‘यो पूर्ण रूपमा अनपेक्षित थियो’ दुई सन्तानकी ३८ वर्षे आमाले भनिन् ।
‘म युवा, स्वस्थ, तन्दुरुस्त र कुनै जोखिम नभएकी मानिस थिए, त्यो मलाई हुनुपर्ने थिएन । मैले विश्वासै गर्न सकिनँ। मेरो वास्तविकताबाट क्यान्सर धेरै परको कुरा थियो,’ उनको भनाइ छ ।
लुइसामा तेस्रो चरणको क्यान्सर भएको सन् २०२४ को मार्च महिनामा पत्ता लाग्यो र तेस्रो चरण भन्नुको अर्थ त्यो विकसित भइसकेको थियो ।
उनलाई त्यसपछि साँढे चार महिनाभन्दा बढी समयका लागि कीमोथेरपी दिइयो । सँगै शल्यक्रिया गरियो र स्तन हटाइयो अनि रेडिओथेरपी गरियो । उनको उपचार अगस्टमा सकियो तर अझै पनि उनले क्यान्सर नदोहोरियोस् भनेर सावधानी अपनाउनुपर्छ र औषधि पनि निरन्तर लिनुपर्छ ।
‘कीमोथेरपी एकदमै कडा थियो तर मेरो शरीरले राम्ररी त्यसलाई झेल्यो’ उनले सम्झिइन् —त्यसको जस म आफू सक्रिय र युवा हुनु अनि शरीर सहनशील हुनुलाई दिन्छु । त्यसपछि शल्यक्रिया भयो ।
‘धन्न, मैले आफ्नो पूरै स्तन हटाउनु परेन । असाध्यै कठिन भनेको कपाल गुमाउनु थियो। असाध्यै छिटो र तीव्र रूपमा कपाल झर्यो । जब म ऐनामा आफ्नो अनुहार हेर्थे, म आफैँ डराउँथे र त्यसले मेरो बच्चाहरूलाई पनि असर गर्यो ।’
लुइसाको कथा एक्लो कथा होइन । यसले विश्वव्यापी रूपमा बढ्दै गएको प्रवृत्ति झल्काउँछ, थप युवाहरूमा क्यान्सर देखिन थालेको छ र त्यो पनि उनीहरूका आमाबुवा वा परिवारमा कसैलाई नदेखिएका अवस्थाका युवाहरूमा बढी देखिन थालेको छ ।
वृद्ध वा पाका मानिसहरूमा जैविक,वातावरणीय र जीवनशैलीका कारण बढीजसो क्यान्सर हुने गरेको छ ।
त्यसैले क्यान्सर विशेषज्ञहरूले कम उमेरका वयस्क महिलामा प्रारम्भिक चरणकै स्तन क्यान्सर देखिएमा त्यसलाई ’बीआरसीए १’ र ’बीआरसीए २’ जस्ता वंशाणुगत कारणहरूसँग जोडेर हेर्थे ।यद्यपि लुइसाजस्ता थप बिरामीहरूमा भने त्यस्ता कुनै वंशाणुगत सङ्केतहरूको पूर्वस्थितिको स्पष्ट सङ्केतहरू देखिएका छैनन् ।
क्यान्सरका बढ्दो घटना
‘बीएमजे अङ्कलजी’मा हालै प्रकाशित एउटा अध्ययनबाट सन् १९९० र २०१९ को बीचमा विश्वभरि ५० वर्षमुनिका वयस्कहरूमा क्यान्सरको प्रारम्भिक अवस्थामा ७९ प्रतिशतले वृद्धि भएको देखिएको छ । त्यही उमेर समूहमा क्यान्सरसँग सम्बन्धित मृत्युहरूमा २८ प्रतिशतले वृद्धि भएको छ । उक्त अध्ययनले विश्वभरिका २०४ देशमा २९ प्रकारका क्यान्सरहरूको विश्लेषण गरेको थियो ।
त्यस्तै ‘द ल्यान्सेट पब्लिक हेल्थ’ले १७ किसिमका क्यान्सरको दरबारेको प्रतिवेदनमा अमेरिकामा ‘जेन एक्स’देखि ‘मिलेनियल्स’ (सन् १९६५देखि १९९६ सम्म जन्मिएकाहरू) लगायत विभिन्न पुस्तामा स्थिररूपमा क्यान्सर वृद्धि भएको खुलासा गरेको छ ।
अमेरिकाको क्यान्सर सोसाइटी (एसीएस) को नयाँ प्रतिवेदनले सन् २०१२ र सन् २०२१ को बीचमा ५० वर्षभन्दा कम उमेरका श्वेत महिलाहरूमाझ स्तन क्यान्सरको दर १.४ प्रतिशतले वार्षिक रूपमा बढेको र ५० वर्षमाथिका महिलाहरूमा त्यही दर ०.७ प्रतिशत रहेको देखाएको छ ।
