कोरोनाको माहामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ। एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोना लगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे। साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे। युवा पलायन बढ्यो। उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मर्यो।
अहिले पनि अर्थतन्त्र सुस्त हिसाबको मन्दीमै छ। आन्तरिक आर्थिक गतिविधिहरु कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ। अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ। तरपनि बैंकहरुको मुनाफा भने बढेकै देखिन्छ। जस्तो चालु आर्थिक बर्ष ०८१–८२ को ८ महिनामा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी नाफा गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसबीच क्रमश ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन्। अरु वाणिज्य बैंकहरु पनि राम्रै नाफा आर्जन गरेका देखिन्छ। यसरी बैंकहरुको मुनाफा मन्दी होस् वा कोरोना माहामारी वा जस्तै विपतदमा पनि बढेकै देखिन्छ। तर उद्यमशीलता, आर्थिक बृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन। बरु कमजोर हुँदै गएको छ।
यसले व्यवसायिक वातावरणमा राम्रो रहेको देखाउँदैन। जसले सामाजिक उद्यमशीलता, रोजगारी बृद्धिमा नकारात्मक प्रभाव पारेको छ। हिजोआज मानिसहरु कुन व्यवसाय गर्ने?, के गर्ने? भन्ने सम्बन्धमा एकचोटी सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन्। वास्तबमा यसले दीर्घकालीन रुपमा बैंकहरुलाई बेफाइदा गर्ने हो।
बैंकहरुले ब्यवसायको दायरा पो बढाउनु पर्ने हो। तर बढी नाफा आर्जन गर्ने मात्रैको सोच स्थापित हुँदैछ। उनीहरुको नाफामात्रैको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलोग्दो रुपमा बढेको छ। अहिले वाणिज्य बैंकहरुको औषत खराब कर्जाको दर ५ प्रतिशत नाघ्न थालेको छ। वास्तवमा बैंकहरु अल्पकालिन नाफामा केन्द्रित रहँदा आर्थिक बृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता वृद्धिमा बैंकहरुको ध्यान जान सकेको छैन।
उद्यमशीलता
नीजि क्षेत्रका कलेज तथा बैंक–वित्तीय संस्थाले उद्यमशीलता अभिवृद्धि गर्न सशक्त भुमिका खेल्न सक्छन्। तर त्यसको प्रभावकारी पहल उनीहरुले गरेका देखिदैन।
राज्यले उमशीलतालाई प्रोत्साहन गरेको पनि छैन। राजनीतिक दलहरु उद्यमी व्यवसायीहरुलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधन मात्रै ठानेका हुन्छन्। समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरुमा कहिँकतै देखिदैन।
उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ। त्यो पनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर। उद्यमीमा पैसा कमाउने र बढाउने व्यग्र इच्छा हुदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो। उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कदाचित हुँदैन। एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हुँदैन। उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ।
बैंकहरुसँग ऋण लिएर उनीहरुको आम्दानी वृद्धिमा सघाएको हुन्छ। आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ। राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ। नयाँ–नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, सम्बृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ। अनि हामी तिनै उद्यमीहरु जो मौरीजस्तो खटिरहेका हुन्छन् दिमाग खियाइरहेका हुन्छन् तिनैलाई लखेट्छौ भने देश कसरी उभो लाग्छ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन्। उनीहरुहरुलाई राज्यले, समाजले, वित्तिय संस्थाहरुले सबैले सम्मान गर्नुपर्छ, उनीहरुलाई सहयोग गर्नुपर्छ।
उद्यमशीलता वृद्धिमा बैंकको भुमिका
धेरैजसो उद्यमीहरुलाई आफनै स्रोतमार्फत पूँजी पुर्याउन गाह्रो हुन्छ। किनकी उनीहरुलाई वित्तीय ज्ञान र व्यवस्थापनको अभाव पनि हुनसक्छ। त्यसकारण पूँजी बिना अर्थात ऋण बिना उद्यमीहरुलाई कोष जुटाउन गाह्रो हुन्छ। उनीहरुको प्राथमिक स्रोत नै बैंकहरुबाट प्राप्त गर्ने ऋण नै हो। जस्तो ऋण प्रवाह गर्नु बाहेक पनि बैंकहरुले विभिन्न तवरले उद्यमीहरुलाई सघाइरहेका हुन्छन्। जस्तो बैंकहरु पैसा र सम्पति सुरक्षित राख्छन्। उनीहरुले उद्यमीका बहुमुल्य सम्पत्ति र पैसा सुरक्षीत राखेर सहयोग गर्छन्। त्यसैगरी ग्राहकसँगको व्यवसायीक कारोबार सहज बनाउन बैंकहरुले भुक्तानी प्रणालीलाई सहज बनाइ दिएका हुन्छन्। फलस्वरुप उद्यमीहरुलाई करोबारमा सहयोग पुग्दछ। त्यसैगरी बैंकहरु नै उद्यमीहरुका उत्कृष्ट सल्लाहकार पनि हुने गर्छन्। बैंकहरुले उद्यमीहरुलाई कर, कम्पनी तथा लगानी सम्बन्धी उचित सल्लाह पनि दिन्छन्।
जस्तो कि अहिले नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरु छन्। उनीहरुले पूँजीको बागडोर सम्हालेर बसिरहेका छन्। उद्यमी व्यवसायी र उनीहरुको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ। बैंकहरुको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी ब्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरु नै चाहिन्छन्। त्यसकारण मुलत बैंकहरुले अब आफनै व्यवसाय बढाउने दीर्घकालिन सोच राखरे पनि उद्यमीहरु कसरी बढाउने भन्नेबारे कार्यक्रमहरु अघि ल्याउन सक्नुपर्छ। केही हदसम्म राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनएमबि बैंकहरुले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेका देखिन्छन्। नबिल बैंकले त दिगो बैकिङको नारा नै अघि सारेको छ। उसले त्यसै नारा अन्र्तगत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ। भलै नबिलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नविनतम सुरुवात हो। सबै बैंकहरुले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रुपमा गर्न जरुरी देखिन्छ। खाली व्यवसायिक युनिटहरुको विस्तार गर्ने, भाँडो थाप्ने मात्रै होइन। भाँडो भरिदिने विइङसको सिर्जना गर्दै लैजानुपर्छ। बैंक वित्तीय संस्थाहरुको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो।
बैंक–वित्तीय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुँदैन। आधुनिक समयमा नविनतम हिसावले पनि सोच्न जरुरी छ।
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्।)