रास्वपाको विवादमा खेल्दै एमाले र माओवादी, प्रचण्डले रबि लामिछानेलाई बोक्दा ढकाललाई भने एमाले नेतृत्वको साथ

Jun 26, 2025 06:52 PM mero lagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैधानिक महामन्त्री को हो भन्ने बारेको विवाद सर्वाेच्च अदालतमा पुगेको छ । 

सर्वाेच्चले असार १७ गते छलफलको लागि दुवै पक्षलाई बोलाएको छ ।

संस्थापक महामन्त्री डा.मुकुल ढकाललाई रास्वपाले २०८१ भदौ ११ गते साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको घोषणा गरेको थियो । तर, ढकालले अवैधानिक तरिकाले आफूलाई निस्कासन गरिएको दावी गर्दै दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गर्दै उजुरी दिएका थिए ।

अदालतले कस्तो आदेश गर्ला कसैले भन्न सक्दैन । तर, रास्वपा भित्रको अहिलेको विवादको निहुँमा सो पार्टी भित्र खासगरि सत्तारुढ नेकपा एमाले र माओवादीले ‘खेल्न खोजेको’ स्पष्ट देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले रवि लामिछानेलाई ‘न्याय दिन पटक पटक प्रयास गर्दा पनि नसकेको’ दावी गर्दै आएका छन् । ‘अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ,’ असार १० गते सिंहदरबार परिवारमा पत्रकारहरुलाई प्रतिकृया दिंदै प्रचण्डले भनेका भनेका थिए ।

प्रचण्डसहितका माओवादी नेताहरुले लामिछानेप्रति सरकार र सरकारमा रहेका दलहरुले ज्यादती गरिरहेको र आफ्नो पार्टीले त्यसको विरोध गरेको दावी गर्दै आइरहेका छन् ।

सभापति लामिछानेको विरोध गर्दा पार्टीबाट निकालिएका डा.ढकाल प्रति भने एमाले नेताहरुले सहानुभूति देखाइरहेका छन् । त्यसै क्रममा बिहीबार साँझ एमाले पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले ढकालको पक्षमा सामाजिक संजालमा पोष्ट मात्रै गरेका छैनन्, उनीसँग छलफल नै गरेको स्पष्ट पारेका छन् ।

उनीप्रति साहानुभूति र रास्वपा नेतृत्वप्रति आक्रोस व्यक्त गर्दै थापाले लेखेका छन-मलाई केही दिन अघि डा.मुकुल ढकालले भेट्नुभयो र उहॅाका तर्क र तथ्य सुनें। गज्जब लाग्यो। उहॅाले खोजेको कानुनी उपचार जायज रहेको छ। सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरी रातारात महामन्त्री नियुक्त गरेर बाठो हुन खोजेको घण्टी समुहको निर्णयको कथित वैधानिकतामा घण्टी नै बजाइदिएको छ।

असार १७ गते हेरौंला !

थापाले संकेत गरेझैं ढकालले एमालेको साथ लिएर सक्रिय राजनीतिमा फर्किन खोजेको उनी निकटका व्यक्तिहरु बताउँछन् । त्यसक्रममा केही समय यता उनले कैयौं एमाले नेताहरुलाई भेटिसकेका छन् ।

उनीहरुकै सुझावअनुसार उनी महामन्त्रीको दावी गर्दै अदालत गएको बताउने रास्वपाका नेता कार्यकर्ताहरु पनि प्रशस्तै छन् । ‘अदालतले उहाँलाई महामन्त्री भएको प्रमाणित गर्छ वा गर्दैन ? बैधानिक महामन्त्री भएको प्रमाणित गरिदियो भने पनि उहाँले पार्टी भित्र काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, त्यो अलग कुरा हो । तर, उहाँले अब ८४ को आम चुनावलाई लक्षित गर्दै राजनीति गर्नेमा भने शंका छैन,’ ढकाल निकट रास्वपाका एक नेता भन्छन् ।

उनका अनुसार रास्वपाका देशभर रहेका नेता कार्यकर्ताहरुमध्ये आफ्नो पक्षमा कति जना छन् भन्ने तथ्याङक निकालेर व्यक्तिगत र सामुहिकरुपमा छलफल गरिरहेका छन् । ‘अब क्रमिक रुपमा एक पछि अर्काे गर्दै ती नेता कार्यकर्ताहरुले रास्वपाका कार्यकर्ताहरुले ढकालको पक्षमा आफूलाई उभ्याउँदै जान्छन् । त्यस्ता पदाधिकारीहरु केन्द्रमा थोरै भए पनि प्रदेश र जिल्ला तहमा भने निकै धेरै छन्’ उनको भनाई छ ।

ढकालका कारण रास्वपाका नेता कार्यकर्ताहरु कति विभाजित होलान् र त्यसको असर २०८४ को आम चुनावमा कति पर्ला ? त्यो अहिल्यै भन्न सकिदैन । तर, रास्वपा भित्रको विवादमा एमाले र माओवादीले राम्रै खेल्न खोजेको भने स्पष्ट छ ।




सुनको मूल्यमा भारि गिरावट

Jun 27, 2025 02:44 PM

असार १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेको हो ।