उक्त प्रतिवेदनका अनुसार नाकको पछाडि, पेट र ठूलो आन्द्रा तथा मलाशयको क्यान्सरको दर पनि युवाहरूमाझ वृद्धि भएको छ ।
सम्भावित कारणहरू
अनुसन्धानकर्ताहरू कारणहरू पत्ता लगाउन खोजिरहेका छन् । द ‘ल्यान्सेट’ले निरन्तरको वृद्धिले क्यान्सरबाट जोगिन गरिएको दशकौँको प्रगति उल्टिन सक्नेप्रति सचेत गराएको छ ।
‘बीएमजी अङ्कलजी’ र ‘ल्यान्सेट’का प्रतिवेदनहरूका अनुसार खानपिन पनि सम्भावित कारण हुन सक्ने शङ्का गरिएको छ । आफ्नो आहारमा रातो मासु र नुन धेरै तथा फलफूल र दूध कम हुँदा अनि रक्सी र चुरोटको प्रयोगले पनि त्यस्तो भएको हुन सक्ने शङ्का गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मोटोपनाका कारण र होर्मोन अनियमित हुनु पनि क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित रहेको छ ।
‘द ल्यान्सेट’ प्रतिवेदनले अमेरिकामा क्यान्सर भएका १७ युवा मध्ये १० जनामा मिर्गौला, ‘ओभरिअन’, कलेजो, अण्डासय र पित्तथैलीको क्यान्सरजस्ता क्यान्सरहरू मोटोपनासँग सम्बन्धित भएको उल्लेख गरेको छ । यद्यपि यी कारणहरूले सबै क्यान्सरका घटनाहरू व्याख्या गर्न सक्दैनन् ।
वैज्ञानिकहरू अन्य सम्भावित कारणहरूको खोजी गरिरहेका छन् । केहीले भने उपकरण वा सडक बत्तीहरूबाट आउने कृत्रिम प्रकाशमा निरन्तर रहँदा त्यसले शरीरको जैविक समयतालिकामा बाधा पुग्ने र त्यसले स्तन, कोलन र प्रोस्टेटको क्यान्सरको जोखिम बढाउने तर्क गरेका छन् ।
अन्य अध्ययनहरूले कामको समय खास गरी राती लामो समयसम्म प्रकाशमा बस्दा यसले मेलाटोनिनको मात्रा कम गर्ने र क्यान्सरको वृद्धिलाई बढावा दिने सुझाएका छन् ।
सन् २०२३ को जुन महिनामा शल्यचिकित्सक फ्र्याङ्क फ्रिजेलले न्यूजील्यान्डमा पेटमा हुने क्यान्सरमा माइक्रोप्लास्टिकको भूमिकाको अध्ययन गर्न आह्वान गरेका थिए । उनले माइक्रो प्लास्टिकले कोलनमा संरक्षित हुने म्युकसको तहलाई क्षति पु-याइदिने बताएका थिए ।
अन्य अनुसन्धानकर्ताहरूले इमल्सिफाइअर र रङ्गहरूको प्रयोग गरेर बनाइने अतिप्रशोधित खानेकुराहरूका कारण पेटमा सुजन हुने र त्यसले डीएनएमा क्षति पु-याउन सक्ने तर्क गरेका छन् ।
यो कारक तत्व स्तन ररक्त क्यान्सरमा समेत जोडिएको अमेरिकन असोसिएशन अफ क्यान्सर रिसर्चले जनाएको छ ।
एन्टिबायोटिकको प्रयोग सन् २००० यता विश्वव्यापीरूपमा अनुमानित ४५ प्रतिशतले वृद्धि भएको छ र यसले पनि पेटको माइक्रोबायोममा बाधा पु-याउने भएका कारण भर्खरका बालबालिकामा समेत क्यान्सर देखिएको हुन सक्ने केही अनुसन्धानकर्ताहरूले बताएका छन् ।
इटलीका वैज्ञानिकहरूको समूहले सन् २०१९ को प्रतिवेदनमा यो फोक्सोको क्यान्सर, लिम्फोमास, अग्न्याशयको क्यान्सर, रीनल सेल कार्सिनोमा र माइलोमासँग सम्बन्धित भएको उल्लेख गरेका थिए ।
नयाँ पुस्तामा उचाइ बढ्दै जाने कुराले पनि क्यान्सरको दरमा भूमिका खेलेको हुन सक्ने यूनिभर्सिटी अफ एडिन्बरा स्कटल्यान्डका कोलोप्रोक्टोलजीका प्राध्यापक माल्कम डन्लपले उल्लेख गरेका छन् । ‘बीएमजी अङ्कलजी’ प्रतिवेदनका उनी सहलेखक पनि हुन् ।
