शव लिएर ऋण लिन बैंक पुगेकी महिला थिइन् एरिका डिसुजा नुनेस । ती महिलाले शव उनकाे काकाकाे रहेकाे बताएकी थिइन् । याे घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोको हो । यस घटनापछि प्रहरीले एरिकालाई पक्राउ पनि गरेकाे थियाे ।
![](https://images.merolagani.com/Uploads/Repository/638508633983299897.jpg)
भएकाे के थियाे ?
अप्रिल १६,मङ्गलबार एरिका ह्वीलचेयरमा एक वृद्ध व्यक्तिसँग बैंक पुगिन् । ती वृद्धको अवस्था राम्रो थिएन । उनको टाउको लगातार कुर्सीमा झुकेको देखिन्थ्याे। बारम्बार हातले टाउको सीधा गर्ने प्रयास गरिरहेकी ती महिला शवसँग कुरा गरिरहेकी थिइन् । यि सबै सीसीटीभी क्यामेरामा कैद भइरहेको थियो ।
त्यसपछि एरिकाले वृद्धको हातमा कलम राख्ने प्रयास गरिन् । उनले बारम्बार ती वृद्धलाई कागजमा हस्ताक्षर गर्न आग्रह गरिरहेकी थिइन् ।
सीसीटीभी क्यामेरामा रेकर्ड भएको उक्त भिडियोमा एरिका भनिरहेकी हुन्छिन्, 'काका, तपाईंले सुनिरहनु भएको छ? तपाईंले कागजमा हस्ताक्षर गर्न आवश्यक छ। नत्र हामीले ऋण पाउँदैनौं। मैले तपाईंको ठाउँमा हस्ताक्षर गर्न मिल्दैन।'
महिलाले थप भनिरहेकी थिइन्, 'काका! कृपया कागजमा हस्ताक्षर गर्नुस् न। अनि हामीले थप कष्ट भोग्नु पर्दैन। हामी यो अब सहनै सक्दैनौं।'
वृद्धको कुनै प्रतिक्रिया नआएपछि बैंकका अधिकारीलाई उनीमाथि शंका लाग्यो । उनले एरिकालाई काकालाई फिर्ता लैजान आग्रह गर्छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638508633654356636.png)
महिलाले बैंक कर्मचारीलाई भनिन्, "काका केही बाेल्नुहुन्न"
त्यसपछि एरिकाले कर्मचारीहरूलाई आफ्नो काका यसरी नै बसिरहने बताइन्। उनी केही नबाेल्ने पनि उनले दाबी गरिन् । एरिकाले फेरि ती बूढो मानिसलाई हेर्छिन् र भन्छिन्,'यदि तपाईँ निको हुनुहुन्न भने, तपाईँ अस्पताल जानुपर्छ।' महिलाको सबै प्रयासका बाबजुद पनि बैंक कर्मचारीको शंका हटेन । जसपश्चात कर्मचारीहरुले प्रहरीलाई खबर गरे ।
घटनाको अनुसन्धानपछि अप्रिल १७, बुधबार प्रहरीले वृद्धलाई मृत घोषणा गरी एरिकालाई पक्राउ गरेको थियो । त्यसपछि शवलाई शव गृहमा पठाइयाे । प्रहरी प्रमुख फाबियो लुइज-सुजाले ब्रिटिश पत्रिका द गार्डियनलाई बताए अनुसार फोरेन्सिक रिपोर्टका अनुसार वृद्धको मृत्यु केही घण्टा अघि नै भएको थियो। एरिकालाई पनि यसबारे पहिले नै थाहा थियो।
काकाको बैंकमै मृत्यु भएकाे महिलाको दावी
प्रहरीका अनुसार एरिका मृतकको शव लिएर बैंक पुगेकी थिइन् । बैंकका अधिकारीले वृद्धको कमजोर अवस्थालाई ध्यानमा राखेर छिटो ऋण स्वीकृत गरून् भन्ने उनकाे उद्देश्य थियाे । तर, एरिकाका वकिलले वृद्धको मृत्यु बैंकमै भएको दाबी गरेका छन् । एरिकालाई यसबारे कुनै जानकारी नभएकाे पनि उनले बताएका छन् ।
![](https://images.merolagani.com/Uploads/Repository/638508633852343863.jpg)
अनुसन्धानका क्रममा ती वृद्ध ६८ वर्षका ब्रागा रहेकाे खुल्याे । प्रहरीले एरिका साँच्चै ती वृद्धकी भतिजी हुन् कि होइनन् भनेर अनुसन्धान गरेकाे थियाे। यसबाहेक उनको परिवारका अन्य सदस्यलाई पनि सम्पर्क गर्ने प्रयास गरेकाे थियाे ।
तर ती महिला रिहा भइन्। अब तिनै महिलाले एक अन्तरवार्तामा यस विषयमा खुलेर कुराकानी गरेकी छिन् । एरिकाले रूँदै कुनै पनि गलत उद्देश्य रहेकाे अस्वीकार गरेकी छिन् । "मानिसहरूले मलाई जस्ताे साेचिरहेका छन्, म त्यस्ताे छैन । म कुनै राक्षस हैन," उनले खुलाइन् ।
मेट्राेकाे एक रिपाेर्टका अनुसार एरिकाले ब्राजिलकाे एक संचारमाध्यमलाई अन्तर्वाता दिँदै उनलाई काकाकाे मृत्युबारे अचानक रेस्पाेंडर्स बैंक पुगेपछि मात्र थाहा भएकाे दावी गरेकी थिइन् ।
उक्त रिपाेर्ट अनुसार ब्राजिलकाे टिभी कार्यक्रम फेन्टास्टिकाेमा एरिकाले भनिन्, परिवारदेखि टाढा रहेकी मेराे लागि त्याे दिन अत्यन्त भयानक थियाे । मलाई मेराे काकाकाे मृत्यु भइसकेकाे थाहा नै थिएन ।
एरिकाले आफ्नाे कमजाेर स्मरण शक्तिका लागि औषधिलाई दाेष दिँदै भनिन्, मेराे उपचार चलिरहेकाेले म जाेंलपिडेम नामक निद्राकाे औषधि लिइरहेकी थिएँ र आवश्यक्ता भन्दा धेरै नै सेवन गरेकी थिएँ । काकाले ऋण लिनका लागि सहयाेग गर्नका लागि स्वीकार गरिसकेकाे पनि एरिकाकाे दाबी रहेकाे छ ।
मानसिक स्वास्थ्यका नाममा अदालतले दियाे रिहाकाे आदेश
१६ दिन कैदमा बसेपछि एरिकालाई गत साता रिहा गरिएकाे थियाे । यद्धपी यस विषयमा अनुसन्धान भने जारी रहेकाे छ । यि महिलामाथि एक शवकाे अपमान गरेकाे र ठगी मार्फत ऋण लिन खाेजेकाे आराेप लागेकाे छ । यसबाहेक,प्रहरीले हत्याकाे अनुसन्धान पनि सुरू गरेकाे छ । अदालतले एरिकाकाे मानसिक अवस्था र उनकी अपांग छाेरीलाई यसकाे जिम्मेवार ठहराउँदै एरिकालाई रिहा गरेकाे हाे ।
एजेन्सीकाे सहयाेगमा ।