तर, आइतबारको करेक्सनपछि यस दिन पुनः नेप्सेले बढ्ने क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन ३१७ स्टकको ५८ हजार ४८३ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से सामान्य अंक बढेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य ९.७९ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्यक करिब साढे ८ प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.४१ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।