‘सामान्यतया विश्वभरि नै मानिसहरू अग्ला भइरहेका छन्, उचाइ र कोलन क्यान्सरजस्ता कैयौँ क्यान्सरहरूबीच पनि बलियो अन्तर्सम्बन्ध रहेको छ’ उनले भने।
विश्वका अग्रणी क्यान्सर जेनेटिक्स विज्ञ डाक्टर डन्लप क्यान्सरका प्रारम्भिक अवस्था कुनै एउटा नभई विभिन्न कारणहरूबाट हुने र त्यो कुन हो भनेर पहिचान गर्न कठिन रहेको बताउँछन् ।
उनले युवाहरूमा क्यान्सरको वृद्धि तुलनात्मक रूपमा बढी देखिएपनि उक्त समूहमा क्यान्सरको पूर्ण जोखिम कम हुने भएकाले परीक्षण गर्नु लागतका हिसाबले प्रभावकारी पनि नभएको बताए ।
अमेरिकाको न्याश्नल क्यान्सर इन्स्टिट्यूट (एनसीआई) का अनुसार ८० प्रतिशत क्यान्सरहरू ५५ वर्ष वा त्योभन्दा बढी उमेरका मानिसहरूमा पत्ता लागेको बताएका छन् ।
अभ्यासकर्ताहरूलाई आह्वान
यद्यपि यो अवस्थाले यूनियन अफ इन्टन्र्याश्नल क्यान्सर कन्ट्रोल (यूआइसीसी) जस्ता मुख्य सङ्गठनहरूलाई अभ्यासकर्ताहरूमाझ प्रारम्भिक अवस्थाको क्यान्सरको लक्षणका बारेमा सचेतना अभिवृद्धि गर्न हौसाएको छ ।
‘यदि कुनै ६० वर्षभन्दा बढीको मानिसमा दिसा हुन समस्या छ, थकान छ, पेट फुल्छ भने चिकित्सकहरूले यी लक्षणहरूलाई गम्भीर रूपमा लिएर परीक्षणका लागि सिफारिस गर्छन् । यद्यपि, ३० देखि ४० वर्ष पुगेका सक्रिय मानिसहरूमा यिनै लक्षणहरू छन् भने त्यसलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्न सक्छन्’ डाक्टर अलेक्सान्डरले भने । पछिल्लो अवस्थाले भने बाँच्ने सम्भावनालाई जोखिममा पार्न सक्ने उनी बताउँछन् ।
‘यो उमेर समूहका मानिसहरू जीवनको महत्त्वपूर्ण समयमा हुन्छन्, आफ्नो परिवार सुरु गरेका हुन्छन् र बाँच्नका लागि सबै गरिरहेका हुन्छन्। क्यान्सरको पहिचानले उनीहरू र परिवारलाई चकित पार्छ’ उनले भने ।
तर युवाअवस्थाका बिरामीहरूले समयमै पहिचान भए कठोर खालका उपचार विधि थेग्न सक्ने र सुधार हुने उनले बताए ।
डा. डन्लपले प्रारम्भिक क्यान्सरको दीर्घकालीन प्रभावहरूको बारेमा चासो व्यक्त गरेका छन् ।
‘यी क्यान्सरहरूबाट प्रभावित युवाहरूमा उमेर वृद्ध हुँदासम्म जोखिम रहिरहन्छ,’ उनले सचेत गराए ।
जीवन नै बदल्ने अनुभव
क्यान्सरको उपचार गरेकी लुइसा भन्छिन्—मैले सिकेको ठूलो पाठ भनेको रमाइला र कठिन दुवैखाले दिनहरूलाई अपनाउनु हो । जब नराम्रो भावना आउँथ्यो, मैले त्यसलाई पनि आउन दिएँ । जब म आफूलाई बलियो महसुस गर्थेँ, मैले ती क्षणहरू पनि खुसीले अपनाएँ । मलाई थाहा थियो दुवै खाले भावना पनि बितेर जाने छन् ।
अरूलाई उनी सल्लाह दिन्छिन्—एक पटकमा एक दिन हो भनेर सम्झिनुपर्छ । आफ्नो शरीरलाई नियाल्नुहोस् , कुनै दिन तपाईँले गर्न सक्ने भनेको शरीरलाई आराम दिनु हो र त्यसमा केही खराबी छैन । क्यान्सरलाई नराम्रो र छायाँको रूपमा लिइन्छ तर यसले तपाईँ को हो भनेर व्याख्या गर्दैन । कठोर समयमा पनि जीवन छ र यसको अर्थ छ ।
(विविसीबाट)