गत साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेको थियो। लामो समयदेखि सुस्त रहेको बजार, गत साता उच्च दरमा बढेपछि यस दिन लगानीकर्ताहरुले नाफा सुरक्षित गरेका हुन्। जसका कारण यस दिन बजारमा करेक्सन भएको हो।
आइतबार नेप्से परिसूचक २२.१४ अंक घटेर २१०९.३४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ७० हजार ५८६ पटकको कारोबारमा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन एक स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिटि होटलको शेयरमूल्य ८.२४ प्रतिशत बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ८.०९ प्रतिशत बढेको छ। कारोबारमा आएको इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण कारोबार बढेको हो। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।